• १८ असार २०८१, मङ्गलबार

‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी सुरु

blog

काठमाडौँ, असार १६ गते । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजना र वाटर कलर सोसाइटीको सहआयोजनामा आमश्रमजीव कृषकमा समर्पित ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा सुरु भएको छ । 

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनीको विशेष महत्व रहेको बताउनुभयो । उहाँले लक्ष्यप्राप्तिका लागि साधक, साधना र साध्यको गठजोड हुनुपर्ने धारणा राख्दै त्यस अर्थमा किसान जलरङ कार्यशाला राखिएको बताउनुभयो । कृषकप्रति सम्मान, कृषि पेसाप्रति उत्साह, जागरण ल्याउनुपर्ने वर्तमान परिस्थिति अनुरूप नै प्रतिष्ठानले असार १५ अर्थात् धान दिवसका दिनलाई सिर्जनासँग जोड्न ‘किसान’ कला कार्यशाला तथा प्रदर्शनी गरेको हो ।  

प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्यले किसानका विषयमा केन्द्रित भई ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी हुनु राम्रो रहेको बताउनुभयो । “किसान वर्ग देशका अभिभावक हुन्, उनकै कारणले हामी बाँचेका छौँ । काम गर्ने, श्रम गर्ने वर्ग किसान हुन्, तिनप्रति सम्मान र श्रम संस्कृतिको निर्माण गर्न प्रतिष्ठानले गरेको यस किसिमको कार्यक्रमले किसानमा पक्कै आशा सञ्चार गर्ने छ किनभने नेपाल कृषिप्रधान देश हो तर आज हाम्रा खेतबारी बाँझा छन्, गाउँमा युवा शक्ति छैनन्, यस किसिमको जटिल समस्याबाट हामी ग्रुजिएका छौँ,” उहाँले भन्नुभयो । अग्रज कलाकार मदन चित्रकारले आफूभित्र जलरङ नसा नसामा रहेको बताउँदै जलरङकर्मीहरूका लागि यो कार्यक्रम विशेष महत्वको रहेको र यसले जलरङकर्मीहरूलाई एकै ठाउँमा जमघट गराएको बताउनुभयो । प्रतिष्ठानका उपकुलपति लालकाजी लामाले असार १५ अर्थात् धान दिवसका दिन वर्षाकालीन समयमा ‘किसान’ जलरङ कार्यशाला तथा प्रदर्शनी गरी सम्पूर्ण श्रमजीवी किसानप्रति सम्मानभाव व्यक्त गर्न खोजिएको बताउनुभयो । प्रतिष्ठानका सदस्य सचिव देवेन्द्रकुमार काफ्ले ‘थुम्केली’ ले कृषिप्रधान देश नेपालमा ६५ प्रतिशत जनता कृषिकर्ममा आबद्ध रहेको र तिनै श्रमजीवी किसानवर्गप्रति समर्पित हुँदै कृषिको जागरण र किसानको सम्मानका लागि प्रतिष्ठानको अनुसन्धान, सिर्जना र सम्मान नारा अनुरूप नै रङ र रेखाका माध्यमबाट ‘किसान’ जलरङ कला कार्यशाला तथा प्रदर्शनी गरिएको बताउँदै प्रदर्शनीमा ६५ जनाभन्दा बढी कलाकारका ८० कलाकृति राखिएको र प्रदर्शनी २१ गतेसम्म चल्ने बताउनुभयो । प्रदर्शनीमा ६० भन्दा बढी कलाकारका ८० कलाकृति राखिएको छ ।