• १३ असोज २०८१, आइतबार

द्वन्द्व व्यवस्थापनको चुरो

blog

सङ्गठनमा विभिन्न व्यक्ति तथा समूहबिच विविध कारणले सिर्जना हुने असमझदारी, झगडा, मनोमालिन्य, वादविवाद तथा मनमुटावले द्वन्द्व सिर्जना भई सङ्गठनको कामकारबाहीमा असर परिरहेको हुन्छ । सङ्गठनमा देखा पर्ने द्वन्द्व यसै कारणले हुन्छ भन्ने छैन । कतिपय अवस्थामा सङ्गठनको कार्यशैलीबाट द्वन्द्व तथा मनमुटाव सिर्जना हुन्छ भने कतिपय अवस्थामा अनावश्यक समन्वय तथा बहस पैरवी नगरी एकल निर्णय तथा निर्देशन जारी गर्दा द्वन्द्व सिर्जना हुने गर्छ । सङ्गठनका जिम्मेवार पदाधिकाकरीबिच वैचारिक भिन्नता फितलो कार्यशैली, पदीय दम्भ, बौद्विक दक्षताको अभाव, कुशल नेतृत्वको कमी, गुटबन्दी, कर्मचारीको पिरमर्का समयमै सम्बोधन गर्न नसक्नु, अदूरदर्शी कार्ययोजना, निष्पक्षाताको अभाव, कर्मचारीप्रति गरिने फरक व्यवहार, कर्मचारीको मानमर्यादा तथा प्रतिष्ठामा ख्याल नगर्नुलगायत कारणबाट द्वन्द्व सिर्जना हुने गर्छ । 

सूचना, सञ्चार तथा जनसम्पर्कमा देखिने समस्या, व्यक्तिगत सोच तथा चालचलनमा फरक, स्रोतसाधनको अभाव, व्यक्तिगत एवं सामूहिक सुविधा प्राप्तिमा सङ्घर्ष, भावनात्मक एकतामा समस्या, वृत्तिविकास तथा उत्प्रेरणाको अभाव, अस्पष्ट कार्य सम्बन्ध, सुशासन तथा समन्यायको अभाव, असमान कार्यक्षेत्र, कार्यस्थलमा हिंसा, असमान व्यवहार, कर्मचारीबिच फुटाउ र शासन गर भन्ने व्यवस्थापनको सोच, समानताको अभाव जस्ता कारणले पनि सङ्गठनमा द्वन्द्व सिर्जना हुन्छ । सामूहिक प्रयत्नबाट सङ्गठन निर्माण हुने भएकाले द्वन्द्वको उत्पत्ति सङ्गठनभित्र एक अपरिहार्य यथार्थ पनि हो । वास्तवमा यो कर्मचारी र व्यवस्थापनबिचको सङ्घर्ष हो । सङ्गठनभित्र कर्मचारीमाझ असमानता तथा विभेद रहेसम्म द्वन्द्व देखा परिरहन्छ । 

द्वन्द्वले सङ्गठनभित्र नकारात्मक प्रवृत्ति, कर्मचारीबिच तनाव, मनमुटाव तथा सामूहिक अविश्वास ल्याउन सक्छ । व्यक्ति व्यक्ति तथा समूह समूहबिचको तनावले सङ्गठनको सेवा प्रवाह तथा वस्तु उत्पादन गुणस्तरहित, ढिलासुस्ती र लापर्बाही हुनुका साथै व्यवस्थापन र कर्मचारीबिचको असमझदारी एवं अविश्वासले सङ्गठनको अस्तित्वमा खतरा पर्न सक्छ । सङ्गठनमा एकपछि अर्को समस्या आइपर्छन् । व्यवस्थापन तथा प्रशासनिक कार्यशैलीमा समेत समस्या देखा परी अनावश्यक विवादको सामना गर्नुपर्ने हुन्छ । यस्तो परिस्थिति सिर्जना भएपछि व्यवस्थापनले विकास निर्माणको कामलाई थाती राखेर अधिकांश समय द्वन्द्व व्यवस्थापनमा खर्चिनुपर्ने हुन्छ । 

कतिपय द्वन्द्व परिस्थितिवश आफैँ सिर्जना भएर त्यसलाई वास्ता गरिएन भने आफैँ हराएर जान्छ भने धेरै जसो द्वन्द्व आपसी संवाद र कानुनी उपचारबाट व्यवस्थापन गर्नुपर्ने हुन्छ । सानातिना तथा कमसल द्वन्द्व भनेर समयमै कुशलतापूर्वक व्यवस्थापन गर्न सकिएन भने चरम अवस्थामा पुगी यसको व्यवस्थापनमा धेरै मूल्य खर्चिनुपर्ने पनि हुन सक्छ । सङ्गठनमा विभिन्न समुदाय, संस्कृति तथा स्वभावका कर्मचारी हुन्छन् । सङ्गठनमा काम गर्ने विविध व्यक्तिको फरक फरक विशेषता हुने भएकाले पनि सङ्गठनमा सानातिना द्वन्द्व देखा परिरहन्छन् । यस्ता द्वन्द्वलाई व्यवस्थापकले कुशलतापूर्वक मनोवैज्ञानिक तरिकाले समाधान गर्दै लैजानु पर्छ । 

