• १० मंसिर २०८१, सोमबार

झाङ्गिँदै रङ्गमञ्च

blog

मोहनप्रकाश

 “सत्यको बाटो हिँड्नु फाइदाजनक छ किनकि त्यहाँ भीडभाड कम हुन्छ,” भगवान् गौतमबुद्धको यो विचारमा पक्कै एउटा शक्ति लुकेको छ । सायद बुद्धको आशय भीडभन्दा टाडा बस्नु, चिन्तन मनन गर्नु, साधना गर्नु, आपैmँलाई चिन्ने प्रयत्न गर्नु आदि हुनसक्छ । मानिसका साधना गर्ने आआफ्नै तौरतरिका र स्थान हुन सक्छन् । रङ्गमञ्च पनि यस्तै साधनास्थल हो, जहाँ वर्षौंदेखि दत्तचित्त भएर साधना गर्ने रङ्गकर्मी भेटिन्छन् । विगत वर्षमा कोरोना महामारीले थलिएको रङ्गमञ्चमा उत्साहका सङ्केत देखिन थालेका छन् । रङ्गकर्ममा धेरै चुनौती छन्, बाधा–व्यवधान छन् । यसका अलावा केही जुझारु रङ्गकर्मीको त्याग, बलिदान र साधनाले रङ्गमञ्चमा बिहानीका किरण देखा परेका छन् । 

नयाँ वर्ष आफैँमा नयाँ उमङ्ग, जोश र जाँगर लिएर आउने समयचक्र हो । जसरी वसन्त ऋतुमा नवपालुवाले अङ्कुराउने वातावरण पाउँछ, त्यसैगरी यो समय उत्साह थप्ने पल मात्र नभएर नयाँ प्रतिज्ञा र अठोटका साथ अवसरका ढोका खोल्ने समयबिन्दु पनि हो । बुद्धले भनेजस्तै नयाँ सालसँगै सत्यको बाटो पहिल्याउने काम प्रारम्भ ग¥यो– डबली थिएटरले । वैशाख २ गतेदेखि एक सातासम्म काठमाडौँस्थित राष्ट्रिय नाचघरमा बुद्ध थिएटर फेस्टिभल–२०२२ आयोजना भयो । बुद्ध र नेपाल एकअर्कामा जोडिएका छन् । हुन त बुद्धका विचार तथा दर्शन विश्व समुदायमाझ पु¥याउने प्रयत्न गर्नु सबैकोे कर्तव्य हो । मानवजातिको उन्नति, प्रगति जे भने पनि अन्तत्वगोत्वा शान्ति पहिलो सर्त हो । सायद यही विचारलाई प्रतिनिधित्व गर्दै अघि बढिरहनुभएको छ– जुझारु रङ्गकर्मी तथा फेस्टिभल अध्यक्ष पुष्कर गुरुङ ।

पहिलो बुद्ध थिएटर फेस्टिभल अयोजना गरेर उत्साहित बनेका गुरुङ यस वर्षको दोस्रो फेस्टिभलमा झनै उत्साहित देखिनुभयो । यो कार्यक्रम हुँदा नाचघरको भव्य रङ्गमञ्चमा देशी–विदेशी दर्शकको राम्रै उपस्थिति देखिन्थ्यो । महोत्सवमा बुद्ध दर्शनको मियोमा चार नाटक मञ्चन भए । त्यसमा शारदा शर्माको उपन्यास ‘ताप’माथि फेस्टिभल अध्यक्ष गुरुङले नै परिकल्पना तथा निर्देशन गरेको नाटकसहित पार्वती ज्ञावलीको कथामा वीरेन्द्र हमालको परिकल्पना तथा निर्देशनमा ‘तथागत बीज’, अनिल सुब्बाको परिकल्पना तथा निर्देशनमा ‘बुद्ध र भिखारी’ र दीपेन्द्र वज्राचार्यको लेखन एवं शारदा सिलवालको निर्देशनमा ‘बोधी यात्रा’ मञ्चन भए ।

नयाँ वर्षसँगै स्थानीय चुनावको पारो पनि चढ्दै छ । यस्तै विषयवस्तु बोकेको शिल्पी थिएटरको 

