• १३ साउन २०८१, आइतबार

सिन्धुलीमा बोलेरो दुर्घटना : तीन जनाको मृत्यु, सात घाइते

blog

प्रतिकात्मक तस्बिर

सिन्धुली, वैशाख १६ गते । तीनपाटन गाउँपालिका–१ नक्कलेमा भएको बोलेरो दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य सात जना घाइते भएका छन् । घाइतेको उद्धार गरी वेलघारी स्वास्थ्य चौकीमा लगिएकामा त्यहाँ उपचार हुन नसकेपछि सिन्धुली अस्पतालमा ल्याइएको छ । 

सातजना घाइतेमध्ये कर्णबहादुर विक, तुल्सिराम पहाडी र चालक राजु खत्रीलाई थप उपचारका लागि भर्खरै सिन्धुली अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले जानकारी दिनुभयो । 

अन्य घाइतेको बेलघारी स्वास्थ्य चौकीमा उपचार भइरहेको र उहाँहरूको पनि सिन्धुली अस्पताल ल्याउने तयारी भइरहेको लामाले जानकारी दिनुभयो । 

दुर्घटनामा तीनपाटन गाउँपालिका–९ आम्बोटेका अन्दाजी ५२ वर्षीय रामजी भण्डारी, कमलामाई नगरपालिका–७ घर भएकी रूपा मगर र काले भनिने तीर्थ परियारको घटनास्थलमा नै मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

बलेरोमा सातजना  घाइते र तीन मृतक गरी १० जना सवार रहेको उहाँले बताउनुभयो । सडकबाट तल खोल्सामा गाडी खसेको र गाडीमुनि मानिस थिचिएको छ उहाँको भनाइ छ । दुर्घटनास्थलबाट गाडी निकाल्न नसकिएको उहाँले बताउनुभएको छ । अहिले स्थानीय र सुरक्षाकर्मी मिलेर गाडी निकाल्ने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो ।

सिन्धुलीबाढीबाट तीनपाटन गाउँपालिकाको चकमकेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ०७५६ नंको सिङ्गलक्याप पिकअप बलेरो दुर्घटना भएको थियो । उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको आशङ्का प्रहरीले गरेको छ ।रासस