• ४ वैशाख २०८१, मङ्गलबार

वसन्त काव्य उत्सवका चार दिन

blog

जय भट्टराई 

मध्याह्नको समयमा पनि विराटनगर विमानस्थल टेक्दा पटक्कै गर्मीको अनुभव भएन । चार घण्टासम्म विमान उड्ने आशमा बसेका हामीहरू काठमाडौँको टर्मिनल कक्षमा गुम्सेर बस्दाको न्यानोपनमै गर्मी बिर्साउने हविगतमा पुगिसकेका थियौँ । त्यसमा पनि साहित्यकार गोकुल अधिकारीको हात हल्लाई र विवश पोखरलेको मुस्कानसहितको स्वागतले हामीले विराटनगरको गर्मी बिर्सिसकेका थियौँ ।  

गुराँसको राजधानी तेह्रथुम र औद्योगिक नगरी विराटनगरमा कविता सुन्ने र सुनाउने कार्यक्रममा जाने उत्साहले जम्मा भएका थियौँ सबेरै त्रिभुवन विमानस्थलमा वैशाख ८ गते । एपेक नेपालको सक्रियतामा साहित्यकार विश्वविमोहन श्रेष्ठको सक्रियता र साहित्यकार राजेन्द्र शलभको सन्देश पछ्याएर । विराटनगर, धरान, वसन्तपुर, धनकुटामा साहित्यिक भेटघाट र सिर्जना सुन्ने योजना कता हो कता, मन जति वेगले दौडिए पनि हामीलाई लिएर जाने जहाजले मनलाई भन्दा धनलाई महìव दिएपछि समयसँग सम्झौता गर्न बाध्य भयौँ । ३५ मिनेटको यात्रामा बल्लबल्ल एक गिलास पानी दिएर यात्रुको सेवामा तत्पर एयरको सेवा र समय हावा गफजस्तै लाग्यो । व्यापारको नाममा आफ्नै यात्रुलाई सास्ती दिने अपार व्यापार । बाटोमा पर्ने कतिपय ठाउँमा तय भएका कार्यक्रम, कायक्रममै सीमित भए, पकाएर राखेका खानासम्म खाने अवसर जुरेन । 

‘घाम छँदै आउन पाएको भए देखिन पाइने थियो तेह्रथुमको सौन्दर्य, रात परेपछि आइयो अब भोलि मात्र हेरुँला’, आफ्नै जन्मथलोमा टेक्दाको खुसीसाथ कार्यक्रम संयोजक विश्वविमोहन श्रेष्ठको बोलीले बाटोको थकाइ, विमानस्थलको पर्खाइ सबै बिर्सन्छौँ । ब्लु हेवेन होटलको आँगनमै पाएको स्वागत सत्कारसँगै २०७९ सालको वैशाख ८ गते यात्राको पहिलो रातले विश्राम लिन्छ । अन्धकारमा सौन्दर्य नियाल्ने यत्न गर्नुभन्दा उज्यालोको पखाई नै उचित ठानेर एउटै थलोमा बसेर काव्य उत्सवको खाका बुन्न थाल्यौँ । ‘अब हाम्रो कार्यक्रम हामीले सोचेजस्तै हुन्छ, अब डिलेको नाममा कुनै विमान पर्खनु पनि छैन’, आयोजकमध्येबाट कसैले भनेपछि निश्चिन्त बनेर वसन्त काव्य उत्सवको दोस्रो दिनको तयारीमा जुट्न पुगे आयोजकहरू । 

