• १० साउन २०८२, शनिबार

भिजिट भिसामा कुवेत जान लागेका ४७ महिला भारतबाट फर्काइए

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन ९ गते । भारतको राजधानी नयाँदिल्ली स्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ । दिल्ली विमानस्थलबाट एनओसीबिना कुवेत जान लागेका महिलालाई दिल्लीस्थित नेपाली दूतावाससितको समन्वयमा नियन्त्रणमा लिई स्थलमार्ग हुँदै बिहीबार राति रुपन्देही पुर्‍याइएको छ ।

दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक प्रकाश मल्लसहित दूतावासका कर्मचारीको टिमले महिलालाई सुनौली नाका हुँदै रुपन्देही पुर्‍याएर प्रशासनको जिम्मा लगाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो । प्रजिअ घिमिरेका अनुसार महिलालाई प्रहरीले काठमाडौँ ल्याउँदै छ ।

यसैबिच गृहमन्त्री रमेश लेखकले पक्राउ परेका महिलाको विषयमा कडा अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिनुभएको छ । उक्त विषयमा गृहमन्त्री लेखकले मानव बेचबिखन ब्युरोलाई आवश्यक छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिनुभएको गृह मन्त्रालयले जनाएको छ । मन्त्री लेखकले वैदेशिक रोजगारीमा अवैध रूपमा जाने विषयको गहन अनुसन्धान गर्न निर्देशन दिनुभएको हो ।