• १७ असार २०८१, सोमबार

नवलपुरमा २० प्रतिशत रोपाइँ

blog

मध्यविन्दु ४ लुसलहरीमा किसानले धान रोप्दै । तस्बिर : मिना कँडेल

मीना कंडेल

कावासोती, असार १५ गते । नवलपुरमा धान रोपाइँ सुरु भएको छ । असारको दोस्रो साताबाट जिल्लाका विभिन्न ठाउँमा धान रोपाइँ सुरु गरिएको हो । 

नवलपुर सहित देशभर २१ औँ राष्ट्रिय धान दिवस बाजागाजा सहित विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । यो वर्ष जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि भन्ने नाराका साथ धूमधामका साथ दिवस मनाइरहेका छन् । असारे भाकामा लोकदोहोरी गीत गाउँदै, हिलो छ्यापाछ्याप गर्दै आज धान रोप्ने चलन छ । असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ ।

असारको दोस्रो सातासम्म पूर्वी नवलपरासीमा २० प्रतिशत मात्र रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्र नवलपुरका प्रमुख कुल प्रसाद तिवारीले खडेरीका कारण समयमा रोपाइँ हुन नसकेको बताउनुभयो । यतिखेर एक दुई वर्ष अघिसम्ममा ४० प्रतिशत रोपाइँ हुने गरेको भए पनि गतवर्ष र यसवर्ष २० प्रतिशत मात्र भएको छ । नवलपुरमा १८ हजार आठ सय १६ हेक्टर क्षेत्रफलमा बर्सेनि धान रोपाई हुने गर्दछ।

मध्यविन्दु नगरपालिकाका प्रमुख भीमलाल अधिकारीले उत्पादन र उत्पादकत्व दिगो तथा उच्च कायम गर्नका लागि धान बालीमा जलवायु अनुकूलित कृषकमैत्री प्राविधिक आवश्यक पर्ने बताउनु भयो । जलवायु परिवर्तनले गर्दा देशव्यापी रूपमा असार पारेको भन्दै स्वस्थ जीवनसँग जोड्नका लागि विषादी रहित उत्पादन गर्न लाग्नु पर्नेमा जोड दिनु भयो । रासायनिक मलको प्रयोगलाई न्यूनीकरण गिरि जलवायुमैत्री उत्पादनमा किसानलाई प्रेरित गर्नु हामी सबैको दायित्व रहने उहाँको भनाइ छ ।

जिल्ला समन्वय नवलपुरका उपप्रमुख शकुन्तला लम्सालले प्रविधिमैत्री वातावरण नहुँदा कृषकहरूले चाहेर पनि उत्पादन वृद्धि गर्न नसकेको बताउनुभयो । खुला बजार छ तर प्रविधि नभएका कारण विश्व बजारमा प्रतिस्पर्धामा जान नसकेको बताउनुभयो । 

कृषि ज्ञान केन्द्र नवलपुर र मध्यविन्दु नगरपालिकाको आयोजना तथा शिरथान कृषक समूह मध्यविन्दु ४ लुसलहरीको सहकार्यमा नवलपुरमा धान महोत्सव गरिएको छ । रोपाइँ सुरु गर्नुपूर्व बाजागाजा सहित नाचगान गरिएको थियो । त्यस्तै, महोत्सवमा डोरी तान्ने र दौड प्रतियोगितासमेत सम्पन्न गरिएको कृषि ज्ञान केन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो ।