• १० मंसिर २०८१, सोमबार

भावनाको नाता (कथा)

blog

‘कोठा पाइन्छ कि भनेर आमा ?’ एउटा हँसिलो अनुहार भएको युवकले सोध्यो । खगेश्वरीलाई किन हो किन त्यो ठिटोको आगमन, सोधाइ र मुस्कान चिरपरिचित युवकको जस्तो लाग्छ । उनले ‘कोठा छ’ भनेर सहजै जवाफ दिन्छिन् । सायद ग्रह मिल्यो भने सबै कुरा ट्याक्क मिल्छ भनेको यस्तै होला । नवयुवकले पनि खुसीभाव प्रकट गर्दै कोठा हेर्न खोज्छ । कोठा ठिक लागेपछि त्यही दिनदेखि बस्ने भाव प्रकट गर्छ । एउटा परियोजना लिएर नौलो ठाउँमा आएकाले उसलाई पनि सबै कुरा जुटाउनु थियो । आवश्यक सरसामान किनेर ल्याउने जानकारी गरायो । तब आमाले भनिन्, “बाबु,  यसलाई आफ्नै घर सम्झेर बस्नु पर्छ है । सबै कुरा नजुट्दासम्म हामी सँगै खाना खाऊँला नि के भयो र !” 

घरमा को को हुनुहुन्छ ? भनी प्रश्न गर्दा पनि आमाको मुहारमा एउटा आत्मीय भाव स्पष्ट देखिन्थ्यो । “तिमी हामी एउटै परिवार बनेर बस्नु पर्छ बाबु !” काठमाडौँमा धेरै घरभेटीको व्यवहारबाट परिचित वसन्तलाई अचम्म लाग्छ । “हैन आमा म बाहिरतिर खान्छु नि । किन दुःख हजुरलाई ?” आमाको जिद्दीले उसले माथि सँगै खाना खान थाल्यो । घरको माहोल देखेर वसन्त छक्क पर्छ । सजिसजाउ बैठक । आधुनिक ठाँटबाँट, घरायसी काममा श्रम विभाजन, परिवारका सदस्यहरूबिचको अनुशासन, व्यवहार र मायाममता देख्दा ऊ परिवारका सबै सदस्यसँग नतमस्तक हुन्छ ।

साँझ सबै जम्मा भए । आमाले परिचय गराइन्, “जेठी छोरी निरु कलेज पढ्छे । माहिली सिलुले भने एसएलसी मात्र गरेर बिहे गरिदियौँ । साहिँली छोरी नितु र कान्छी ऋतु क्रमशः ८ र ७ कक्षामा पढ्छन् ।” आमाले परिचय गराउनासाथ कान्छी छोरी ऋतुले वसन्तको हात समाउँदै भनी, “यस पटक तपाईंलाई तिहारमा टीका लगाउनु पर्छ । हाम्रो दादा हो तपाईं त ।” वसन्तले थोरै लज्जामिश्रित हाँसो हाँस्दै टाउको हल्लाउँछ । अरू तीन दिदीबहिनीले सहमतिसूचक टाउको मात्र हल्लाउँछन् । दादा नै भनेपछि त वसन्तलाई पनि धेरै सहज महसुस भयो । आमालाई पनि ढुक्क भयो । संयोग पनि कस्तो, वसन्तकी आमाले ऊ सानै छँदा यो संसार छोडेकी थिइन् । तब उसलाई आफ्नै आमा अगाडि उभिए जस्तो भान हुन्छ । जेठी छोरी निरु बिहान कलेज जान्थिन् भने दिउँसो स्कुल पढाउने गर्थिन् ।

खोइ किन हो, सबै दिदीबहिनीलाई धेरै वर्ष बिदेसिएका दाजु घरमा आएको जस्तो अनुभव हुन थाल्यो । यस्तैमा दिनहरू बित्दै गए । वसन्तले मोटरसाइकलमा आमाको निर्देशन अनुसार विभिन्न घरायसी सामान ल्याउँथे । घरका छोरीहरूलाई कतै जाने काम परे पनि लिएर जान्थे । घरमा एक पुरुषको उपस्थितिले धेरै व्यावहारिक कार्यमा सहज हुन थाल्यो । 

