• १७ असार २०८१, सोमबार

पटाका कारखानामा विस्फोट हुँदा चार जनाको मृत्यु

blog

पटाका कारखानामा विस्फोट । फाइल तस्बिर

नयाँ दिल्ली, असार १५ गते । भारतको दक्षिणी राज्य तमिलनाडुको एउटा पटाका कारखानामा शनिबार भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएका अधिकारीले बताएका छन् ।

विस्फोट तमिलनाडुको राजधानी चेन्नईबाट ५५३ किलोमिटर दक्षिणपश्चिममा रहेको विरुधुनगर जिल्लाको सतूर नजिकैको बन्दुवरपट्टी गाउँमा भएको थियो ।

प्रहरीका अनुसार विस्फोट हुँदा दर्जनौँ व्यक्ति कारखानामा काम गरिरहेका थिए । विस्फोटका कारण कारखानामा आगो लागेको थियो । घटनालगत्तै आगो नियन्त्रणका लागि दमकल तथा उद्धारकर्मी घटनास्थलमा पुगेका थिए ।

कारखानामा १५ वटा कोठा रहेको अधिकारीहरूले बताएका छन् । यसमध्ये कम्तीमा तीन वटा आगोले पूर्णरूपमा जलेर नष्ट भएका छन् । प्रहरीले विस्फोटको अनुसन्धान सुरु गरेको छ । रासस/सिन्ह्वा