• १७ असार २०८१, सोमबार

धरानको कृषि बजारमा खसी, बोकाको बिक्री बढ्दै

blog

तस्बिर:रासस

धरान (सुनसरी), असार १५ गते । धरान उपमहानगरपालिका-१३ स्थित कृषिउपज बजारमा दैनिक उपभोग्य वस्तुका साथै खसी, बोका किनबेच बढ्न थालेको छ । साताको दुई दिन खसी, बोकाको व्यापार हुने कृषि बजारमा तराईका ग्रामीण र पहाडी भेगबाट व्यापारी आउने गरेका छन् ।

मोरङको केराबारी गाउँपालिकाबाट खसी, बोका बिक्री गर्न धरान आउनुभएका जय लिम्बूले दुई वर्षदेखि पशुपालन गर्दै आउनुभएको छ । “केराबारीमा महिनाको दुई पटक खसी, बोका बिक्री गर्दै आएको छु । यहाँ पहिलो पटक आएकाले चार वटा खसी मात्र ल्याएको छु”, उहाँले भन्नुभयो, “साना खसी रहेकाले जोडीको १५ हजारमा बिक्री गरिरहेको छु ।” उहाँका अनुसार अहिले फार्ममा १६ वटा खसी छन् ।

धनकुटा सागुडीगडी-७ का किसान ममता राईले धरानस्थित कृषि बजारमा खसी, बोका बिक्री गर्न सधैँ आउने गरेको सुनाउनुभयो । खसी, बोका बिक्रीबाट वार्षिक छ लाखभन्दा बढी आम्दानी भइरहेको उहाँले जानकारी दिनुभयो । पशुपालन पुर्ख्यौली पेसा भएकाले यसलाई निरन्तरता दिइएको राईले बताउनुभयो । “घाँसभन्दा अन्न र दाना बढी खुवाउने गरेकी छु । घाँस खुवाउँदाको तुलनामा खर्च बढी भए पनि प्रशस्त नाफा हुने गरेको छ”, उहाँले भन्नुभयो । 

मोरङको कानेपोखरीबाट व्यापारी चन्द्र खड्का प्रत्येक साता कृषि बजारमा खसी, बोका किन्न आउनुहुन्छ । एक सयदेखि एक सय ५० वटासम्म खसी, बोका किनेर लैजाने गरेको उहाँले जानकारी दिनुभयो । “यहाँबाट किनेका खसी, बोका जिल्ला बाहिर निर्यात गर्दै आएको छु । यसरी खसी, बोका खरिद गरी बिक्री गर्न थालेको २३ वर्ष भइसकेको छ”, उहाँले भन्नुभयो । 

काठमाडौँ, जनकपुर, लहान, इटहरी, इनरुवा पोखरालगायत क्षेत्रमा खसी, बोका बिक्री गर्ने गरेको खड्काले सुनाउनुभयो । उहाँका अनुसार सबै खर्च कटाएर मासिक ७० हजारसम्म नाफा हुने गरेको छ । बिहीबार र शुक्रबार लाग्ने उक्त खसी बजारबाट सतामा करिब तीस हजारभन्दा बढी खसी, बोका बिक्री हुने गरेको कृषिउपज बजार व्यवस्थापक अध्यक्ष लक्ष्मण भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आर्थिक वर्षको असारको १० गतेसम्ममा दुई अर्बको कारोबार भएको छ ।

व्यवस्थापक अध्यक्ष भट्टराईले भन्नुभयो, “पछिल्लो समय धरानमा पशुपालन बढेसँगै खसी, बोकाको किनबेच पनि बढिरहेको छ । वार्षिक एक लाख ६० हजार वटासम्म बिक्री हुने गरेको छ ।” धनकुटा, भोजपुर, सङ्खुवासभा, पाँचथर, तेह्रथुमका साथै तराईका इटहरी, मोरङको कानेपोखरी, बेलबारीलगायत स्थानबाट कृषक तथा व्यापारी किनबेचका लागि यहाँ आउने गरेका उहाँको भनाइ छ । यहाँबाट मुलुकको ठुला सहरका साथै भारतसम्म खसी, बोका निर्यात हुने गरेको उहाँले जानकारी दिनुभयो । रासस