• १७ असार २०८१, सोमबार

पुनर्निर्माण भएन भानुको घर

blog

तनहुँ समाचारदाता 

तनहुँ, असार १५ गते । नेपाली साहित्यका आदिकवि तथा राष्ट्रिय विभूति भानुभक्त आचार्य जन्मिएको तनहुँको भानु नगरपालिका–४ स्थित घर शिलान्यास भएको आठ वर्षसम्म पनि पुनर्निर्माण हुन सकेको छैन । २१ वर्षअघि आगलागी हुँदा जलेर नष्ट भएको घर २०७३ साल चैत २२ गते पश्चिमाञ्चल विकास मञ्चले शिलान्यास गरेको थियो तर अझै पुनर्निर्माण हुन सकेको छैन । 

तत्कालीन मुख्यसचिव डा. सोमलाल सुवेदी, पूर्वमुख्यसचिव लीलामणि पौडेल र पश्चिमाञ्चल विकास मञ्चका अध्यक्ष रामकाजी कोनेले घरको शिलान्यास गर्नुभएको थियो । उक्त समयमा ६८ लाख रुपियाँको लागतमा निर्माण हुने भनी शिलान्यास गरिएको भए पनि बजेट विनियोजन नभएकाले पुनर्निर्माणको काम हुन नसकेको आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले जनाएको छ । भानुभक्त जन्मेको घर जहाँ बसेर उहाँले काव्य रचना गर्नुभएको थियो त्यो घर भग्नावशेष अवस्थामा देख्दा देश तथा विदेशबाट भानुको जन्मथलो घुम्न आउने पर्यटक निराश हुने गरेका छन् । 

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने भानुको घर तुरुन्त पुनर्निर्माण गर्नुपर्ने बताउनुहुन्छ । भानु सबैका साझा व्यक्ति भएकाले जिल्लामा रहेका १० वटा पालिकाको आर्थिक सहयोगमा भानुको घर बनाउन सकिने सुझाव न्यौपानेको छ । उहाँले भन्नुभयो, “भानुको घर बनाउन व्यास नगरपालिकाले सहयोग गर्छ, अरू पालिकाले पनि सहयोग गर्नु पर्छ ।” 

भानुको घर झारले ढाकेको छ । घरमा प्रयोग भएका काठका झ्यालढोका डढेलोले खाएको छ । साहित्यिक तीर्थस्थल तथा भाषिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्य राखिएको भए पनि आगलागीले खण्डहर भएको वर्षौं बित्दासम्म पुनर्निर्माणमा ध्यान दिइएको छैन । नेपाली भाषाका धरोहर आदिकवि आचार्यले नेपाली साहित्यिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याए पनि राज्यले उहाँको सम्मान गर्न नसकेकाले घरको पुनर्निर्माणमा ध्यान नपुगेको स्थानीयको भनाइ छ । भानु नगरपालिका–५, पुरनडिहीका भरत पोख्रेलले भानु नगरपालिकाका जनप्रतिनिधिले चासो दिन नसक्दा घर बन्न नसकेको बताउनुभयो । 

पोख्रेलले भन्नुभयो, “सङ्घ तथा प्रदेशबाट बजेट माग गर्ने तर प्राप्त नभएमा नगरपालिका आफैँले बनाउनु पर्छ ।” शिलान्यास भएको आठ वर्षपछि भानुगृहको काम सुरु हुन लागेको समितिका कार्यकारी निर्देशक शङ्कर रानाभाटले जानकारी दिनुभयो । मञ्चकै सक्रियतामा काम पुनः सुरु हुन लागेको उहाँले बताउनुभयो । उहाँका अनुसार टेन्डर गर्ने तयारी छ । 

लामो समयदेखि काम नहुँदा अब समितिकै सक्रियतामा भानुगृह बनाउने छलफल भइरहेका बेला मञ्चका पदाधिकारीले बनाउने प्रतिबद्धता गरेका छन् ।  भानुगृह निर्माणका लागि मञ्चका तर्फबाट आर्थिक सङ्कलनसमेत भएको छ । उहाँले भन्नुभयो, “आठ वर्षअगाडि भानुगृहको लागत ६८ लाख रुपियाँ अनुमान गरिएको थियो । अहिलेको अवस्थामा  करिब एक करोड पाँच लाख पुग्ने अनुमान गरिएको छ ।” मञ्चका तर्फबाट आर्थिक सङ्कलन भइसकेको छ भनेपछि विकास समिति पछाडि हटेको रानाभाटले बताउनुभयो  

यस वर्ष जसरी पनि भानुगृह निर्माणको काम सुरु गर्ने तयारीमा समिति थियो तर अब मञ्चकै सक्रियतामा काम सुरु हुने र मञ्चका तर्फबाट समितिलाई परिपत्र भइसकेको निर्देशक रानाभाटले जानकारी दिनुभयो । २०५७ सालमा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माण गर्नका लागि भानुभक्तको घर एक लाख रुपियाँमा पुनर्निर्माण गर्नुभएको थियो । जङ्गलबिचको खरको छानाको घरमा २०६० साल जेठमा आगलागी भएको थियो जसमा करिब एक लाख २७ हजारको क्षति भएको थियो ।  

त्रिभुवन विश्वविद्यालयका इतिहासविद् डा. रामराज सुवेदीको नेतृत्वमा सम्पन्न भएको घरको उत्खननका क्रममा घडेरीसम्मको जगको अवशेष, मूलढोकाको सँघार, थाम अड्काउने इलम ढुङ्गाको छपनीले पुरिएको अँगेनाको खरानी, चाँदीको बाला, थुर्पीलगायतका फेला पारिएका सबै सामग्री चुँदी रम्घाबेँसी समितिको कार्यालयमा राखिएको छ ।