• २२ असार २०८१, शनिबार

प्रकोपसम्बन्धी सचेतना जगाउँदै सशस्त्र प्रहरी

blog

जोखिम व्यवस्थापन र न्यूनीकरणसम्बन्धी अनुशिक्षण गरिँदै । तस्बिर : राजु लामिछाने

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, असार २० गते । बर्खा मौसम सुरु भएसँगै प्रकोपका घटना बढ्न सक्ने भएकाले क्षति न्यूनीकरण तथा नियन्त्रणका लागि सशस्त्र प्रहरी बलले समुदाय र विद्यालयस्तरमा सचेतनाका कार्यक्रम सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल ४७ नं. गुल्म रुकुमपश्चिमले आठबिसकोट नगरपालिकामा र चौरजहारीस्थित एक विद्यालयमा जल उत्पन्न प्रकोपसम्बन्धी सचेतना तथा अनुशिक्षण कार्यक्रम सञ्चालन गरेको हो ।  

आठबिसकोट नगरपालिकाको सहयोगमा तीन दिने अनुशिक्षण सञ्चालन भएको छभने चौरजहारी नगरपालिका–५ स्थित माध्यमिक विद्यालय खहरेमा एकदिने कार्यक्रम गरिएको छ । जल उत्पन्न प्रकोप न्यूनीकरण तथा नियन्त्रणका लागि विद्यालय र समुदायस्तरमा सचेतनाका कार्यक्रमहरू सुरु गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार स्थानीय सरकार र विद्यालयको सहकार्यमा यो कार्यक्रम निरन्तर अगाडि बढाइने छ । 

विद्यालयका शिक्षक र विद्यार्थी तथा नगरपालिकामा कार्यपालिकाका सदस्यहरू, नगरप्रहरी, स्थानीय विपत् व्यवस्थापन समितिका पदाधिकारी, राजनीतिक दलका प्रतिनिधिलगायतलाई अनुशिक्षण गरिएको हो ।  कार्यक्रममा आठबिसकोट नगरपालिका प्रमुख रवि केसीले भूकम्पले धर्ती थिलोथिलो पारेको अवस्थामा यो बर्खाको मौसममा हुन सक्ने जोखिपूर्ण र जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र सचेतना आवश्यक रहेको बताउनुभयो । उहाँले विपत्को जुनसुकै बेला विपत् आउन सक्ने भएकाले सचेतनाका कार्यक्रम समुदायस्तरमा समेत आवश्यक रहेको औँल्याउनुभयो । नगरपालिकामा आपत्कालीन सञ्चार केन्द्र निर्माण गरिएको जानकारी दिनुहुँदै नगरप्रमुख केसीले विगतका घटनाका कारण विपत्को सामना गर्न नगरपालिका तयारीमा रहेको बताउनुभयो । उहाँले सबै मिलेर विपत्को सामना गर्न एकजुट हुनुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रमको सहजीकरण सशस्त्र प्रहरी बल ४७ नं. गुल्म रुकुमपश्चिमका सशस्त्र प्रहरी निरीक्षक झक्कुप्रसाद शर्मा र सशस्त्र प्रहरी नायब निरीक्षक मधु गौतमले गर्नुभएको हो । उहाँहरूले सैद्धान्तिक तथा प्रयोगात्मक अभ्यासमार्फत जल उत्पन्न प्रकोप व्यवस्थापन र नियन्त्रणका उपाय सिकाइएको बताउनुभयो । 

कार्यक्रममा विपत्को पूर्वतयारी, खोज तथा उद्धार, पुनस्र्थापना, पुनर्निर्माण, मनोवैज्ञानिक परामर्श, पृष्ठपोषणलगायतको विषयमा सहजीकरण गरिएको छ । यसका साथै जोखिमपूर्ण इलाकाको पहिचान, सञ्चार, पानी र पिउने पानी र खाद्यान्न व्यवस्थापन, जोखिमपूर्ण बस्तीलाई स्थानान्तरण गर्ने, अत्यावश्यक औषधी र प्राथमिक उपचारसम्बन्धीबारेमा समेत जानकारी गराइएको छ ।