• १९ असोज २०८१, शनिबार

चौध वर्षपछि बेलायतमा लेबर पार्टी सत्तामा फर्कियो

blog

लेबर पार्टीका नेता सर कियर स्टार्मर ।

करुण अर्याल

लण्डन, असार २२ गते । लेबर पार्टीका नेता सर कियर स्टार्मर संयुक्त अधिराज्य (बेलायत) को नयाँ प्रधानमन्त्रीमा नियुक्त हुनु भएको छ । बेलायतका राजा चाल्र्स तृतीयले उहाँलाई शुक्रवार प्रधानमन्त्रीमा नियुक्त गरेसँगै विपक्षी लेबर पार्टी १४ वर्षपछि सत्तामा फर्केको छ । 

त्यसअघि प्रधानमन्त्री ऋषि सुनकले शुक्रबार नै राजासमक्ष राजीनामा बुझाउनु भएको थियो । बेलायतमा बिहीबार सम्पन्न आम निर्वाचनमा विपक्षी लेबर पार्टीले ऐतिहासिक सफलता हात पार्दै ४१२ स्थानमा जिते पारेसँगै लेबरका लागि सत्ताको ढोका खुलेको हो । 

लेबरको जित अघिल्लो आम निर्वाचनको तुलनामा २११ सिट बढी हो । ६५० सदस्य रहेको बेलायती संसद् हाउस अफ कमन्समा बहुमतका लागि ३२६ सिट आवश्यक पर्छ । लेबरले सन् १९९७ मा टोनी ब्लेयरको नेतृत्वमा ४१९ सिट ल्याइपछिको यो दोस्रो ठुलो सफलता हो । 

प्रधानमन्त्रीमा नियुक्त भएसँगै टेन डाउनिग स्ट्रीटबाट राष्ट्रका नाममा सम्बोधन गर्दै स्टयामरले देशलाई एकताबद्ध गरी अघि बढ्ने बताउनुभयो । विगत १४ वर्ष दुई महिना सत्तामा रहेको कन्जरभेटिभ पार्टीको भने इतिहासमै लज्जाजनक हार भएको छ । 

सो पार्टीले १२१ सिट जित्दा २५० सिट गुमाएको छ । यसका प्रभावशाली मन्त्री तथा पार्टी नेताहरू पराजित भएका छन् । पूर्व रक्षामन्त्री ग्रान्ट स्याप्स, हाउस अफ कमन्सकी लिडर पेन्नी मोर्डन्ट, पूर्व प्रधानमन्त्री लिज ट्रसलगायतले पराजय व्यहोर्नुपरेको छ । 

कन्जभेटिभका १२ जना बहालवाला क्याबिनेट मन्त्री निर्वाचनमा पराजित भएका छन् । वेल्स राज्यमा कन्जरभेटिभ शून्यमा सीमित भएको छ । सन् २०२२ अक्टोबरदेखि प्रधानमन्त्री रहनु भएका सुनक भने रिचमन्ड र नर्थालर्टन सिटबाट विजयी हुनु भएको छ । 

उहाँले आफूले हारको जिम्मा लिँदै मतदाता र सहयोगीसमक्ष क्षमा माग्नु भएको छ । उहाँले स्टयामरलाई बधाई दिँदै नयाँ सरकार गठनका लागि शुभकामना दिनुभयो । निर्वाचनमा तेस्रो ठुलो दलको रूपमा उदाएको लिबरल डेमोक्याट्रिक पार्टीले सन् १९२३ पछि पहिलो पटक ऐतिहासिक सफलता हात पार्दै ७१ सिटमा विजयी भएको छ ।

दक्षिणपन्थी दल रिफर्म पार्टीले पनि संसदमा केही सिट जितेको छ । यसका नेता नाइजर फराज पहिलो पटक निर्वाचित हुनु भएको छ । स्कटल्याण्डको प्रभावशाली पार्टी स्कटिश नेसनलिष्ट पार्टीले अत्यधिक सिट गुमाएको छ ।

कन्जरभेटिभप्रति मतदाताको विश्वास घटेकाले लेबरले उल्लेखनीय जित पारेको बुझाइ विश्लेषकहरूको छ । बेलायतको लिड्स विश्वविद्यालयमा प्राध्यापनरत प्रा. सूर्यप्रसाद सुवेदीले कन्जरभेटिभको नेतृत्वप्रति जनताको अविश्वास नै अहिलेको परिणाम हो भन्नुभयो ।

निर्वाचनमा कन्जरभेटिभको परम्परागत मत लेबरलगायत अन्य दलतर्फ छरिएर बाँडिएको प्रस्ट देखिएको उहाँको भनाइ छ । उहाँले लेबरको आप्रवासी नीति अलि उदार रहेको बताउँदै बढी श्रमिकको पक्षमा उभिने भएकाले नेपाल लगायतबाट आउनेका लागि नकारात्मक असर नपर्ने प्रस्ट्याउनुभयो । उहाँले भूतपूर्व गोर्खाको विषयमा पनि लेबर सकारात्मक हुन सक्ने बताउनुभयो । 

सन २०१७ को आम निर्वाचनमा लेबर पार्टीका उम्मेदवार रहनु भएका डा. बच्चुकैलाश कैनी कन्जरभेटिभका प्रधानमन्त्री सुनकले अर्थतन्त्र र स्वास्थ्य सेवामा सुधार, आप्रवासी सङ्ख्यामा कटौती र खर्चिलो दैनिकी घटाउनेजस्ता नीति सार्वजनिक गरे पनि त्यो पूरा नभएकाले हार बेहोर्नु परेको बताउनुहुन्छ । 

यस बाहेक पाँच वर्षको दौरानमा कन्जरभेटिभबाट तीनजना प्रधानमन्त्री बन्नुले राजनीतिक अस्थिरता बोकेको पार्टीको रूपमा जनताले कन्जरभेटिभलाई लिनु पनि हारको कारण बनेको उहाँको बुझाइ छ । 

यसबाहेक बे्रजिक्ट, कोभिड र युक्रेन युद्धले पनि कन्जरभेटिभको प्रभावलाई घटायो । उहाँ भन्नुहुन्छ, “अर्कोतर्फ साढे चार वर्षदेखि लेबर पार्टीभित्र आन्तरिक सुधार गर्दै आफूलाई इमान्दार र सक्षम नेताको रूपमा स्टयामरले आफूलाई स्थापित गर्दा लेबरलाई फाइदा पुग्यो । स्टयामर मानवअधिकार विज्ञ पनि हुनुहुन्छ ।”

डा. कैनीले लेबरले अघि सारेका नेसनल हेल्थ सर्भिस (एनएचएस) मा बढ्दै गरेको बिरामीको चाप घटाउन पालो कुर्ने समय घटाउने, बोर्डर सुरक्षा कमान्ड बनाउने, विद्यालयमा शिक्षक थप्ने, आर्थिक स्थायित्व दिनेजस्ता नीतिलाई जनताले रुचाएको बताउनुभयो । 

उहाँले लेबर सत्तामा आएसँगै आर्थिक सहयोग र अन्तर्राष्ट्रिय नीतिमा पनि परिवर्तन आउने बताउँदै नेपाललगायत देशलाई यसबाट फाइदा पुग्न सक्ने बताउनुभयो । यस बाहेक दक्ष कामदार ल्याउने विषयमा पुनरावलोकन गर्ने लेबरको नीतिले पनि नेपालजस्ता देशलाई फाइदा पुग्ने उहाँको विश्वास छ । गोर्खा समस्या समाधानमा पनि लेबर सकारात्मक रहेको उहाँले बताउनुभयो ।