• १६ असार २०८१, आइतबार

हलमा नेपालीसँगै भारतीय दर्शकको आकर्षण

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, असार १४ गते । नेपाल–भारत सिमानासँग जोडिएको नेपालगन्ज सहरमा सञ्चालनमा रहेका अत्याधुनिक सिनेमा हल (चलचित्र भवन) ले ठुलो सङ्ख्यामा भारतीय दर्शकलाई आकर्षित गरिरहेका छन् । नेपाली र भारतीय दुवै दर्शकलाई लक्षित गरेर नेपालगन्जमा ठुलो लगानीमा निर्माण गरिएका चलचित्र भवन सीमापारिका विभिन्न जिल्लाका भारतीय दर्शकका लागि मनोरञ्जनको प्रमुख स्थान बन्दै गएको छ ।

 नेपालगन्जमा सञ्चालनमा रहेका वागेश्वरी क्युएफएक्स र सिने रोयलले नेपालीसँगै ठुलो सङ्ख्यामा भारतीय नागरिकलाई तान्न सफल भएको वागेश्वरी क्युएफएक्स सिनेमा हलका सञ्चालक राजेश श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार सीमापारि भारतको लखनउयता सो प्रकारका अत्याधुनिक चलचित्र भवन नहुँदा भारतीय चलचित्र हेर्न आउने गरेका छन् । पछिल्लो समयमा नेपालगन्जका दुई वटा अत्याधुनिक चलचित्र भवनले भारतीय दर्शकलाई आकर्षित गर्न सफल भएको जनाउँदै नयाँ भारतीय चलचित्र आउनेबित्तिकै धेरै सङ्ख्यामा भारतीय मनोरञ्जन गर्न आउने गरेको सिने रोयलका सञ्चालक डा. राहुल थापाले बताउनुभयो । उहाँले नेपाली चलचित्रप्रति नेपाली दर्शकको चासो र आकर्षण बढ्दै गएकाले पनि चलचित्र व्यवसायलाई लाभ भइरहेको उहाँको भनाइ छ । 

भारतीय वा नेपाली जुनसुकै भाषामा पनि राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने हो भने दर्शक आफैँ हलतर्फ ठुलो सङ्ख्यामा आउने विगत केही समयको अवस्थाले पुष्टि गरेको छ । कोभिड महामारीका कारण केही वर्षअघि नेपालगन्जका चलचित्र हल सुनसान भएको र सञ्चालनमा आए पनि दर्शकको उपस्थिति कम रहेकोमा हाल आएर दर्शकको सङ्ख्या बढेपछि आफूहरू उत्साहित भएको हल सञ्चालकको भनाइ छ ।