• २१ असार २०८१, शुक्रबार

खुर्काेट–मन्थली–मिल्ती सडकको कालोपत्रे भत्कियो

blog

नवराज श्रेष्ठ
रामेछाप, असार १९ गते ।
मन्थली बजारस्थित देवकोटा चोकमा कालोपत्रे गरेको १५ दिन नबित्दै सडकको कालोपत्रे भत्किएको छ । देवकोटा चोक रामेछाप सदरमुकाम मन्थलीको सानो तर अति व्यस्त बजार क्षेत्र हो । सधैँ भिडभाड हुने देवकोटा चोक विद्यालय र कार्यालय समयमा अत्यधिक मात्रामा भिडभाड हुन्छ । विद्यार्थीलगायत पैदल यात्री र सवारी साधनलाई पनि सहज आवागमनका लागि केही समय अगाडि देवकोटा चोकको भित्ता कटिङ गरेर सडक बढाइएको थियो ।

सडक बढाइएपछि गरिएको कालोपत्रे १५ दिन पूरा नहुँदै भत्किन थालेको हो । गोलन्जोर कन्ट्रक्सनले १५ दिन अगाडि मात्रै  सडक कालोपत्रे गरेको थियो । गुणस्तरलाई खासै वास्ता नगरी हतारहतारमा सडक कालोपत्रे गर्दा १५ दिन पूरा नहुँदै कालोपत्रे भत्किन थालेको स्थानीयको भनाइ छ ।

जिल्लाकै मुटु मन्थली देवकोटा चोककै काम यति धेरै कमसल भएपछि अन्य ठाउँको अवस्था के होला भन्ने स्थानीयको आशङ्का छ ।

गोलन्जोर कन्ट्रक्शनले गरेको काममा मन्थलीमा मात्रै होइन अन्य धेरै ठाउँमा पनि समस्या देखिएको छ । यो निर्माण कम्पनीले खुुर्काेट–मन्थली–मिल्ती सडकको मर्मतको काम गरिरहेको छ । तर निर्माण कम्पनीको लापरबाहीका कारण यो सडक खण्डको विभिन्न स्थानमा कालोपत्रे गरिएको केही दिनमै कालोपत्रे भत्किएको छ ।  यो सडकअन्तर्गतकै लिखुतामाकोशी गाउँपालिका–६ तल्लो खिम्ती बजारमा गरिएको कालोपत्रेमा पनि समस्या देखिएको छ । खिम्ती तल्लो बजार प्रहरी बिट नजिकै १० मिटरभन्दा बढी सडकको कालोपत्रे भत्किएको छ । बेस राखेर पेल्नुपर्नेमा त्यसो नगरी हिलो माटोमाथि कालोपत्रे गरिएकाले कालोपत्रे गरेको केही दिनमै भत्किएको स्थानीयहरूले बताएका छन् । सडकको कालोपत्रे भत्किन थालेपछि धेरै पटकको ताकेतापछि निर्माण कम्पनीले बुधबारबाट कालोपत्रे भत्किएको ठाउँमा फेरि कालोपत्रे हाल्ने काम गरिरहेको लिखुतामकोशी गाउँपालिका–६ खिम्तीका वडा अध्यक्ष शिवप्रसाद न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘सडक मर्मतमा गुणस्तरीय काम गर्न निर्माण व्यवसायीको जिम्मेवारी देखिन । देखादेख हिलो माटोमाथि कालोपत्रे गरिएको छ । यो भएनभन्दा पनि कानमा तेल हालेर बसे । कालोपत्रे सकिएको भोलिपल्ट बाटै कालोपत्रे भत्किन थाल्यो । धेरै ताकेतापछि आजबाट भत्किएको ठाउँमा फेरि कालोपत्रे गर्न थालेका छन् ।’’

सडक कालोपत्रेमा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेको सडक डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । सडकमा गुणस्तरहीन काम भएकाले आवश्यक परीक्षण गरी चाडैँ मर्मतको काम गर्न लगाउने सडक डिभिजन कार्यालय सिन्धुलीका इन्जिनियर सन्देशराज ढुङ्गेलले बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सडकमा क्वालिटीको काम भएको छैन । अब चाडैँ मर्मत हुन्छ । सडक कालोपत्रेको काम स्वीकारयोग्य देखिएन । समस्या आएका ठाउँहरूमा भत्काएर पुनः काम गर्न लगाउँछौँ ।’’