• १६ भदौ २०८१, आइतबार

विज्ञापन आचारसंहिता ल्याउने तयारी

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १७ गते  । सरकारले छिट्टै विज्ञापन बोर्डमार्फत विज्ञापन आचारसंहिता ल्याउन लागेको छ । विज्ञापन बोर्डद्वारा शुक्रबारदेखि राजधानीमा आयोजित विज्ञापन व्यवसायमा संलग्न जनशक्तिको क्षमता विकाससम्बन्धी दुईदिने कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले उक्त जानकारी दिनुभएको हो । उहाँले विज्ञापन व्यवसायमा देखा परेका समस्या समाधान गर्दै यसलाई थप स्वच्छ, पारदर्शी र निष्पक्ष बनाउन विज्ञापन बोर्ड स्थापना गरिएको स्पष्ट पार्नुभयो । 

उहाँले बोर्डलाई नियमनकारी निकायका रूपमा विकास गर्दै विज्ञापन बजार व्यवस्थित र मर्यादित बनाउन बोर्डलाई मन्त्रालयले सहयोग गर्ने बताउनुभयो । “विज्ञापन बोर्डको भूमिकालाई अझ बढी सशक्त नियामकका रूपमा विस्तार गर्ने हो, नियन्त्रणमुखी संस्था बनाउने चाहना होइन । विज्ञापन बोर्डले कसैलाई काखापाखा गर्दैन । त्यसो ग-यो भने मन्त्रालय ती नियमनकारी निकायको पनि नियामक छँदै छ नि,” उहाँले भन्नुभयो । नियमनकारी निकायले नियमन गर्ने हो, नियन्त्रण होइन भन्दै उहाँले तर उच्छृङ्खल भएको अवस्थामा, हुँदै नभएको कुरा, तथ्यपरकभन्दा भ्रामक कुरा भएमा त्यसलाई त नियन्त्रण गर्नैपर्ने उल्लेख गर्नुभयो ।

विज्ञापन व्यवसायीहरूलाई स्वनियमन गर्न र विज्ञापन बोर्डलाई नउक्साउनसमेत उहाँले आग्रह गर्नुभयो । पर्याप्त जानकारीबिना रेडियो, टेलिभिजन र पत्रपत्रिकामा विज्ञापन आउने गरेको चर्चा गर्दै उहाँले यस सम्बन्धमा विज्ञापन उत्पादनकर्ता, प्रकाशन/प्रसारणकर्ताका साथै विज्ञापन व्यवसायीहरूलाई सचेत हुन आग्रह गर्नुभयो ।

विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईले विज्ञापन व्यवसाय मर्यादित बनाउन र विज्ञापन एजेन्सी तथा सञ्चारमाध्यमबीचको सम्बन्ध मजबुत बनाउन कार्यक्रम महत्त्वपूर्ण हुने बताउनुभयो । विज्ञापन सङ्घ नेपालका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठले विज्ञापन बोर्डले विज्ञापन बाँड्नुभन्दा यससम्बन्धी ऐन, नियम बनाउन तथा विज्ञापन व्यवसायीहरूको क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गर्नुभयो ।