• ७ वैशाख २०८१, शुक्रबार

भाषा सुधार्दै ‘हिज्जे’

blog

विश्वास रेग्मी 

आयातित शब्दहरूको अधिक प्रयोगका कारण नेपाली भाषाले मौलिकता जोगाउने सङ्घर्ष गरिरहनुपरेको छ । अर्कोतिर, नेपाली भाषाकै अशुद्ध प्रयोगका कारण यसको मूल संरचना नै बिग्रने हो कि भन्ने चिन्ता सार्वजनिक रूपमा व्यक्त भइरहन्छ । खासगरी पछिल्लो पुस्ता लेख्य नेपाली भाषाप्रति त्यति गम्भीर भएको पाइँदैन ।

नेपाली भाषाको व्याकरणीय नियमको पालना नयाँ पुस्ताका लागि कठिनजस्तै देखिन्छ । त्यसमाथि कतिपय शब्दका अर्थकै जानकारी नहुँदा अर्को समस्या सिर्जना गरिदिएको हुन्छ । नेपाली भाषाको व्यावहारिक प्रयोगमा देखिएका पछिल्ला यस्तै समस्यालाई समूल समाधान गर्ने उद्देश्यसहित युवा इन्जिनियरको समूहले एउटा सहज विकल्प निकालिदिएको छ, हिज्जे डटकम ।

नेपाली भाषासँग सम्बन्धित धेरै कम एकीकृत सुविधामध्येको एक हो यो । इन्टरनेटको प्रयोगमार्फत संसारभर जसले पनि प्रयोग गर्न सक्ने गरी तयार गरिएको हिज्जे डटकम पछिल्लो समय आफैँलाई सुधार्दै अघि बढिरहेको छ ।

भाषाको माया

हिज्जे डटकम सुरु गर्नुअघि यसका संस्थापक विरोध रिजालको व्यक्तिगत भावनाले बढी काम गरेको छ । पेसाले कम्प्युटर इन्जिनियर रिजाल आफ्ना एक जना गुरुको पे्ररणाबाट यसको सुरुवात गरेको सम्झन्छन् । नेपाली भाषा संरक्षण गर्नुपर्छ भन्ने गुरुको चिन्तालाई समाधान गर्ने उद्देश्यसहित हिज्जे डटकम सुरुवात गरिएको रिजालको भनाइ छ । उनका लागि यो नितान्त समाजसेवा हो । यसबाट कमाउने उद्देश्य नराखिएको उनी स्पष्ट पार्छन् । त्यसैले यसमा आफैले सक्दो सानो सानो लगानी गर्दै निरन्तरता दिइराख्ने उनको योजना छ । त्यसो त सुरुवाती दिनमा हिज्जे डटकम तयार गर्न उनले केही ठाउँमा लगानीका लागि सङ्घर्ष गर्नु नपरेको होइन । अपेक्षाअनुसारको लगानी नआए पनि सामान्य लगानी जोडजाड गर्दै यहाँसम्म आइपुगेको छ, यो । भाषाका लागि सम्बन्धित क्षेत्रका विज्ञ संलग्न गराउनेदेखि ब्याकइन्ड तयार गर्न प्राविधिक जनशक्ति उपयोगमा त्यस्तो लगानी उपयोग गरिएको उनले जानकारी दिएका छन् ।

धेरै सुविधा एकै ठाउँमा

हिज्जे डटकममा नेपाली भाषासँग सम्बन्धित धेरै सुविधा प्रयोग गर्न सकिन्छ । यसको सबैभन्दा महत्त्वपूर्ण सुविधा हिज्जेको परीक्षण नै हो । जसमा वाक्यको गठन, ह्रस्व–दीर्घ परीक्षणदेखि अन्य भाषागत त्रुटि हेर्न सकिन्छ, अनि हिज्जेले नै आफैँ त्यसलाई सच्याइदिन्छ । सञ्चारमाध्यमको डेस्कमा काम गर्नेदेखि नेपाली भाषासँग सम्बन्धित काम गर्नेका लागि यो निकै उपयोगी सुविधा पनि हो । हाललाई युनिकोडमा लेखिएका शब्दको मात्र परीक्षण गर्ने सुविधा रहेको संस्थापक रिजालले जानकारी दिएका छन् ।

