• ५ असोज २०८१, शनिबार

कृषि, स्वास्थ्य, शिक्षा र पूर्वाधार प्राथमिकतामा

blog

कर्णाली प्रदेश ब्युरो

सुर्खेत, असार १२ गते । यही असार १० भित्र स्थानीय तहहरूले बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने प्रावधान अनुरूप कर्णाली प्रदेशका विभिन्न जिल्लाका नगरपालिका र गाउँपालिकाहरूले नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेका छन् । सोमबार कर्णालीका विभिन्न स्थानीय तहमध्ये धेरै जसोले आगामी आर्थिक वर्षका लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । प्रस्तुत गरेका पालिकाहरूले मुख्यतः शिक्षा, स्वास्थ्य, पुनर्निर्माण र कृषि तथा आयआर्जनलाई प्राथमिकता दिएका छन् । 

वीरेन्द्रनगरको बजेट तीन अर्ब ५९ करोड

सुर्खेत समाचारदाताका अनुसार कर्णाली प्रदेशको मुकाम रहेको वीरेन्द्रनगर नगरपालिकाले तीन अर्ब ५९ करोड रुपियाँको बजेट प्रस्तुत गरेको छ । सोमबार नगर उपप्रमुख नीलकण्ठ खनालले आव २०८१/८२ का लागि तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । 

सो बजेट व्यवस्थापनका लागि सङ्घीय वित्तीय समानीकरण अनुदान २४ करोड १२ लाख, सङ्घीय ससर्त अनुदान एक अर्ब ६९ करोड २८ लाख ५१ हजार, सङ्घीय राजस्व बाँडफाँट १८ करोड ९८ लाख ८१ हजार, सङ्घीय सरकार विशेष अनुदान पुँजीगत एक करोड ५० लाख रुपियाँ बजेट प्रस्तुत गरिएको छ । 

त्यस्तै सङ्घीय सरकार समपूरक अनुदान पुँजीगत एक करोड, रोयल्टी आठ लाख १८ हजार, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान दुई करोड ९९ लाख १४ हजार, प्रदेश ससर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजस्व बाँडफाँट ६४ लाख ७५ हजार व्यवस्थापन गरिने जनाइएको छ । घरजग्गा, मनोरञ्जन र रजिस्ट्रेसनबाट १४ करोड ३६ लाख ५८ हजार, दहत्तर बहत्तर शुल्क दुई करोड ५० लाख, नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख चार हजार, आव २०८०/८१ मा खर्च नभई मौज्दात रहने रकम १८ करोड ७४ लाख २८ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड व्यवस्थापन गरिने नगर उपप्रमुख खनालले बताउनुभयो । 

आगामी आवमा कार्यालय सञ्चालन र तलब भत्तामा ३१ करोड ५० लाख खर्च हुने जनाइएको छ । खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्धन कार्यक्रम, म्याचिङ फन्ड (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १० करोड, वडास्तरीय योजना तथा कार्यव्रmमका लागि १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यव्रmमका लागि एक करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि आठ करोड विनियोजन गरिएको छ । 

यसअघि नगरप्रमुख मोहनमाया ढकालले नगरको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रविधिमैत्री नगर बनाउने बताउनुभयो । उहाँले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका एक मात्र सुगम नगरपालिका भएको र राजस्व, पूर्वाधार तथा जनसङ्ख्याका आधारमा उपमहानगरपालिका सरह भएको बताउनुभयो । उहाँले वीरेन्द्रनगरलाई उपमहानगर बनाउन सबै मापदण्ड पूरा भएको हुँदा यसलाई उपमहानगरपालिकामा स्तरोन्नति गर्न कर्णाली प्रदेश सरकारमार्फत नेपाल सरकारलाई आग्रह गर्नुभयो ।

यस्तै खानेपानी दिगो व्यवस्थापन गर्न राष्ट्रिय गौरवको आयोजना भेरी पम्पिङ खानेपानी आयोजना तीन वर्षमा सम्पन्न गर्ने गरी काम अघि बढाइएको जनाइएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई राजधानीकेन्द्रित पूर्वाधार विकास आयोजना लागु गरिने, वीरेन्द्रनगरका मुख्य बजारमा पार्किङ व्यवस्थापन, घण्टाघर, पार्क निर्माण र घण्टाघर पश्चिममा खुला पार्क निर्माण गरिने भएको छ । 