‘अलिकति उज्यालो’ नाटक दस जिल्लाका एघार स्थानमा वैशाख ३ देखि ११ गतेसम्म मञ्चन भए ।

कतिपयलाई आजका दिनमा समेत रङ्गकर्मी अजीवका प्राणी लाग्छन् किनभने “तिमी नाटक त गर्छौ तर पेसाचाहिँ के गर्छौ ?” भन्ने प्रश्नको सामना रङ्गकर्मीहरूले अहिलेसम्म नै खेपिरहेछन् ।

विगत वर्षमा कचहरी नाटक यात्रा गर्दै आएको शिल्पी थिएटरले मुक्त रङ्गमञ्चको अवधारणा अघि सार्दै आएको छ । अघिल्लो वर्ष यही अवधारणामा ‘ठूला माछा साना माछा’ नाटक शिल्पीले पूर्वी तराई र काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मञ्चन ग¥यो । गाउँ–सहरका गल्ली, चोक, चौतारा, विद्यालय प्राङ्गण आदि स्थानका खुला ठाउँमा पनि व्यवस्थित तरिकाले दर्शकलाई आनन्दसँग बसाएर नाटक गर्न सकिने कुरा गर्नुहुन्छ– नाटक निर्देशक घिमिरे युवराज । यस सन्दर्भमा वैशाख १८ गतेदेखि शिल्पीले नै पूर्वी तराईका विभिन्न स्थानमा यही नाटक लिएर जाँदै छ भने त्यसको लगत्तै कुमार नगरकोटीको नयाँ नाटक ‘ट्रान्जिट गोठाले’ नाटकघरमा मञ्चन गर्ने तयारी रहेको बताउनुहुन्छ– निर्देशक घिमिरे । हुन त प्रसिद्ध कृतिलाई नाटकघरमा पु¥याउनु आफैँमा चुनौती मोल्नु हो । यही चुनौती मोल्ने साहस गर्नुभएको छ– परिकल्पनाकार तथा पल्पसा क्याफेका निर्देशक विमल सुवेदीले । 

‘पल्पसा क्याफे’ नारायण वाग्लेको बहुचर्चित उपन्यास हो । यस उपन्यासलाई नाट्य रूपान्तरण सुरज सुवेदीले गर्नुभएको हो भने सहनिर्देशन दिलीप राणाभाटले गर्नुभएको हो । यो नाटक थिएटर भिलेजको प्रस्तुतिमा वैशाख ९ देखि २५ गतेसम्म मण्डला थिएटरमा मञ्चन भइरहेको छ ।

‘पल्पसा क्याफे’ उपन्यास पढिसकेका दर्शकलाई सुरुमा नाटकले खिन्नता बनाउन सक्छ तर नाटकले गति लिँदै जाँदा दर्शकलाई छुने दृश्य एकपछि अर्को आउँछन् । कतैकतैका दृश्यबाहेक समग्रमा नाटकले उपन्यासलाई न्याय गरेको मान्न सकिन्छ । मञ्चमा प्रयोग भएका सामग्री आफैँमा नौला र सिर्जनशील देखिन्छन् । 

नेपाली आख्यान फाँटमा सुपरिचित नाम हो– नयनराज पाण्डे । उहाँको ‘उलार’ उपन्यास चरम गरिबी र राजनीतिक छलछामको द्वन्द्वमा आधारित छ । यो सशक्त कृतिलाई नाटकीकरण गर्नु पनि त्यत्तिकै चुनौतीपूर्ण कार्य हो । यसलाई रङ्गमञ्चमा ल्याएका छन्– गार्डेन थिएटर र कथाघेराले । यसको परिकल्पना तथा निर्देशन चे शङ्करले गर्नुभएको हो । विशेषगरी अङ्गे्रजी नाटकलाई नेपाली भाषामा रूपान्तरण र निर्देशन गर्दै आउनुभएका चे शङ्करले यस पटक उम्दा नेपाली कृति छानेर उम्दै काम गर्नुभएको छ । चुनावी सरगर्मी बढिरहेको बेला यो नाटकको सान्दर्भिकता अझै बढेको मान्न सकिन्छ । उपन्यास नेपालगञ्जको सेरोफेरोमा आधारित छ । निर्देशक शङ्करले स्थानीयतालाई सशक्त ढङ्गले मञ्चमा उतार्ने प्रयास गर्नुभएको देखिन्छ ।  कोरोना महामारीपछि एकपछि अर्को नाटक मञ्चन गर्दै आएको पुरानो घरले नयाँ वर्षसँगै ‘खत’ नाटक लिएर आयो । सुलक्षण भारतीले निर्देशन गर्नुभएको यो नाटक माओवादी द्वन्द्वमा आधारित छ । द्वन्द्वकालीन घटनालाई निर्देशकले मञ्चमा जीवन्त रूपमा उतार्ने काम गर्नुभएको छ । नाटक झन्डै दुई घण्टा लामो छ तर दर्शकलाई समय बितेको पत्तै हुँदैन । यो नाटक वैशाख १६ गतेसम्म मञ्चन गरियो । 


