• १७ असार २०८१, सोमबार

असारे गीतले थकाइको महसुस हुँदैन

blog

काठमाडौँ, असार १५ गते । असार १५ मा गीत गाउँदै धान रोप्ने र दही चिउरा खाने परम्परागत चलन छ । सरकारले २०६२ साल असार १५ गतेदेखि यही दिनलाई धान दिवसका रूपमा मनाउँदै आएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राज्ञ डा. जगमान गुरुङका अनुसार वर्ष दिनभर मध्य असारमा सबैभन्दा लामो दिन हुने गर्दछ र असार १६ गतेदेखि दिन छोटो हुँदै जान्छ । धान रोपाइँका लागि पृथ्वीको आँत तातो हुनुपर्दछ र यही दिन आ-आफ्नो गाउँठाउँ अनुसारको गीत गाएर रमाइलो गर्ने चलन छ । 

डा. गुरुङ भन्नुहुन्छ, “रोपालीले रोप्दै गीत गाउँछन्, बाउसे पनि हुन्छन् । फलानो ठाउँमा रोपाइँ छ भन्ने थाहा पाएपछि रोपाली तरुनीलाई गिजाउन, गीत गाउने ठिटाहरू कान्लामा बसेर गीत गाउँछन् । गीत गाउँदा थकाइको महसुस हुँदैन, फुर्तीका साथ धान रोप्न सकिन्छ, यसको विज्ञान यो हो ।”


धानको मुठो माझमा गाडेर त्यसको वरिपरि घुमाउरो किसिमले बिउँ रोपिन्छ । गुरुङले जुम्लातिर बाजा बजाएर रोपाइँ गर्ने चलन रहेको उल्लेख गर्नुहुँदै धान दिवसका दिन पछिल्लो समय पोखरामा उत्सवका रूपमा विदेशी पर्यटक समेत हिलो खेल्ने, रमाइलो गर्ने परम्पराको थालनी भएको बताउनुभयो ।

रोपाइँका दिन दही चिउरा खाने परम्पराका सन्दर्भमा उहाँले भन्नुभयो, “चिउरा भनेको आडिलो पदार्थ हो । कतिपय ठाउँमा भात पकाएर लैजान टाढा हुन्छ । चिउरा खाएपछि आगो पनि फुकिरहन परेन । भात जस्तै आडिलो पनि भयो । असारको गर्मीमा दही खाएपछि शीतल हुन्छ ।”

त्रिभुवन विश्वविद्यालयका नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाका अनुसार असार १५ मा धान रोप्नु, दही चिउरा खानु पुरानो संस्कृति रहेको बताउनुभयो ।

डा. खतिवडाले भन्नुभयो, “धान दिवस संस्कृति अहिले आएको हो । यसमा कतिपय कुरा विकृत रूपमा आएको छ । धान दिवस कुन रूपमा मनाउँदा सार्थक हुन्छ । यो वर्ष छ प्रतिशत धान उत्पादन बढेर केही हुनेवाला छैन । नेपालीलाई चाहिने धान उत्पादन गरेर मात्रै धान दिवसको सार्थकता हुन्छ ।”

उहाँका अनुसार २०५० सालसम्म नेपाल धान उत्पादनमा आत्मनिर्भर थियो । बढ्दो सहरीकरण, घडेरी किनबेच, प्लटिङ तराई क्षेत्रमा भएको चक्लाबन्दीका कारण उत्पादन घट्दै गएको हो ।


उहाँले भन्नुभयो, “नेपालसहित दक्षिणपूर्वी एसियाको मुख्य खाना धान हो । मनसुनी हावापानी यहाँको माटोको अवस्था धान फल्ने किसिमको भएकाले यहाँ धान राेपिन्छ । २०५० सालभन्दा अगाडि नेपाल धानमा आत्मनिर्भर थियो । नेपालको धान तिब्बततिर जान्थ्यो, इन्डिया पठाइन्थ्यो । पछि सुरक्षित लगानी गर्ने ठाउँ भएन । जग्गा व्यापार गर्ने मान्छेले जमिन प्लटिङ गर्न थाले । जसले गर्दा धानका खेत सबै घडेरीमा परिणत भए ।”

उहाँले धान उत्पादन वृद्धि गर्न किसान र कृषि क्षेत्रका लागि प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । धानको उचित मूल्य तोक्नुपर्ने र प्राकृतिक प्रकोपबाट बाली विनाश भए यसको क्षतिपूर्तिको सुनिश्चितता हुनुपर्ने उहाँको भनाइ छ । धान दिवसका दिनमा मात्रै धान रोप्नुको सार्थकता नभएको उहाँको बताउनुभयो ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।