• १० मंसिर २०८१, सोमबार

बिदेसिनु बाध्यता कि रहर

blog

युवा बाहिर गए । देशमा बुढाबुढी र बालबालिका मात्रै भए । त्यसैले गाउँघरमा मर्दापर्दा, खेतीकिसानी गर्दा वा अन्य सामाजिक सांस्कृतिक क्रियाकलापमा युवाको उपस्थिति न्यून हुँदै गयो । विद्यालयमा ११/१२ कक्षामा अध्ययन गर्ने विद्यार्थीमध्ये छात्राको सङ्ख्या धेरै र छात्रको सङ्ख्या थोरै पनि भएको छ । यी समस्याको कारण खोज्ने र समाधान पहिल्याउने कार्य हुन सकेको छैन । सतहमा यसको मुख्य दुइटा कारण सार्वजनिक हुँदै आएका छन् । पहिलो हो, युवामा विदेश मोह बढ्यो, नेपालमा केही हुँदैन, स्वदेशमा बसेर के गर्ने भन्ने मनोविज्ञान । 

दोस्रो, युवाले विदेशमा गएर जोखिमयुक्त श्रम गर्ने रहर होइन, स्वदेशमा रोजगारीका अवसर नभएकाले यो बाध्यता आइलागेको हो । सार्वजनिक हुँदै आएका यी दुई परस्पर विरोधी कारणमा सत्य के हो ? यसको अध्ययन अनुसन्धान गर्ने जिम्मेवारी सरोकारवालाको होइन र !

श्रमका लागि मात्र होइन, अध्ययनका लागि विदेश जाने युवाको सङ्ख्या पनि उल्लेख्य नै छ । अध्ययनका लागि मात्र युवा बिदेसिएका छैनन्, नेपालको अर्बौं रकम पनि विदेश गइरहेको छ । विदेशमा गरेको अध्ययनले युवाको गुणस्तर शतप्रतिशत नै राम्रो भएको छ त ? यसको मापन वा चेकजाँच नेपालको कुन निकायले कसरी गर्दै आएको छ भन्ने कुरा पनि जानकारीमा आउन सकेको छैन । 

अध्ययनका लागि बाहिर गएका युवामा सय जनामा ९० जनाभन्दा बढी कमाउँदै पढ्दै गर्ने हुन् । कामका लागि समय दिनु पर्दा अध्ययनका लागि युवाले कति समय कसरी व्यवस्थापन गरिरहेका छन् ? कसले अनुगमन गर्ने ? अध्ययनका लागि उनीहरूले पर्याप्त समय दिएका छन् ? अनि उनीहरूले प्राप्त गर्नुपर्ने ज्ञान, सिप, क्षमता, धारणा, व्यवहार र विचार निर्माणका लागि त्यो अध्ययन पर्याप्त छ ? जस्ता प्रश्नको जवाफ कसले खोज्ने ? यस्ता प्रश्नको उत्तर अब खोज्नु आवश्यक छ । 

नेपालमा शिक्षित बेरोजगारी बढेको, हातमा प्रमाणपत्र हुने तर बजारमा त्यो बिक्री नहुने वा काम पाउन नसक्ने अवस्थाले युवालाई विदेश जानका लागि बाध्य बनाइरहेको तथ्य एकातिर छ भने अर्कातिर विदेश गएर काम गर्दै अध्ययन गरेर प्राप्त गरेको प्रमाणपत्रको बजार कस्तो छ ? विदेशमा प्राप्त प्रमाणपत्रले युवालाई विदेश वा स्वदेशमा रोजगारी प्राप्त गर्न सहज भएको छ ? छ भने कति जनाले बाहिर गएर अध्ययन पूरा गरे ? तीमध्ये स्वदेश तथा विदेशमा कति जनाले सम्मानित काम पाए र आफ्नो ज्ञान, सिप क्षमताको प्रयोग गरे वा गरिरहेका छन् ? यस्ता प्रश्नको पनि अब लेखाजोखा 

राख्नु पर्छ । युवालाई नेपालमै श्रम गरेर बस्ने वातावरण कसरी निर्माण गर्न सकिन्छ ? हाम्रा प्रयास कस्ता छन् ? के के कुरामा हामीले नीतिगत सुधार गरेका छौँ, कुन कुन ठाउँमा रोजगारीका अवसर सिर्जना गरिरहेका छौँ ? कामका लागि दरखास्त माग गर्दा कुन कुन ठाउँमा दरखास्त दिन युवा आएनन् ? माग गरिएको सङ्ख्या अनुसार पनि दरखास्त नपुग्ने अवस्था कहाँ कहाँ आयो ? यस्ता जानकारी पनि सुन्नमा आएको छैन । 

सरकारी सेवामा थोरै सङ्ख्यामा कर्मचारी माग गर्दा हजारौँ युवा लाइनमा खडा भएका तस्बिर सार्वजनिक हुँदै आएका छन् । नेपालमै भएका वा नेपालमै रहेका युवाको व्यवस्थापनको योजना बनाएर तिनलाई रोजगारी सिर्जना गरौँ । यो नै पहिलो काम हुनु पर्छ । नेपालमै रहेका युवालाई स्वरोजगार बनाउन सक्यौँ भने मात्र विदेश जाने युवाको सङ्ख्या क्रमशः घट्दै जाने छ र सरकारले युवाका लागि योजनाबद्ध कामको थालनी गरेको विश्वास पनि युवामा क्रमशः बढ्दै जाने छ ।

