• १९ असोज २०८१, शनिबार

कांग्रेस–एमाले गठबन्धन : सात दलको समर्थन तीन दल विपक्षमा

blog

काठमाडौँ, असार २२ गते । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा. चन्द्रकान्त (सिके) राउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ । 

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने वचन दिनुभएको छ तर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ गठबन्धनका सन्दर्भमा परिस्थिति हेरेर निर्णयमा पुग्ने बताउनुभयो । 

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी उहाँकै दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिपक्षमा बस्ने तयारी गरेका छन् । संसद्मा नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७९, जनता समाजवादी पार्टी नेपालको पाँच, जनता समाजवादी पार्टीको सात, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सिट छ । 

वर्तमान सत्ता गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) १० सिट रहेका छन् । अहिलेसम्म अनिर्णीत रहेका राष्ट्रिय जनमोर्चाको एक, आम जनता पार्टीको एक सिट र सदावहार प्रतिपक्ष नेपाल मजदुर किसान पार्टीको एक सिट रहेको छ । साथै स्वतन्त्र दुई सांसदले पनि निर्णय गरिसकेका छैनन् । 

पाँच दलसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेतासँग छलफल गर्नुभएको छ । 

पूर्वप्रधानमन्त्रीद्वय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग उहाँले बदलिँदो परिस्थितिका सन्दर्भमा छलफल गर्नुभएको हो । 

बैठकपछि अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग पछिल्लो राजनीतिक परिवेश र असार २८ गते विश्वासको मत लिने सन्दर्भमा छलफल भएको बताउनुभयो । उहाँले विश्वासको मत दिने पक्षमा आफू रहेको बताउनुभयो । अन्य दलले पार्टीमा छलफल गर्ने बताएका छन् । 

जसपाका मन्त्रीको राजीनामा

जसपा अध्यक्ष राईले शुक्रबारै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिनुभएको छ । जनता समाजवादी पार्टीबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिनुभएको छ ।