      घुम्दै फिर्दै दसैँ आयो । वसन्त सबैसँग बिदा मागेर घर गए । सबै दिदीबहिनीले दाजुको अभाव महसुस गरे भने खगेश्वरीले पनि घरमा शून्यताको आभास महसुस नगर्ने कुरै भएन । वसन्त घरबाट आउँदा विभिन्न तरकारी, कुरौनी जस्ता कोसेली लिएर फर्किए । त्यसपछि झनै सम्बन्ध प्रगाढ हुन थाल्यो । आआफ्ना चलन, भाषा, खानपान जस्ता कुराको आदानप्रदान हुन थाले । पश्चिम तराई र पूर्वी तराईका मानिसबिचको यो सम्बन्ध न रगतको थियो न त मितेरी नाता नै । एकअर्काप्रति अपार आदरभावसहितको व्यवहारले दुवै पक्ष खुसी थिए ।

तिहारमा विशेष उमङ्गका साथ चार दिदीबहिनीले वसन्तलाई टीका लगाइदिए । आमाको मन पनि ढुक्क भयो ।  सानिमाका छोरा विवेकलाई टीका लगाउँदै आएका उनीहरू पाँच वर्षदेखि निराश थिए । विवेक अमेरिका गएपछि उनीहरूको तिहार नै खल्लो हुन्थ्यो । वसन्तलाई दाजुका रूपमा भेट्टाउँदा तिहारको दिन उनीहरूको मुहारमा खुसी फर्किएको छ । टीका लगाएको फोटो मुहार पुस्तिकामा राखेपछि कुरा काट्नेहरूको मुखमा पनि राम्रैसँग बुझो लाग्यो ।

      वसन्त हिउँदको समयमा आफ्नो परिवार पनि लिएर आए । वसन्तकी श्रीमतीलाई भाउजूका रूपमा सम्मान र माया दर्साए भने चारबर्से छोरासँग धेरै रमाए उनीहरू । केही समयपछि वसन्तका भाइ हेमन्त पनि हेटौँडा आए । उनी हरेक काममा वसन्तभन्दा पनि सिपालु थिए । खगेश्वरीका छोरीहरूले अर्का दाजु भेट्टाए । हेमन्त फर्कंदा निरु र नितु पनि सँगै बुटवल आए । 

भैरहवा, लुम्बिनी, तानसेन जस्ता रमाइला ठाउँ घुम्न पाउँदा अत्यन्त हर्षित देखिन्थे दुई दिदीबहिनी । वसन्तसितको नाताले अब बिस्तारै आफन्तसँग पनि चिनापर्ची बढायो । बिहेबारी, चाडबाड जस्ता समयमा भेटघाटको क्रमले तीव्रता पाउन थाल्यो । सुन्ने र देख्नेका लागि उदाहरणीय परिवार हुन पुग्यो । छिमेकीहरूले जेसुकै भनून्, उनीहरूलाई पर्र्बाह थिएन । 

    केही समयपछि निरुको बिहे भयो । वसन्तको परिपक्व कामले सबैको मन जित्यो । दुई वर्ष यस्तैमा बित्यो । वसन्तको परियोजनाको समय सिद्धियो । हेटौँडाबाट बिदा हुने समयमा आमा र बहिनीहरूलाई कति गाह्रो भएको थियो । सम्झाइबुझाइ गरेर उनी  काठमाडौँतिर लागे ।  एक वर्षपछि हेमन्तको बिहेमा हेटौँडाबाट आमा र चार दिदीबहिनी नै बुटवलमा आए । सबै मिलेर विवाहोत्सव सम्पन्न भयो । दुलाहालाई शृङ्गारपटार गर्नेदेखि कोठा सजाउने जस्ता काममा निरु, सिलु खटिएका थिए । नचिनेका हुनाले कतिपय आफन्त मुखामुख गरेर प्रतिक्रिया व्यक्त गर्दै थिए ।   

    भोलिपल्ट भोजको दिन पनि चारै जना दिदीबहिनी अबेरसम्म नाचे । खगेश्वरी आमा पनि निकै खुसी थिइन् । बिस्तारै समयको गति चलिरहेको थियो । अहिले वसन्तको परिवार काठमाडौँ बस्छ । हेटौँडाबाट बहिनीहरू आउँदा त्यहीँ बस्छन् । केही विशेष काम पर्दा वसन्तले सहयोग गर्छन् । वसन्तका भाइ हेमन्त अस्ट्रेलिया पढ्न गए । बिस्तारै त्यहाँ स्थायी रूपमा बस्न पाउने इजाजतपत्र पाउँछन् । हेमन्त नेपाल आउँदा हेटौँडा जान्छन् । त्यहाँ माहिली बहिनी सिलुको श्रीमान्सँग सम्बन्धविच्छेदको कुरा चलिरहेको रहेछ । हेमन्तले सिलुको श्रीमान्लाई घरमै बोलाएर विभिन्न तरिकाले सम्झाइबुझाइ गरी मेलमिलाप गराउँछ । अल्लारे समयमा प्रेममा परेर भागी बिहे गरेका उनीहरूले पछि आआफ्ना कमजोरी स्वीकार गरी सँगै जीवन बिताउन राजी भए । हेमन्तको कला देखेर अमलेखगन्जका सिलुका सासूससुरा पनि चकित परे । उनीहरू पनि छोराबुहारीको सम्बन्ध नटुटोस् भन्ने चाहन्थे । उनीहरूको पुकार सार्थक भयो । यता सिलुकी आमा झनै हर्षित थिइन् । आफन्तका अनेक प्रश्नले आजित भएकी उनी हेमन्तको मुक्तकण्ठले प्रशंसा गर्दै खुसीको आँसुसहित आफ्नो कथा सुनाउँछिन् ।