घण्टाघर दक्षिणमा पार्क निर्माण यसै वर्ष प्रारम्भ गरी व्यवस्थित सहर निर्माण गरिने, नगरपालिकाका मुख्य सडकको फुटपाथ अतिक्रमण हटाई व्यवस्थित फुटपाथ निर्माण गरिने छ । हालको सिटी बसपार्क पश्चिमपट्टि घेराबार गरेको खुला ठाउँलाई पार्किङ निर्माण गरी बसपार्क विस्तार गरिने छ । वीरेन्द्रनगर मुख्य बजार ट्राफिक व्यवस्थापनका लागि मङ्गलगढी चोकमा आकासे पुल निर्माण अगाडि बढाइने उल्लेख छ । जिल्लाको पञ्चपुरी नगरपालिका, लेकबेँसी नगरपालिकालगायतले पनि बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेका जनाइएको छ । 

हुम्लामा कृषि र पर्यटनलाई प्राथमिकता

हुम्ला समाचारदाताका अनुसार सोमबार प्रस्तुत भएको बजेट तथा कार्यक्रममा हुम्लाका गाउँपालिकाले कृषि, पर्यटन र आयआर्जनलाई प्राथमिकता दिएका छन् । सिमकोट गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले आगामी आवको बजेटले क्षेत्रगत रूपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बताउनुभयो ।

पालिका उपाध्यक्ष सुशीला रोकाया भामले नवाैँ गाउँ सभामा पेस गर्नुभएको बजेट तथा कार्यक्रममा ४९ करोड २८ लाख ४५ हजार रुपियाँ रहेको छ । यसलाई आयतर्फ आन्तरिक आय एक करोड ७९ लाख ५० हजार, राजस्व बाँडफाँटबाट नौ करोड ३२ लाख ४९ हजार ३४५, सङ्घीय सरकारबाट अन्तरसरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट वित्तीय हस्तान्तरण पाँच करोड ९१ लाख २४ हजार रहेको छ । 

अनुमानित बजेटलाई चालुतर्फ ३२ करोड ४८ लाख २० हजार विनियोजन गरेर ६५.९० प्रतिशत र पुँजीगततर्फ १६ करोड ४८ लाख २५ हजार विनियोजित गरेर ३४.१० प्रतिशत बजेट विनियोजन गरिएको छ । बजेटलाई क्षेत्रगत कार्यव्रmम तयार पारिएको छ ।

यता खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले बजेट तथा कार्यक्रमले कृषि, पर्यटन र पूर्वाधार क्षेत्रलाई प्राथमिकतामा राखेको बताउँदै सभाबाट ३६ करोड ९२ लाख ७६ हजार रुपियाँको बजेट पारित भएको बताउनुभयो ।

आगामी आवको बजेटमा चालुतर्फ २५ करोड २३ लाख ४० हजार र पुँजीगतमा १२ करोड ६९ लाख ३६ हजार बजेट विनियोजन गरिएको छ । यसको स्रोतमा सङ्घ, प्रदेश र केही अंश आन्तरिक स्रोतलाई मानिएकोे छ । यस्तै शिक्षा, स्वास्थ्य लक्षित वर्ग, कृषि क्षेत्रलाई प्राथमिकता दिई ताँजाकोट गाउँपालिकाले गाउँ सभामा बजेट पेस गरेको छ । गाउँपालिकाका अध्यक्ष लालकेश जैसीका अनुसार ३७ करोड रुपियाँ रहेको बजेटको स्रोत पनि सङ्घ, प्रदेश र आन्तरिक राजस्वलाई मानिएको छ । 

सर्केगाड गाउँपालिकाले गौरवका योजना, शिक्षा, स्वास्थ्य, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । ४७ लाख ६७ हजार २२ हजार रुपियाँको बजेट गाउँपालिकाले ल्याएको छ । त्यस्तै १३ बुँदे नीतिसमेत गाउँ सभाले पारित गरेको छ । 

यहाँको नाम्खा गाउँपालिकाले ३५ करोड रुपियाँको बजेट सभाबाट पारित गरेको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर लामाले बताउनुभयो । बजेट गाउँपालिकाका उपाध्यक्ष तकदिर लामाले प्रस्तुत गर्नुभएको थियो । रोजगार, उत्पादन, कृषि, आयआर्जन र पूर्वाधार क्षेत्रलाई बजेटले प्राथमिकतामा राखेको छ । 