सङ्गठनभित्र देखा पर्ने द्वन्द्वलाई सधैँ नकारात्मक दृष्टिकोणबाट विश्लेषण नगरी यसलाई सिर्जनात्मक दृष्टिकोणबाट पनि हेर्नु पर्छ । कर्मचारी तथा समूहबिच भएको द्वन्द्वबाट व्यवस्थापन क्रियाशील हुने अवसर आउँछ । कहिलेकाहीँ झगडा, मनमुटाव, असमझदारी तथा विवादले नवीन सोच र अवसरको आगमन हुन जान्छ । चेतनाशक्तिको विकास भई कतिपय अवरोध तथा सङ्कट हटेर जान्छ । व्यक्ति व्यक्ति तथा समूह समूहबिच पुनर्मिलन भई अझ प्रगाढ सम्बन्धको विकास हुन पुग्छ तर सङ्गठनभित्र अस्वस्थ प्रतिस्पर्धा गर्दै चलखेल गरेर बस्ने जागिरे प्रवृत्तिका चलाख तथा धूर्त व्यवस्थापकले सङ्गठनभित्रको द्वन्द्वबाट फाइदा लिँदै व्यवस्थापनमा आफ्नो प्रभुत्व जमाउने प्रयत्न गर्छन् । यस्ता व्यवस्थापकले कर्मचारीमाझ भ्रमको खेती गर्दै भ्रष्टाचार, आर्थिक चलखेल र आफ्नो फाइदाको अवसर खोजिरहेका हुन्छन् । सङ्गठनभित्र कर्मचारीको ध्यान मोड्न द्वन्द्व सिर्जना गरी खैलाबैला मचाउँदै सङ्गठनको ढुकुटीमा लामो हात गर्न पनि सक्छन् । 

द्वन्द्वलाई उचित व्यवस्थापन गर्न सकिएमा सङ्गठनको विकासमा यसले महत्वपूर्ण भूमिका निर्वाह गर्छ । सानातिना विषयबाट सिर्जना भएका मनमुटाव, विवाद तथा असमझदारीलाई दुवै पक्षबिच समन्वय, छलफल तथा संवादबाट व्यवस्थापन गर्नु पर्छ भने ठुला खालका द्वन्द्वलाई नीतिनियम तथा कानुनी उपचारबाट व्यवस्थापन गर्नु पर्छ । द्वन्द्व समयभित्र व्यवस्थापन गर्न सकिएन भने यसले विकराल रूप लिएर सङ्गठनको अस्तित्व नै सङ्कटमा पर्न सक्छ । सङ्गठनभित्र उब्जिएको द्वन्द्वलाई उचित स्थान दिई पक्षहरूबिच रहेको मतभिन्नतालाई समाधान गर्न विभिन्न रणनीति अपनाउनु पर्छ । सङ्गठनमा व्यवस्थापन त जहिल्यै पनि रहन्छ तर कुशल व्यवस्थापन त्यतिबेला हुन्छ, जतिबेला विभिन्न तहमा रहेका द्वन्द्व तथा विवादलाई समयभित्र संवाद तथा सहमतिको बाटो खोजी समाधान गरिने छ । द्वन्द्वको स्वभाव, द्वन्द्व गर्नेको मनोबल, संलग्न पक्षहरूको विविध कुरालाई मनन गरी ऐन, नियम तथा कार्यविधिको आधारमा समाधान खोज्नु पर्छ । द्वन्द्वलाई सङ्गठनको एउटा सिर्जनशील तथा अपरिहार्य तìवका रूपमा लिएर सबै पक्षको हकहितलाई ध्यान दिई सहकार्य गर्दै जित जित तथा न हार न जितको अवस्थातिर जानु पर्छ । 

सार्वजनिक सेवा प्रवाह गर्ने निकायमा सर्वसाधारणको काम नियमसङ्गत हुन्छ भन्ने कुरो पत्याउन मुस्किल भएको अवस्था जगजाहेर नै छ । त्यसमाथि कर्मचारीले गर्ने व्यवहारले सङ्गठनभित्र द्वन्द्व देखा पर्नु कुनै नौलो कुरा रहेन । व्यवस्थापक पनि आफूलाई फाइदा हुने काम छ भने गर्ने र फाइदा नहुने हो भने कसैको काम पनि नगर्ने प्रवृत्ति बढ्दो छ । यस प्रकारका विकृतिको निगरानी न त अख्तियार दुरुपयोग अनुसन्धानले हेर्न सक्छ न त नेपाल सरकारका प्रशासनिक निकायले हेर्न सक्छन् । व्यवस्थापकको अदूरदर्शी, अपारदर्शी, पक्षपाती र मनपर्दी कार्यशैलीले गर्दा सङ्गठनभित्र द्वन्द्व सिर्जना हुने गरेकोले यसको व्यवस्थापनका लागि विविध संयन्त्र अपनाउनु पर्छ ।  

  

Author

मित्रमणि पोखरेल