• १६ असार २०८१, आइतबार

निःशुल्क सेवाको सूचना स्पष्ट टाँस्न स्वास्थ्य संस्थालाई निर्देशन

blog

फाइल तस्बिर

काठमाडौँ, असार १३ गते। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निःशुल्क स्वास्थ्य सेवाको सूचना स्पष्ट र सजिलै बुझ्ने गरी टाँस्न सबै स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। 

मन्त्रालयका प्रवक्त डा. प्रकाश बुढाथोकीले विज्ञप्ति जारी गर्दै यस्तो निर्देशन दिनुभएको हो।  

उहाँभन्नुहुन्छ, “स्वास्थ्य संस्थाले आफ्नो मुख्य प्रवेशद्वार, टिकट काउन्टर, रेडियो इमेजिङ विभाग, प्रयोगशाला विभाग, ओपिडी कक्ष र अन्तरङ्ग विभाग अगाडि ठूला अक्षरमा निःशुल्क सेवाको स्पष्ट जानकारी देखिने गरी सूचना टास्नुपर्छ। ”

 सरकारले स्वास्थ्य संस्थाहरुलाई १० प्रतिशत शय्यामा निःशुल्क छ्ट्याउनु पर्ने व्यवस्था गरेको छ। 

डा. बुढाथोकीका अनुसार निःशुल्क उपचार गरिएका बिरामीको विवरण स्वास्थ्य संस्थाको वेबसाइटमा अद्यावधिक गर्नुहुन, सेवाग्राहीको फोटो सहितको प्रगति प्रतिवेदन हरेक हप्ता  मन्त्रालयमा पेस गर्न मन्त्रालयले सम्बन्धित निकायलाई निर्देशन दिएको छ। 

यसले निःशुल्क स्वास्थ्य सेवाको पारदर्शिता र प्रभावकारिता बढ्नुका साथै गरिब तथा विपन्न नागरिकलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रप्त गर्न सहजीकरण गर्ने तथा नेपालको स्वास्थ्य सेवा क्षेत्रमा महत्त्वपूर्ण सुधार ल्याउने अपेक्षा मन्त्रालयले गरेको छ। 

निर्देशन पालन नगर्ने स्वास्थ्य संस्थालाई कानुनको दायरामा ल्याई कारबाही गर्नुका साथै सेवा सम्झौदा रद्द तथा इजाजत अनुमति र नवीकरण रद्द सम्मको कारवाही गर्ने मन्त्रालयले  चेतावनी दिएको छ।