नीति कार्यक्रम सार्वजनिक 

खलङ्गा समाचारदाताका अनुसार जाजरकोटका सात वटै पालिकाले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् । 

सदरमुकाम खलङ्गास्थित भेरी नगरपालिकाले ८८ करोड ५३ लाख १३ हजार ३८१ रुपियाँको अनुमानित बजेट ल्याएको छ । पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र भूकम्पबाट प्रभावित जनताका दैनिक जनजीवन नियमित र सहज तुल्याउने, भूकम्पले क्षति गरेका भौतिक संरचना पुनर्निर्माण गर्ने, शिक्षा र स्वास्थ्य क्षेत्रको सेवा प्रभावकारी तुल्याउने जनाइएको छ । कृषि क्षेत्रमा रोजगारी सिर्जना गरी उत्पादन तथा उत्पादकत्व वृद्धि गर्ने नीति तथा कार्यव्रmम ल्याएको नगरपालिकाका उपप्रमुख सीता जैसीले बताउनुभयो । 

नलगाड नगरपालिकाले आगामी आवका लागि नीति कार्यक्रमसहित ६४ करोड ९७ लाख ६२ हजार ४६ रुपियाँ अनुमानित बजेट सार्वजनिक गरेको छ । बजेटले पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, विपत् व्यवस्थापनलाई प्राथमिकता दिएको नगरपालिकामन प्रमुख डम्करबहादुर रावतले जनाउनुभयो । शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गरी जनताको जीवनस्तर परिवर्तन गर्ने विश्वास लिएको उहाँको भनाइ छ । 

त्यसै गरी छेडागाड नगरपालिकाका प्रमुख रत्नबहादुर खडकाले आगामी आवका लागि ७९ करोड ५१ लाख ९५ हजार रुपियाँको अनुमानित बजेट सभासमक्ष पेस गर्नुभएको छ । भौगोलिक विकटतासँगै सम्भावनाको आधार बोकेको नगरपालिकालाई समृद्ध बनाउन पूर्वाधार विकास, कृषि, स्वास्थ्य, शिक्षा, महिलाको क्षमता विकास, आर्थिक उत्पादनमा जोड दिने लक्ष्य लिइएको छ ।

धार्मिक तथा पर्यटकीय क्षेत्रलाई आवश्यक बजेट व्यवस्थापन गरी पर्यटकीय गन्तव्यका रूपमा परिचित गरिने प्रमुख खड्काले बताउनुभयो । यस्तै शिवालय गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष शेरबहादुर शाहीले ४३ करोड ९४ लाख दुई हजार ६४७ रुपियाँको अनुमानित बजेटसहित नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभयो । यस गाउँपालिकाले पूर्वाधार, कृषि, पशुपालन स्वास्थ्य, शिक्षालाई प्राथमिकता दिएर बजेट ल्याएको छ ।

गाउँपालिकाले तयार गरेको बजेटले गरिब, विपन्न, आर्थिक अवस्था कमजोर सीमान्तकृत समुदायको भविष्य सुधार गर्ने दाबी गरेको छ । सात वटै पालिकाले विशेष गरी पूर्वाधार, कृषि, स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएका छन् ।

दुईको बजेट, दुईको नीति

मुगु समाचारदाताका अनुसार चार वटा स्थानीय तहमध्ये दुई वटाले मात्र आव २०८१÷८२ को बजेट सार्वजनिक गरेका छन् । जिल्लाको पश्चिमी भेगमा पर्ने सोरु गाउँपालिकाले आव २०८१/८२ का लागि ५३ करोड ५१ लाख रुपियाँको वजेट प्रस्तुत गरेको छ । 

त्यसै गरी मुगुम कार्मारोङ गाउँपालिकाले पुँजीगततर्फ सात करोड १९ लाख ४३ हजार र चालुतर्फ २६ करोड १७ लाख ३८ हजार गरी कुल ४१ करोड ५९ रुपियाँको बजेट सार्वजनिक गरेको छ । 