दोस्रो दिन, वैशाख ९ गते, म्याङलुङ नगरपालिका आयोजक, एपेक नेपाल संयोजक, गुराँस साहित्य प्रतिष्ठान सहआयोजक भएको वसन्त काव्य उत्सवमा अतिथिहरू भेला भइसकेका थिए उद्योग वाणिज्य सङ्घको हलमा । म्याङलुङको रमणीय चिसो चिसो मौसममा दिउँसोको दुई नबज्दै सभाकक्षमा कविता सुन्न र सुनाउन जम्मा भइसकेका मध्ये धेरै अनुहार युवापुस्ताको देखिन्छ, महिला र केटाकेटीमा पनि त्यत्तिकै उत्साह छ । वरिष्ठ कवि एवं एपेक नेपालका अध्यक्ष विश्वविमोहन श्रेष्ठको प्रमुख आतिथ्य, गुराँस साहित्य प्रतिष्ठानका अध्यक्ष हेमराज अधिकारीको सभापतित्वमा सचिव पुष्प गुरागार्इंले स्वागत गर्नुभएपछि वसन्त काव्य उत्सवको थालनी हुन्छ सुमनलक्ष्मी खनालको कविताबाट । लक्ष्मी कार्की, मित्र परियार, भक्तराज मोक्तान, सुष्मा दाहाल, जानुका अधिकारी, बुद्धिमान तामाङ, नवीन बस्नेत, सरु श्रेष्ठ, चेतनाथ भट्टराईलगायत कवि–कवयित्री थपिँदै गए पनि उत्साह सेलाएको छैन, धैर्य त्यत्तिकै । कविता पढ्दै सभाकक्ष छोड्दै हिँड्नेहरू देखिएनन्, एकपछि अर्को कविता सुन्दै जाँदा पनि उत्साहपूर्वक कवितामै ध्यानमग्न देखिन्थे युवा अनुहार । तेह्रथुमकै कवि एवं राजनीतिज्ञ विजय सुब्बा, विश्वविमोहन श्रेष्ठसँगै अतिथि कविको रूपमा राजेन्द्र शलभ, किशोर पहाडी, विमल वैद्य, विवश पोखरेल, मणि लोहनी, श्रीओम श्रेष्ठ, गोकुल अधिकारी, रमेशचन्द्र अधिकारी कवितामा जम्न पुगे । कविहरूका कविता सुनेर मन्त्रमुग्ध हुनुभएका नगरप्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले मान्छेका मन र राजनीतिलाई परिवर्तन गर्नसक्ने सामथ्र्य भएको साहित्यमा गतिविधि बढ्दै गएकोमा खुसी व्यक्त गर्नुभयो । जिल्ला समन्वय प्रमुख शिव ढुङ्गानापछि बोल्दै साहित्यकार विजय सुब्बाले अघिल्लो पुस्ताका लीलबहादुर क्षेत्री, अभि सुवेदी, गङ्गाप्रसाद उप्रेती, काजीमान कन्दङ्वा, मोहन सिटौला, चूडामणि गौतम आदिजस्ता साहित्यकारको जन्मथलो तेह्रथुममा यति भव्य कार्यक्रम पहिलो पटक आयोजना भएकोमा खुसी व्यक्त गर्नुभयो । 

साहित्यिक पत्रकार सङ्घमा हुँदै २०३७ सालमै सुरु गरेको काव्ययात्राको शृङ्खलामा तेह्रथुम आउन नपाए पनि यही भूमिमा वसन्त काव्य उत्सव गर्न पाएकोमा सन्तोष लागेको अनुभूति प्रमुख अतिथि विश्वविमोहन श्रेष्ठले पोख्नु भयो । सभाका सभापति हेमराज अधिकारीले सभापतिको आसनबाट सभा विसर्जन गर्दा तीनघण्टे कार्यक्रमले विश्राम लिन पुग्यो । दुई दिनको बसाइमा तेह्रथुमको प्रसिद्ध सिंहबाहिनी मन्दिर, पाथिभराको हिँडाइ, शुकबारे हाटमा रमाउँदै ढाकाको कोसेली बोकेर रमाएका हामी साहित्यमा तेह्रथुमले जन्माएका साधक र साहित्यिक इतिहासमा पनि केन्द्रित भएका थियाैँ । सबैका आदरणीय सर, साहित्यिक पत्रकार जे के सरको आँगन टेक्दाको खुसी त्यत्तिकै अविस्मरणीय रह्यो । समय सधँै एकनास कहाँ रहन्छ र ? जति नै रमाए पनि तय भइसकेको कार्यक्रममा जान तेह्रथुम छाडेर, अनेकौँ सम्झना साँचेर विराटनगर पुग्नु छ हामीलाई । नजिकिएको स्थानीय निकायको चुनावको चटारोले छोपे पनि साहित्य र पाहुनालाई माया गर्ने म्याङ्लुङवासीको माया, साहित्यमा देखिएको उत्साहले आकर्षित गर्दागर्दै पनि तय भइसकेको कार्यक्रममा जान तयार भएर वैशाख १० गतेको बिहान अघि बढ्छ हाम्रो यात्रा । 