युवा विदेश गएको चिन्ता गरिन्छ तर विदेश गएका युवाले पठाएको विप्रेषणले मुलुकको अर्थतन्त्रलाई पनि सघाइरहेको अवस्था छ । यस अवस्थालाई परिवर्तन गर्दै सबैभन्दा पहिले युवाका लागि रोजगारी सिर्जना गर्नु पर्छ । वैदेशिक रोजगारीमा गएका युवाले पठाएको विप्रेषणलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने नीति, कानुन तथा वातावरण निर्माण गर्नु पर्छ । अनि विदेशमा सिकेको ज्ञान, सिप, क्षमता र स्रोतसाधनलाई नेपालमै बसेर योगदान गर्ने विश्वास निर्माण हुँदै जान्छ । युवा स्वदेशमै बस्ने वातावरण बन्छ । 

यहाँ केही हुँदैन ? यहाँ बसेर के गर्ने ? बाहिर जान रहर होइन, बाध्यता हो भन्ने मनोविज्ञानमा अब परिवर्तन ल्याउनु पर्छ । यसका लागि छलफल गर्नु पर्छ । एसइईलगत्तै सोही परीक्षाको प्रवेशपत्रको आधारमा अनिवार्य आधारभूत सुरक्षा तालिमको व्यवस्थापनका लागि कति खर्च लाग्छ ? त्यो खर्च कहाँ कहाँबाट प्राप्त गर्न सकिन्छ ? आवश्यक बजेट र कार्ययोजनासहित तालिम सञ्चालन गर्नु पर्छ । यसरी वार्षिक रूपमा तीन लाखदेखि पाँच लाख युवालाई आआफ्नै स्थानीय तहमा आधारभूत तालिम सञ्चालन गर्नु पर्छ । तालिम प्राप्त युवामध्ये नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका लागि आवश्यक जनशक्ति पनि छनोट गर्न सकिन्छ । 

अन्य तालिम प्राप्त युवालाई स्थानीय तहमा गाउँ तथा नगरप्रहरीका रूपमा, विपत् व्यवस्थापन टोली, टोल सुधार सहजकर्ता र सामुदायिक तथा निजी विद्यालयमा स्वयंसेवक, राष्ट्रिय गौरवका आयोजनाको सुरक्षा र अनुगमन, सडकमा ट्राफिक व्यवस्थापनलगायत सामुदायिक वन, राष्ट्रिय वन रक्षकका रूपमा काम लगाउन सकिन्छ । यसले एकातिर युवालाई निराशाबाट बाहिर ल्याउन योगदान गर्ने छ भने देश र जनताप्रति माया, ममता बढाउँदै एउटा असल अनुशासित नागरिकका रूपमा केही न केही गरेर खान सक्ने नागरिकका रूपमा स्थापित गराउँछ । तालिमले शारीरिक मात्रै होइन, मानसिक स्वास्थ्य पनि ठिक राख्न मद्दत गर्छ । साथै, युवाले गर्न सक्ने कामका क्षेत्र के के हुन ? स्थानीय ज्ञान, सिप, क्षमता र स्रोत परिचालनसम्बन्धी सिप तथा खेलकुद, कला, साहित्य, संस्कृतिसम्बन्धी विषयमा छलफल गर्न सघाउँछ । 

आधारभूत सुरक्षा तालिम प्राप्त युवालाई दुव्र्यसनीबाट मुक्त भई स्वस्थ, तन्दुरुस्त नागरिकका रूपमा जीवन बिताउन ठुलो योगदान गर्ने छ । यो कामका लागि स्रोत कसरी सिर्जना गर्ने भन्ने प्रश्न महत्वपूर्ण छ तर राज्यले साँच्चै चाहेमा स्रोतको खोजी गर्न सकिन्छ । यसका लागि बजेटमै केही प्रतिशत रकम छुट्ट्उन सकिन्छ । प्रदेश तथा स्थानीय तहमा क्षमता विकासका लागि तय गरिएका विभिन्न तालिमका लागि विनियोजित रकमको केही प्रतिशत रकम खर्च गर्न सकिन्छ । युवा व्यवस्थापनका लागि यो कोसेढुङ्गा नै हुन सक्छ । 

रोजगारीका अवसर सिर्जना गरी युवालाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासको वातावरण तयार गर्नु पर्छ । यसले युवा आफ्नो श्रमसिप, क्षमताको प्रयोग स्वदेशमै लगाउन दत्तचित्त हुन्छन् । अनि मुलुक समृद्ध र सुखी बन्न सक्छ । यसका लागि योजनाबद्ध कामको थालनी भने हुनु पर्छ । खेलकुद क्षेत्रलाई पनि क्रमशः विकसित बनाउँदै लैजानु पर्छ । गरेर सिक्ने शिक्षा प्रणालीलाई व्यवस्थित बनाउँदै शिक्षा प्रणालीलाई श्रम र सिपसँग जोड्दै जीवन उपयोगी शिक्षा प्रणालीमा जानु पर्छ । यस्ता विषयमा राष्ट्रव्यापी बहसको थालनी हुनु पर्छ ।