गाउँपालिकाको १४ औँ गाउँ सभामा उपाध्यक्ष केशरबहादुर शाहीले आगामी आवका लागि कुल ५३ करोड ६१ लाख दुई हजार ९६ रुपियाँको बजेट प्रस्तुत गर्नुभएको हो । यस पालिकाले अघिल्लो चालु आव २०८०/८१ मा ४६ करोड ४६ लाख ४७ हजार रुपियाँको बजेट प्रस्तुत गरेको थियो । अघिल्लो वर्षको तुलनामा यो पटक पालिकाले आठ करोड बजेट बढी प्रस्ताव गरेको छ । 

प्रस्तावित बजेटमध्ये पुँजीगत खर्चतर्फ २२ करोड ८४ लाख ७० हजार र चालु खर्चतर्फ ३० करोड ६६ लाख ३२ हजार ९६ रुपियाँ रहेको उपाध्यक्ष शाहीले जानकारी दिनुभयो । यता जिल्लाका दुई पालिका छायानाथ रारा नगरपालिका र खत्याड गाउँपालिका नीति तथा कार्यक्रमको छलफलमा जुटेका छन् ।

नगर बसदेखि शिक्षा र स्वास्थ्य 

डोल्पा समाचारदाताका अनुसार हिमाली जिल्ला डोल्पाका दुई नगरपालिकासहित छ गाउँपालिकाले आव २०८१/८२ का लागि बजेट नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् । नगरपालिका र गाउँपालिकाले सम्बन्धित सभाबाट पारित गरेका बजेट नीति तथा कार्यक्रममा नगर बस सञ्चालन गर्ने र  शिक्षा, स्वास्थ्य तथा नागरिकलाई आधुनिक सुविधासम्पन्न शौचालय निर्माण, स्वच्छ खानेपानी व्यवस्थापनमा जोड दिएर कार्यक्रम ल्याएका छन् ।

ठुलीभेरी नगरपालिकाले आव २०८१/८२ का लागि ४८ करोड दुई लाख ४८ हजार रुपियाँ बराबरको बजेट ल्याएको छ । यसमा चालु खर्चतर्फ २९ करोड ८५ लाख ३४ हजार बजेट छुट्याइएको छ भने पुँजीगततर्फ १८ करोड १७ लाख १४ हजार बजेट छ । ठुलीभेरीले पहिलो पटक नगरवासीलाई राहत हुने गरी नगरबस सञ्चालनका लागि बजेट विनियोजन गरेसँगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ ।

१३ औँ नगर सभालाई सम्बोधन गर्दै नगरप्रमुख स्वर्णकुमार बुढाले नागरिकले स्थानीय सरकार भएको प्रत्यक्ष अनुभूति गर्ने गरी नगरवासीले सस्तो भाडामा यात्रा गर्न पाऊन्, अशक्त र आर्थिक विपन्न भएकाले निःशुल्क यात्रा गर्न सकून् भनेर नगरबस सञ्चालनमा ल्याउने गरी बजेट ल्याइएको बताउनुभयो । 

यसै गरी त्रिपुरासुन्दरी नगरपालिकाले ११ औँ नगर सभामार्फत ल्याएको बजेट ५५ करोड २१ लाख ४३ हजार २२७ रुपियाँको छ । कुल बजेटमध्ये १६ करोड ८१ लाख पुँजीगत खर्चतर्फ र ४० करोड ३८ लाख ४३ हजार २२७ चालु खर्चतर्फ छ ।

पुँजीगतभन्दा चालु खर्चलाई प्राथमिकतामा राख्दै त्रिपुरासुन्दरले स्वच्छ खानेपानी तथा सुविधायुक्त ‘एक घर एक शौचालय’ निर्माणमा जोड दिने बताएको छ । स्वास्थ्य र शिक्षालाई उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरिएको नगरप्रमुख जनचन्द्र रोकायाले बताउनुभयो । यस्तै काइके गाउँपालिकाले १४ औँ गाउँ सभाबाट ४० करोड २८ लाख ५३ हजार ५५२ बराबरको बजेट ल्याएको छ । 

त्यसमध्ये चालुतर्फ २३ करोड ७९ लाख ५३ हजार ५५२ रुपियाँ छ । यो कुल बजेटको ५९.०६ प्रतिशत हो । काइके गाउँपालिकाले विगतमा झैँ नियमित जनजीविकाका सवालमा र नागरिकको जीवनस्तर माथि उकास्ने गरी बजेट तथा कार्यक्रम ल्याएको पालिकाका अध्यक्ष अङ्गत रानाले बताउनुभयो । 

