तिलाचन पाण्डे
तम्घास, असार १५ गते। गुल्मीमा पहिरोले घर पुरिँदा एकै घरका पाँच जनाको मृत्यु भएको छ।
शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण मालिका गाउँपालिका वडा नम्बर ६ अर्जैका भेषबहादुर कामीको घरमा पहिरो खस्दा दुई तले जस्ताले छाएको घर पुरिएको र घरमा रहेका पाँच जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
पहिरोमा परी अन्दाजी ५५ वर्षीय भेषबहादुर कामी, निजकी ४८ वर्षीया श्रीमती सुन्तली कामी, २६ वर्षीया बुहारी सीता विक, ८ वर्षीया नातिनी सपना विक र ८ महिनाकी नातिनी बिपना विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक सुर्यभान चौधरीले जानकारी दिनुभयो।
पाँचै जना पहिरोमा पुरिएको र उनीहरूलाई स्थानीयसहित सुरक्षा निकायको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिनुभयो। घटनाको विस्तृत विवरण आउन बाँकी छ।