वासुलिङ समाचारदाता
बैतडी, असार ४ गते । धार्मिक आस्था, सांस्कृतिक विविधता र प्राकृतिक सम्पदाको अनुपम सङ्गम बोकेको ऐतिहासिक वासुलिङ मन्दिर सुदूरपश्चिम नेपालको अमूल्य सांस्कृतिक र पर्यावरणीय सम्पदाका रूपमा रहेको छ । सुर्नया गाउँपालिका–२ र ३ मा अवस्थित मन्दिर क्षेत्र दर्जनौँ गाउँ समुदायको साझा आस्थाको केन्द्रका रूपमा स्थापित छ । झन्डै पाँच सय वर्ष पुरानो देवदार (स्थानीय भाषामा ‘द्यार’) को कोणधारी जङ्गलको काखमा रहेको वासुलिङ मन्दिरलाई बैतडी जिल्लाकै महìवपूर्ण तीर्थस्थल मानिन्छ । यहाँको देवदार वनलाई धार्मिक दृष्टिले अति पवित्र मानिन्छ । स्थानीय मान्यता अनुसार त्यहाँ रुखहरू छोए मात्र पनि पाप लाग्ने विश्वास रहेको छ ।
स्थानीय वृद्ध हरिदत्त भट्टका अनुसार देवताको बास हुने वन भएकाले यहाँको रुखलाई नछुनु नै श्रेयस्कर ठानिन्छ । यो परम्परा पुस्तौँदेखिको चलन हो । मन्दिरमा पुजारी धर्मानन्द भट्टले दशकौँदेखि पूजापाठ गर्दै आउनुभएको छ । उहाँले भक्तिभावसहित यहाँ पूजाअर्चना गर्नेको मनोकामना पूरा हुने विश्वास रहिआएको बताउनुभयो । ज्येष्ठ नागरिक गणेशदत्त भट्टका अनुसार मन्दिर जातजाति मिलाउने साझा थलो हो । औँसी, पूर्णिमा र शिवरात्रि जस्ता तिथिमा यहाँ सबै जात समुदायका श्रद्धालु एकै ठाउँमा पूजाअर्चनामा सहभागी हुन्छन् ।
इतिहास, संस्कृति र जैविक विविधता समेटिएको वासुलिङ क्षेत्र धार्मिक तथा पर्यावरणीय पर्यटनको गन्तव्य बन्न सक्ने सम्भावना छ । स्थानीय युवा विनोद भट्टका अनुसार मन्दिर क्षेत्रको समग्र संरक्षण र प्रवर्धनका लागि थुप्रै प्रयास भए पनि दीर्घकालीन योजना अभावले ठोस उपलब्धि हुन सकेको छैन ।
हाल स्थानीय युवाले समिति गठन गरी धार्मिक मेला, पर्यावरणीय पदयात्रा, संस्कृतिपरक प्रतियोगिता र हस्तकला प्रदर्शनी जस्ता कार्यक्रम गरी आर्थिक तथा सांस्कृतिक पुनर्जागरणको योजना अघि सारेका छन् ।
जैविक दृष्टिले महìवपूर्ण मानिएको यस क्षेत्र अनियन्त्रित चरिचरन, डढेलोको जोखिम र अतिक्रमणबाट प्रभावित हुन थालेको छ । समाजसेवी देवबहादुर चन्दका अनुसार वन क्षेत्रको मौन चिच्याहट सबैले सुन्न जरुरी छ । जैविक विविधता र मौलिकता सङ्कटमा पर्न थालेको उहाँ बताउनुहुनछ । समाजसेवी लबदेव भट्टले मन्दिर र वन क्षेत्रलाई विद्यालय पाठ्यक्रममा समावेश गरी भावी पुस्तालाई स्थानीय संस्कृति, सम्पदा र पर्यावरणप्रति जिम्मेवार बनाउने खाँचो औँल्याउनुभयो ।