• १९ असोज २०८१, शनिबार

ओखलढुङ्गामा ८९.६ मिलिमिटर वर्षा

blog

शेरबहादुर राई
ओखलढुङ्गा, असार २२ गते । 
ओखलढुङ्गामा पछिल्लो २४ घण्टामा ८९.६ मिलिमिटर वर्षा भएको छ । जल तथा मौसम विज्ञान फिल्ड कार्यालय ओखलढुङ्गाका अनुसार जिल्लामा सबैभन्दा धेरै मानेभन्ज्याङ गाउँपालिकामा वर्षा भएको हो ।

मानेभञ्ज्याङको वर्षा मापन केन्द्रमा रेकर्ड भएको विवरण अनुसार पछिल्लो २४ घण्टामा ८९.६ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान फिल्ड ओखलढुङ्गाका प्रमुख अनिल पराजुलीले जानकारी दिनुभयो ।

प्रमुख पराजुलीका अनुसार मानेभञ्ज्याङमा पछिल्लो एक घण्टामा २.६ मिलिमिटर वर्षा भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ओखलढुङ्गागा सदरमुकाम क्षेत्रमा ६७.२ मिलिमिटर वर्षा भएको केन्द्र प्रमुख पराजुलीले बताउनुभयो । पराजुलीका अनुसार एक देखि १० मिलिमिटरसम्मको वर्षालाई हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म को वर्षालाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मको वर्षालाई भारी वर्षा भन्ने गरिन्छ ।

जिल्लामा मापन भएको पछिल्लो २४ घण्टाको विवरण अनुसार भारी वर्षा भएको हो । लगातारको वर्षातले बाढीपहिरोको जोखिम हुनसक्ने भन्दै केन्द्रले जिल्लाका नागरिकमा सतर्क रहन समेत आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा बाढी पहिरोका कुनै घटना नभए पनि सतर्क रहन जिल्ला विपद् व्यवस्थापन समिति ओखलढुङ्गाले अनुरोध गरेको छ ।

हावाहुरीले मकै बालीमा क्षति

अविरल वर्षासँगै आएको हावाहुरीले मकै बालीमा क्षति पुर्‍याएको छ । जिल्लाको जिखिदेम्बा गाउँपालिका–२ रगनीमा वर्षासँगै आएको हावाहुरीले पसाउन लागेको मकै ढालेको छ । निरन्तरको वर्षा र वर्षासँगैको हुरीले किसानको खेतबारीमा लगाएको मकै बालीमा क्षति पुगेको खिजीदेम्बा गाउँपालिका –२ का वडा अध्यक्ष सुरेन्द्र घिमिरेले जानकारी दिनुभयो । पसाउन लागेको मकैमा क्षति पुगेको वडा अध्यक्ष घिमिरेले बताउनुभयो ।