• १९ असोज २०८१, शनिबार

कालीगण्डकी र सेतीखोलामा जलसतह बढेपछि सेतीवेणी र शालिग्राम शिला डुबानमा

blog

तस्बिर : रासस

पर्वत, असार २२ गते । केही दिनदेखिको अविरल वर्षाका कारण विश्वको ठुलो शालिग्राम शिला र नजिकै रहेको सेतीवेणी बजार डुबानमा परेको छ । सेतीखोलामा आएको बाढीले सेतीवेणी बजारस्थित सिंहप्रसाद ह्याइजुको घर भत्किएको छ भने बजारमा बाढी पस्न थालेपछि जनजीवन प्रभावित भएको हो ।

पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने पर्वतको विहादी गाउँपालिका-६ सेतीवेणी र स्याङ्जाको गल्याङ नगरपालिका-५ मा रहेको विश्वको ठुलो शालिग्राम शिला पूर्णरुपमा डुबानमा परेको सेतीवेणी प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक सन्देश भण्डारीले जानकारी दिनुभयो । कालीगण्डकी र सेतीखोला दुवैको बहाव बढेपछि शिलामा जाने बाटो, नजिकै रहेको सत्तल र परिक्रमस्थल डुबिसकेका छन् भने बजार उच्च जोखिममा रहेको उहाँले बताउनुभयो ।

मुस्ताङ, म्याग्दी, पर्वतमा ठुलो वर्षा भएकाले कालीगण्डकीको सतह बढ्ने क्रम जारी रहेको प्रहरी सहायक निरीक्षक भण्डारीले बताउनुभयो । उहाँका अनुसार कालीगण्डकी ए जलविद्युत आयोजनाको बाँधका कारण बाढी आउँदा पर्वत, स्याङ्जा र गुल्मी जिल्ला  डुबानको जोखिममा परेका हुन् । वर्षा नरोकिए केही बेरमा बजारसम्म आइपुग्ने र पसलमा क्षति पुग्ने अवस्था देखिएको स्थानीय तिलक पराजुलीले बताउनुभयो । 

शिला डुबानमा परेसँगै उक्त क्षेत्रमा कार्यरत पुजारी तथा पण्डित विस्थापित बनेका छन् । सेतीवेणीमा मिसिने सेतीखोलाको बहाव अत्यधिक उर्लिएपछि पर्वत र स्याङ्जातर्फका बजार क्षेत्रमा कटानको जोखिम बढ्दै गएको परालुलीले बताउनुभयो । यसैबिच, कालीगण्डकीमा पानीको बहाव बढेपछि कालीगण्डकी जलविद्युत आयोजनाको बाँधका सबै ढोका खोलिएका छन् । दुवै खोलाको बहाव बढेसँगै बजार क्षेत्रका दुई सयबढी व्यापारी तथा सर्वसाधारण त्रसित बनेका छन् । 

विगत १५ वर्षअघि कालीगण्डकी र सेतीखोला उर्लेर आउँदा तीन दर्जन परिवार विस्थापित बनेका थिए । वि.सं.२०६६ असोज २१ मा बजार क्षेत्र डुबानमा परेको घटनाले वर्षाको समयमा त्रास रहने गरेको स्थानीय व्यवसायी विष्णु न्यौपानेले बताउनुभयो । स्थानीय प्रहरी चौकीका इन्चार्ज भण्डारीले अहिले वर्षा अत्यधिक भइरहेकाले पानीको बहाव अझै बढ्दो क्रममा रहेको भन्दै स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरिएको बताउनुभयो । रासस