१० गतेको बिहान घाम झुल्कन नपाउँदै विराटनगर जान निर्धारित समयमै भेला भएर प्राकृतिक सौन्दर्य र बाटोमा पर्ने विभिन्न स्तम्भ हेर्दै, तस्बिर खिच्दै अघि बढ्दा विलम्ब नहुने त कुरै भएन । ‘विराटनगर गएर बस्ने त हो, हिलेमा आएर पनि डिले नगर्ने हो भने यात्राको मजा नै के भयो र ? वसन्तपुरको सौन्दर्यमा नरमी जाने हो भने त खल्लो नै हुन्छ हो यात्रा’, अर्कोथरीको आवाज । यही आवाजमा सुनिए काव्य र कविका कुरा, साहित्यको वर्तमान र भविष्यका सम्भावना, राजनीति र देशको चिन्ता सबैतिरको चासो र ठट्टा मजाकमा यसरी नै अघि बढ्दै जाँदा साँझ परेपछि मात्र पाइला टेकिए विराटनगरमा । वैशाखको दोस्रो साता टेकिसकेको समयसँगै बढेको गर्मीमा पनि काव्य उत्सवको रौनक देख्न पाइयो । 

एपेक नेपाल, पूर्वाञ्चल साहित्य प्रतिष्ठान र इन्द्रमोहन स्मृति गुठी आयोजक रहेको वसन्त काव्य उत्सवको तेस्रो दिन गुठीको भवनमा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको प्रमुख आतिथ्यमा उत्सव सुरु हुँदा २ बजेको थियो । गुठीका अध्यक्ष डा. विमला श्रेष्ठको सभापतित्वमा साहित्यकार विवश पोखरेलले स्वागत गर्दै कार्यक्रमबारे प्रकाश पारेपछि काव्य उत्सवको रौनक सुरु भयो । कवयित्री सविता गौतम दाहाल, सीमा आभास, लक्ष्मी आचार्य, लक्ष्मी चौधरी, निर्मला कोइराला, मञ्जुश्री गिरी, शुभलक्ष्मी लम्साल, राधा भट्टराई, राधा सुवेदी, लक्ष्मी रायमाझी, मञ्जु श्रेष्ठ, सरला चापागाईंका कविता सुनिए । यसपछि सुमन पोखरेल, रामबाबु दाहाल, बद्रीविशाल पोखरेल, गोकुल अधिकारी, दिङ्लाली कान्छो, चूडामणि अकिञ्चन, दीपक सञ्चु, भेषराज पोखरेल आदिसँगै अतिथि कविहरूका कविता गुञ्जिए । 

काव्य उत्सवका बारेमा विश्वविमोहन श्रेष्ठले, प्रमुख अतिथिका तर्फबाट दधिराज सुवेदीले मन्तव्य राखेसँगै सहभागीका तर्फबाट श्रीओम श्रेष्ठ र साहित्यकार एवं पत्रकार राजेश खनालले कार्यक्रमबारे बोल्नुभएको थियो । सभापति डा. विमला श्रेष्ठले सभा विसर्जन गरेपछि वसन्त काव्य उत्सवको चारदिने काव्य यात्रामा पूर्णविराम लागेको थियो । 

विराटनगरदेखि तेह्रथुमसम्म र तेह्रथुमदेखि विराटनगरसम्मको मोटर यात्रा, यात्रामा उठ्ने गरेका साहित्यिक सबाल, बहस, सन्तुष्टि र असन्तुष्टिका आवाजसँगै कार्यक्रम सम्पन्न गरेर फर्केपछि आयोजकले पक्कै पनि सोचेको हुनुपर्छ यति सफल र सुखद कार्यक्रम गर्न सकेकोमा । हामी सहभागीले त यस्तै सोच्यौँ । एउटा सफल र सार्थक कार्यक्रममा सहभागी भएर फर्कंदा । हवाईजहाज र मोटर यात्रा त टुङ्गियो तर कैयौँ नवप्रवेशीहरूका लागि यहीँबाट थालियो होला साहित्यिक यात्रा । लेखेर अघि बढिसकेकाहरूलाई अझ लेख्न ऊर्जा मिल्यो होला । तेह्रथुम, विराटनगरमा यस्ता कार्यक्रम हुन्छन् भने हामीले किन नगर्ने भनेर कति प्रोत्साहित भए होलान् । यस्तै जिज्ञासा लिएर निर्धारित समयमै उडेको जहाज चढेर चारदिने वसन्त काव्य उत्सव सकेर फर्कियौँ उत्साह र ऊर्जा लिएर । यात्रा जारी राख्नुपर्छ, यस्तै यात्राले त हो एक अर्कालाई चिन्ने र बुझ्ने । साहित्यको यति लामो इतिहासमा तेह्रथुमले पहिलो पटक यति भव्य कार्यक्रम गरेकोमा त्यही भूमिका कवि एवं राजनीतिज्ञ डा. विजय सुब्बाले भनेजस्तै काव्य उत्सव सफल रह्यो, सार्थक रह्यो ।