यससँगै एकैठाउँमा नेपाली भाषा ‘टाइप’ गर्नेदेखि र प्रिती ‘फन्ट’लाई नेपालीसँग सम्बन्धित एक दर्जन फन्टमा रूपान्तरण गर्ने सुविधा यसमा उपलब्ध छ । हाल युनिकोडदेखि आकृति, आलेख, गणेश, हिमालबी, कान्तिपुर, नवजीवन, पीसीयस फन्टमा टाइप गर्न सकिन्छ ।

त्यस्तै नेपाली शब्दकोष पनि यसमै उपलब्ध छ, जहाँ प्रयोगकर्ताले आफूलाई चाहिएको शब्द राखेर त्यसको सहजै अर्थ खोज्न सक्छन् । शब्को अर्थ र भाषाको व्याकरणीय नियम स्थापित गर्न हिज्जेले नेपाली भाषाका विज्ञहरूलाई उपयोग गरेको छ । भाषासम्म सकेसम्म त्रुटि नहोस् भन्ने उद्देश्यका लागि एक रूपता ल्याउने प्रयत्न गरिएको रिजालले बताएका छन् ।

निःशुल्क खाता

हिज्जे डटकम प्रयोग गर्न कुनै शुल्क लाग्दैन, अर्थात् यो निःशुल्क सेवा हो । ‘ब्राउजर’मा हिज्जे डटकम(https://hijje.com/#/) टाइप गरेर सहजै यसको प्रयोग गर्न सकिन्छ । व्यक्तिगत खाता खोलेर यसमा रहेका धेरै सुविधा प्रयोग गर्न सकिन्छ । सहजै खाता खोल्न सक्ने व्यवस्था यसमा गरिएको छ । खाता नै नखोलिकन पनि हिज्जे परीक्षण, शब्दकोष, फन्ट रूपान्तरणलगायतका सेवा उपयोग गर्न सकिन्छ ।

आवाजलाई शब्दमा

हिज्जे डटकमले पछिल्लो समय नेपालीमा बोलेको आवाजलाई शब्दमा उतार्ने सुविधा पनि ल्याएको छ । जहाँ प्रयोगकर्ताले आफूले बोलेको आवाज ‘अपलोड’ गरेर त्यसलाई लिखित शब्दमा उतार्न सक्छन् । यसमै पनि रेकर्ड गर्ने सुविधा राखिएको छ, जसमा सिधै रेकर्ड गरेर शब्दमा रूपान्तरण गर्न सकिन्छ । तत्कालका लागि एक पटकमा ३० सेकेन्डको आवाजलाई मात्र शब्दमा रूपान्तरण गर्ने सुविधा रहेको छ । भविष्यमा यो समयलाई अझ बढाएर एकैपटक लामो रेकर्डलाई पनि सहजै शब्दमा उतार्ने सुविधा ल्याउने योजना रिजालको छ ।

झन् एकीकृत

हिज्जे डटकममा उपलब्ध भाषासम्बन्धी सुविधालाई झन् एकीकृत गर्दै लैजाने योजना बनाइएको छ । अहिले लिखित भाषा र आवाजलाई शब्दमा रूपान्तरण गर्ने काम छुट्टाछुट्टै हुँदै आएको छ । यो भिन्न प्रकृतिको सुविधालाई एकीकृत गरेर आवाज र लिखित शब्द एकैपटक परीक्षण गर्ने सुविधा ल्याउने योजनामा हिज्जे डटकम छ । जसमा आवाजबाटै त्यसलाई शब्दमा उतार्ने, त्यसको हिज्जे परीक्षण गर्ने, फन्ट परिवर्तन गर्न सक्ने र शब्दको अर्थसमेत हेर्न सकिने गरी एकीकृत सुविधा ल्याउने सोचाइमा छन् रिजाल ।

यसबाट नेपाली भाषासँग सम्बन्धित धेरै समस्या समाधान हुन सक्ने उनको विश्वास छ । त्यस्तै आवाज सुन्दै त्यसलाई पुनः उतार्नका लागि लाग्ने समय यसबाट बचत हुने छ ।

भाषाको विषय जहिले पनि यसको शुद्धताबाट परीक्षण हुन्छ । निजी क्षेत्रबाट भएको यस्तो प्रयासको शुद्धता र विश्वसनीयतामा स्वाभाविक प्रश्न उठ्छन् । यस्तो प्रश्न हिज्जे डटकमलाई नसोधिएको होइन । संस्थापक रिजाल शतप्रतिशत पूर्णता केही पनि नहुने र त्यसैले गर्दा सुधार गर्दै लैजाने बाटो बाँकी रहने बुझाइ राख्छन् ।  

Author

विश्वास रेग्मी