• १९ असार २०८१, बुधबार

स्टार्टअप कर्जाबापत एक करोड वितरण

blog

काठमाडौँ, असार १७ गते । स्टार्टअप उद्यम कर्जाबापत उद्यमीलाई एक करोडभन्दा धेरै रकम वितरण गरिएको छ ।  औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले सहुलियतपूर्ण कर्जा पाउन योग्य १८३ वटा व्यावसायिक परियोजनालाई उद्यम कर्जा वितरण सुरु गरेको हो । 

राष्ट्रिय वाणिज्य बैङ्कको तोकिएको शाखा कार्यालयबाट रकम वितरण गरिएको औद्यौगिक व्यवसाय विकास प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका कार्यकारी निर्देशक उमेश गुप्ताले अहिलेसम्म १९ व्यवसायीलाई एक करोड एक लाख ५० हजार रुपियाँ वितरण गरिएको जानकारी दिनुभयो ।

स्टार्टअप उद्यम कर्जामा छनोट भएका परियोजनालाई यो साताभित्रमा कर्जा वितरण गरिसक्ने उहाँले जानकारी दिनुभयो । सूची तयार पारेसँगै सहुलियतपूर्ण कर्जा वितरण सुरु भएको हो । छनोटमा परेको परियोजनाले राष्ट्रिय वाणिज्य बैङ्कबाट तीन प्रतिशत ब्याजदरमा सहुलियतपूर्ण कर्जा पाउन थालेका छन् । 

सरकारले चालु आवको बजेटमार्फत स्टार्टअप व्यवसायलाई सहुलियतपूर्ण कर्जा वितरण गर्न २५ करोड विनियोजन गरेको थियो । विगत चार वर्षदेखि बजेटमा घोषणा हुँदै आएको स्टार्टअप उद्यम कार्यक्रम अहिले आएर कार्यान्वयनमा आएको छ । 

छनोटमा परेका १८३ परियोजनालाई  पाँच लाख रुपियाँदेखि  २० लाख रुपियाँसम्म सहुलियत पूर्ण ऋण दिइएको छ । प्रतिष्ठानका अनुसार पहिलो किस्ताबापत पाँच लाख रुपियाँ दिइन्छ । 

पहिलो किस्ताको प्रगति विवरणको प्रतिवेदनपछि दोस्रो किस्ता दिइन्छ । सरकारले दिने ऋण भएकाले बैङ्कले बिनाधितो र धरौटी आयोजनालाई ऋण प्रवाह गर्ने छ । यसका लागि राष्ट्रिय वाणिज्य बैङ्कले परियोजना र सञ्चालक कालो सूचीमा परे नपरेकोलगायतका कुरा हेर्ने छ ।

बैङ्कसँग प्रतिष्ठान र निक्षेप तथा कर्जा सुरक्षण कोषले २०८० माघ २४ गते सम्झौता गरेका थिए । सम्झौताबमोजिम बैङ्कले प्रतिष्ठानले निकालेको सूचीमा परेका नवप्रवर्तनात्मक व्यवसायलाई तीन प्रतिशत ब्याजमा सहजतापूर्वक कर्जा दिन हस्ताक्षर भएको थियो ।

यो कार्यविधिमा ५० लाख रुपियाँसम्म चुक्ता पुँजी भएका कम्पनी र वार्षिक आम्दानीसमेत ५० लाखसम्म मात्रै हुनुपर्ने व्यवस्था छ ।

प्रत्येक वर्षको भाषणमा पर्ने गरे पनि सहुलियतपूर्ण ऋण वितरणमा समस्या भएपछि सरकारले ‘स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९’ बनाएको थियो । यो कार्यविधि अनुसार सुरुमा स्टार्टअपलाई २५ लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा वितरण गर्ने भनिएको थियो तर वितरण गर्ने समयसम्ममा भने २५ लाखबाट झरेर २० लाखमा आइपुगेको हो । 

कार्यविधिमा आधारित रहेर औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले माघ १९ गतेदेखि फागुन १० गतेसम्म आवेदन माग गरेको थियो । त्यस क्रममा एक हजार छ सयभन्दा बढी आवेदन परेको थियो ।

सहुलियतपूर्ण कर्जा पाउने परियोजनाको सूचीमा कृषि, पशुपन्छी, डेरी, चिया, दुनाटपरीलगायतका उद्योग छन् । यस्तै हाते कागज बनाउने उद्योग, रोबोटिक्स एन्ड रिसर्च सेन्टरसहित फेसन, सूचना प्रविधिमा आधारित उद्योग छन् । 

यसै गरी थाङ्कासहित मेटल उद्योगसमेत रहेको प्रतिष्ठानले जनाएको छ । सहुलियतपूर्ण कर्जाका लागि काठमाडौँ उपत्यकासहित देशभरबाट छानिएका छन् ।