      “हामी पनि गाउँका सामान्य मानिस बाबु ।  माथि गाउँमा घर थियो । टारीको खेतमा १०/१२ मुरी मात्र धान फल्थ्यो । ठुलो परिवारलाई बिरामी हुँदा जाउलो खान पनि पुग्दैनथ्यो । निरुका बुवाले आफ्ना सबै भाइलाई पढाउनुभयो । केही पैसा भएपछि यता बसाइँ सरियो र मात्र मिठो खाने र राम्रो लगाउने रहरहरू अङ्कुराउन थाले । आज आफ्नो निर्बाह हुने सम्पत्ति छ तर उहाँ हुनुहुन्न । यी छोरीहरू हाँस्दा र रुँदा उहाँकै सम्झनाले अझ बढी सताउँछ बाबु । जागिरमुक्त भएर आनन्दसाथ यतै बस्ने उहाँको रहर पूरा हुन पाएन । चार वर्ष मात्र थियो, जागिरबाट निवृत्त हुन । दैवलाई सह्य भएन चाँडै नै चुँडेर लग्यो ।

यी छोरीहरूसित यो घरमा १५ दिनभन्दा बढी बस्न पाउनुभएको थिएन । एक महिनाको छुट्टी लिएर कहिलेकाहीँ आउँदा पनि पहाडको घरमा बुवाआमालाई भेट्न जानै प¥यो । ससुराली, मावली यताउता गर्दा फर्कने दिन आइहाल्यो । अर्काको नुन खाएपछि कर्तव्य पालन गर्नै प¥यो ।

सानी छोरी दुई वर्षकी हुँदा श्रीमान् बिरामी भएको समाचार आयो । देवरलाई पठाएँ । चिन्ताको पहाडले थिचिरह्यो । भारत पाकिस्तानको लडाइँका निमित्त खटिएका खसमको मृत शरीर मात्र देख्न पाएँ । जङ्गलको बसाइ र मौसमको गडबडीले गर्दा निमोनियाले ग्रस्त भएपछि साथीहरूले जेनतेन अस्पताल पु¥याएछन् । अस्पताल पु¥याउन  ढिलो भएकाले उपचार हुन सकेन । त्यस्तो गाह्रो हुँदा आफू साथमा हुन नपाएकाले चिन्ताले चिथोरिरहन्छ । १० औँ वर्षसम्म त बाबु मैले घाम लागेको छ कि बादल लागेको छ भन्ने कुरासमेत चाल पाइनँ । के गर्ने दैवको लीला सहनुको विकल्प थिएन । यिनै छोरीहरूको मुख हेरेर बाँचिरहेकी छु । १३ वर्षदेखि बाबुविहीन भएका छोरीहरूले वसन्त र तिमी जस्ता दाजुहरू पाएका छौ । त्यसैमा म खुसी छु भन्दै सारीको फेरले आँसु पुछिन् । हेमन्त पनि भावुक भए । 

हेमन्तले आफ्नो साथीसँग नितुको बिहे गर्ने प्रस्ताव गरे । बिहे पनि भयो । दुवै परिवारको  पुनः जमघट भयो । त्यसपछि आमाको तीन वटी छोरीप्रतिको कर्तव्य पनि सकियो । यसले गर्दा उनको बेचैनी केही कम भयो । हेटौँडाबाट बुटवल पुगी अर्को  हप्ता अस्ट्रेलिया फर्केका हेमन्तले ऋतुलाई पनि अस्ट्रेलिया पढ्न जान उत्साहित गरे । उनको सल्लाह अनुसार अर्को वर्ष ऋतु अस्ट्रेलिया पुगिन् । हेमन्तले दुई वटा टिकट पठाएकाले खगेश्वरी आमा पनि घुम्नका लागि छोरीसँगै अस्ट्रेलिया उडिन् ।

Author

कमला पन्थी अधिकारी