• १२ मंसिर २०८१, बुधबार

खेतीयोग्य जमिन नासिँदै

blog

खेतीयोग्य जमिन । फाइल तस्बिर

गण्डकी, असार १५ गते । असार दोस्रो सातासम्ममा गण्डकी प्रदेशमा करिब १५ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । प्रदेशको कृषि विकास निर्देशनालयका अनुसार यस वर्ष ९८ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने अनुमान छ । केही दिनयता मनसुन सक्रिय भएकाले किसान रोपाइँको चटारोमा रहेको निर्देशनालयका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो । 

गत आइतबारसम्ममा आठ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएकामा एक हप्तामै झण्डै दोब्बर क्षेत्रफलमा रोपाइँ भएको उहाँको भनाइ छ । “अधिकांश क्षेत्रमा असारभित्रैमा रोपाइँ सकिन्छ, बाह्रैमास सिँचाइ सुविधा भएका र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ”, उहाँले भन्नुभयो, “अहिले रोपाइँका लागि मलको पनि अभाव छैन, वर्षात पनि भइरहेकाले किसानलाई राहत पुगेको छ ।” 

निर्देशनालयले हरेक आइतबार रोपाइँको जिल्लागत तथ्याङ्क सङ्कलन गरेर केन्द्रमा पठाउने गरेको छ । प्रदेशको कूल चार लाख ७९ हजार छ सय १७ हेक्टर खेतीयोग्य जमिनमध्ये बर्सेनि एक लाख हेक्टर वरिपरि वर्षे धान लगाइने गरिएको निर्देशनालयका प्रमुख रेग्मीले जानकारी दिनुभयो । मुस्ताङ र मनाङबाहेक प्रदेशका नौ जिल्लामा धानखेती हुँदै आएको छ । नवलपुर, कास्की, स्याङ्जा, तनहुँलगायत जिल्लामा धानखेतीको क्षेत्रफल बढी छ । निर्देशनालयका प्रमुख रेग्मीले धानखेतीका लागि जिल्लामा पकेट क्षेत्र तोकिएको बताउनुभयो । 

गोरखाको छेवेटार, पालुङटार, आरुघाट, सिरानचोक, लमजुङमा धमिलीकुवा, हर्राबोट, भोर्लेटार, करापुटार, तनहुँको चुँदीफाँट, सत्रसय फाँट, कलेस्तीफाँट, कास्कीको मकैखोला, हाँडीखोला, पामे र लेखनाथ धानको पकेट क्षेत्र हुन् । पर्वतको फलेबास, जलजला, स्याङ्जाको पुतलीबजार, आँधीखोला, गल्याङ, म्याग्दीको भगवती, पिप्ले, घतान, बागलुङको बडिगाड, गलकोट, जैमिनी र नवलपुरको कावासोती, गैँडाकोटलगायतलाई धानका पकेट क्षेत्र तोकिएको छ ।  

गण्डकीका किसानले सावित्री, रामधान, जेठोबुढो, खुमल, सुक्खा, एक्ले, पहेँले, गौरिया, मनसुली, सुनौलो सुगन्धलगायत जातका धानको खेती गर्दै आएका छन् । निर्देशनालयको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा धान खेतीको क्षेत्रफल बर्सेनि घट्दै गएको देखिन्छ । ‘प्लटिङ’, तीव्र बजारीकरण, ठूलाठूला भौतिक निर्माण आदिका कारण खेतीयोग्य जग्गा नासिँदै गएको छ । रासस