• १३ साउन २०८१, आइतबार

तीन दिन देशभर पानी पर्ने

blog

पानी परेपछि छाता ओढेर नयाँ बानेश्वरमा सार्वजनिक सवारी साधनको प्रतिक्षामा रहेका यात्रु । तस्बिर: केशब गुरुङ

काठमाडौं, वैशाख १६ गते। शुक्रबार दिउँसो मुलुकभर वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार सुरु भएको वर्षा आइतबारसम्म चल्नेछ। 

महाशाखाले तीन दिन देशभर चट्याङसहित  वर्षाको सम्भावना रहेको जनाएको हो। पश्चिमी न्यूनचापीय वायु र भारतको बिहार क्षेत्रको वरिपरी विकास भएको न्यूनचापीय प्रणाली आइतबारसम्म सक्रिय रहनेछ। उक्त प्रणालीको असरले देशभर बदली भएर पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद् हिरा भट्टराईले बताउनुभयो। 

मौसमविद् भट्टराईका अनुसार अहिले काठमाडौं उपत्यकासहित बागमती प्रदेशका सबै जिल्ला, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा  पानी परिरहेको छ। 


काठमाडौं उपत्यकामा अहिले ४० मिलिलिटरको दरले पानी परिरहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लामा २५ मिलिलिटरको दरले पानी परिहरको छ। काठमाडौं उपत्यकामा यही अनुपातमा पानी पर्नेक्रम अझै दुई घण्टा चल्ने उहाँको भनाइ छ। 

पश्चिमी क्षेत्रमा पनि मौसममा बदली भएर पानी पर्ने सम्भावना रहेको उहाँले बताउनुभएको छ। हाल यो प्रणाली पूर्वतिर सर्दै गइरहेको मौसमविद् भट्टराईको भनाइ छ।

आगामी हप्ता पनि यो प्रणाली विकास हुने सम्भावना रहेकाले यो साताभर मौसम बदली भएर पानी पर्ने सम्भावना रहेको उहाँको भनाइ छ।