धरानमा युवाको नाट्य संस्था रङ्गभूमि एकेडेमीले चैत २७ देखि वैशााख ११ गतेसम्म ‘बन्द बाक्सा’ नाटक मञ्चन ग¥यो । यो संस्थाले विगतमा 

‘अब टाउको कहिले हालिन्छ’, ‘इङघङ’, लीलबहादुर क्षेत्रीको प्रसिद्ध उपन्यास ‘बसाइँ’मा आधारित नाटक मञ्चन गरिसकेको छ । त्यस्तै इटहरीमा अवस्थित अर्को नाट्य संस्था कलालयका प्रज्वल दुलालको निर्देशनमा वैशाख ९ गतेबाट इटहरीकै तायारिप्ची भवनमा ‘रिफन्ड’ नाटक मञ्चन भइरहेको छ । 

मोफसलमा सक्रियताका साथ रङ्गमञ्चीय गतिविधि गर्ने संस्थामा पर्छ– पोखरा थिएटर । २०७८ सालको अन्त्यतिर विद्यालयस्तरीय नाटक प्रतियोगिता गरेको यस थिएटरले आशु रचनामा आधारित नाटकको रिहर्सल थालेको छ । नाटकमा अभिनय गर्दैछन्, यसै थिएटरका चौथो र छैटौँ ब्याचका प्रशिक्षार्थी । यस नाटकको सहजीकरण संस्थाका संयोजक परिवर्तन कार्कीले गरिरहनुभएको छ ।   

विश्वप्रसिद्ध अङ्ग्रेजी कवि रोबर्ट ग्रेभ्सले कतै भन्नुभएको थियो, “कवितामा पैसा छैन तर पैसामा पनि त कविता छैन ।’ कवि ग्रेभ्सको यही भनाइ नाटकमा पनि लागू हुन्छ । औँलामा गन्न सकिने नाटकबाहेक अधिकांश नाटक घाटाको व्यवसाय हुन् । कडा मेहनत, धैर्यता र आत्मसन्तुष्टि नै रङ्गकर्मीको शक्ति हो । नेपाली नाटकलाई व्यावसायिक र आत्मनिर्भर कसरी बनाउन सकिएला रु यो त आगामी दिनमा सरकारले यसलाई हेर्ने दृष्टिले नै निश्चित गर्नेछ । 

कोरोना महामारीले ढल्दै र गल्दै गइरहेको रङ्गमञ्च नयाँ वर्षसँगै मौलाएको भने पक्कै हो तर कतिपयलाई आजका दिनमा समेत रङ्गकर्मी अजीवका प्राणी लाग्छन् किनभने “तिमी नाटक त गर्छौ तर पेसाचाहिँ के गर्छौ रु” भन्ने प्रश्नको सामना रङ्गकर्मीहरूले अहिलेसम्म नै खेपिरहेछन् । अन्ततोगत्वा बुद्धले भनेजस्तै बाटो जतिसुकै दुःखको भए पनि सत्यको बाटो हिँड्नु अवश्य नै फाइदाजनक छ किनकि रङ्गमञ्चमा आर्थिक फाइदा नभए पनि आत्मिक फाइदा अवश्य नै छ । नयाँ सालले सम्पूर्ण रङ्गकर्मीमा अझ उमङ्ग भरोस् ।