• ५ असोज २०८१, शनिबार

टी-२० विश्वकप : अपराजित दक्षिण अफ्रिकाको सेमिफाइनल सम्भावना बलियो

blog

इङ्ल्यान्डलाई हराएपछि दक्षिण अफ्रिकाका खेलाडी । तस्बिर : द हिन्दु

सेन्ट भिन्सेन्ट, असार ८ गते । दक्षिण अफ्रिकाले आइसिसी टी-२० विश्वकपमा अपराजित यात्रा जारी राखेको छ । सुपर आठअन्तर्गत सुक्रबार राति भएको खेलमा दक्षिण अफ्रिकाले बलियो प्रतिद्वन्द्वी इङ्ल्यान्डलाई सात रनले हरायो । 

सुपर आठमा लगातार दोसो जित निकालेसँगै दक्षिण अफ्रिकाले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । सुपर आठको पहिलो खेलमा पक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो ।

इङ्ल्यान्डलाई हराएँगै दक्षिण अफ्रिकाको लगातार छैटौँ जित हात पारिसकेको छ । समूह चरणमा नेपाल रहेको समूह ‘डी’ बाट प्रतिस्पर्धा गरेको दक्षिण अफ्रिकाले समूहमा चार वटै खेल जितेको थियो । 

सेन्ट लुसियास्थित ड्यारेन सामी क्रिकेट मैदानमा जितका लागि एक सय ६४ रनको लक्ष्य पछयाएको इङ्ल्यान्ड निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ५६ रनमा समेटिएको थियो । इङ्ल्यान्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ५३ रन बनाउनुभयो । 

यस्तै लियाम लिभिङ्स्टोनले ३३, कप्तान जोस बट्लरले १७, जोनी बरिस्टले १६, फिल साल्टले ११ र साम करनले १० रन बनाउनुभयो । बलिङमा दक्षिण अफ्रिकाका कागिसो राबडा र केशव महाराजले दुई दुई तथा ओट्नेल बर्तमान र एनरिन नर्तजेले एक एक विकेट लिनुभयो । 

यसअघि टस हारेर पहिले ब्याटिङ गर्ने निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ६३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि क्विन्टन डी ककले ६५ रन बनाउनुभयो । उहाँले ३८ बलमा चार चौका र चार छक्काको सहयोगमा उक्त रन बनाउनुएको हो । 

यस्तै डेभिड मिल्लरले ४३, रिजा हेन्ड्रिक्स १९ र त्रिस्टन स्टुबसले अविजित १२ रन जोड्नुभयो । बलिङमा इङ्ल्यान्डका जोफ्रा आर्चरले तीन विकेट लिनुभयो । मोइन अली र अदिल रसिदले एक एक विकेट झार्नुभयो । 

यस जितसँगै सुपर आठमा दुई खेलबाट चार अङ्क बनाएको दक्षिण अफ्रिका शीर्षस्थानमा छ । पराजित इङ्ल्यान्ड दुई खेलबाट दुई अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

इङ्ल्यान्डले सुपर आठको पहिलो खेलमा सहआयोजक वेस्ट इन्डिजलाई आठ विकेटले हराएको थियो । सुपर आठको यस समूह ‘बी’ मा एक एक खेल खेलेका अमेरिका र वेस्ट इन्डिजले अङ्कको खाता खोल्न सकेका छैनन् ।