पुनर्निर्माणलाई प्राथमिकता

मुसीकोट समाचारदाताका अनुसार रुकुमपश्चिमका छ वटै स्थानीय तहले आगामी आव २०८१/८२ का लागि कृषि, शिक्षा, पुनर्निर्माण र स्वरोजगारलाई प्राथमिकता दिएर नीति, कार्यक्रम तथा बजेट पेस गरेका छन् । आठबिसकोट नगरपालिकाले ७२ करोड ७६ लाख ६१ हजार ३१ रुपियाँको बजेट तथा कार्यक्रम नगर सभामा पेस गरेको छ । उपप्रमुख धनकुमारी शाहीले भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकता दिएर बजेट ल्याइएको जानकारी दिनुभयो । 

‘सुरक्षित आवास निर्माण ः नगरवासीको योगदान’ भन्ने मान्यताका साथ पुनर्निर्माणका काममा सबै निकायलाई सहयोग लिइने नीतिसहितका कार्यक्रम ल्याइएको हो । चौरजहारी नगरपालिकाले ‘समृद्ध चौरजहारी ः जनउत्तरदायी सरकार’ भन्ने सोच पूरा गर्न उत्पादन र स्वरोजगारलाई प्राथमिकता दिएर बजेट ल्याएको छ । नगरप्रमुख पुष्प वादीका अनुसार गरिब घरपरिवार तथा वास्तविक किसान पहिचान गर्ने, पर्यटनका लागि पूर्वाधार निर्माण गर्ने, विद्यार्थीलाई आयआर्जन र श्रमप्रति आस्था बढाउन शिक्षासँग श्रम कार्यक्रम सञ्चालन गरिने बताउनुभयो ।

सो सभामा ६० करोड ५७ लाख १६ हजार ९४७ रुपियाँको बजेट पेस गरिएको उपप्रमुख ईश्वरी शर्मा बिएमले जानकारी दिनुभयो । मुसीकोट नगरपालिकाको १४ औँ नगर सभमा उपप्रमुख विमलकुमार पुनले ८४ करोड ७१ लाख ७८ हजार ९८६ रुपियाँ बराबरको अनुमानित बजेट पेस गर्नुभएको छ । त्रिवेणी गाउँपालिकाले ५८ करोड २३ लाख १३ हजारको बजेट ल्याएको उपाध्यक्ष राजकुमारी रेउलेले जानकारी दिनुभयो । गाउँपालिकाले पोषण सुधारका लागि गर्भवती महिलाको घरमा हरियो झन्डा राख्ने र ‘आमालाई खाना तथा शिशुलाई नाना’ कार्यक्रमलाई प्राथमिकतामा दिइने योजनालाई नीति कार्यक्रममा समावेश गरेको छ ।

गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले सहिदको नाममा सडक नामकरण गर्ने, पार्क स्तम्भ खडा गरी इतिहास संरक्षण गर्ने, सहिदका सन्तानलाई शिक्षा र रोजगारीका अवसरमा प्राथमिकता दिने गरेर कार्यक्रम ल्याइएको बताउनुभयो । सानीभेरी गाउँपालिकाले स्थानीय सञ्चित कोषबाट ५१ करोड २८ लाख ५३ हजार ५०१ रुपियाँ र विभिन्न गैरसरकारी संस्थाको १५ करोड ५० लाख ३३ हजार ५५५ रुपियाँ गरेर जम्मा ६६ करोड ८८ लाख ८७ हजार ५६ रुपियाँको अनुमानित बजेट ल्याएको छ ।

यस गाउँपालिकाले कृषि, शिक्षा, स्वास्थ्य र पर्यटनलाई प्राथमिकता दिएर बजेट तथा कार्यक्रम ल्याएको छ । बाँफीकोट गाउँपालिकाले आर्थिक विकासलाई प्राथमिकता दिँदै नीति कार्यक्रम तथा बजेट ल्याएको छ । गाउँ सभामा उपााध्यक्ष ताराकुमारी बुढाले ५१ करोड ६९ लाख ८४ हजार रुपियाँको बजेट पेस गर्नुभएको छ ।