• १४ असार २०८१, शुक्रबार

विद्यालयस्तरमा योग अभ्यास विस्तार गरिने : मन्त्री सिंह

blog

मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह कोइरी लहानमा आयोजित दसौं अन्तर्राष्ट्रिय योग दिवस कार्यक्रममा सहभागी हुनुहुँदै । तस्बिर : जीवछ यादव

जीवछ यादव
लहान, असार ७ गते ।
मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्री शत्रुधनप्रसाद सिंह कोइरीले ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ भने मूल नारालाई कार्यान्वयन गर्न योग अभ्यासलाई विद्यालय स्तरमा र वडा तहमा विस्तार गर्ने बताउनुभएको छ ।

दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पतञ्जली योग आयुर्वेद आश्रम लहानले शुक्रबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

स्वस्थ्य नागरिक नभई कुनैपनि देश र प्रदेशको समृद्धि विकास सम्भव नभएकाले मधेश प्रदेश सरकारले मेरा स्वास्थ्य, मेरो जिम्मेवारी भन्ने नारा कार्यान्वयन गर्न योग अभ्यासलाई प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘मधेश प्रदेशको १३६ वटै पालिकाहरुको वडास्तरीय र हरेक विद्यालयमा योगसम्बन्धी शिक्षण अभ्यासका लागि जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रालयले गृहकार्य सुरु गरेको छ ।’’

मधेश प्रदेशमा कम्तिमा पाँच वटा ठुलो क्षमताको अस्पताल, प्रत्ये वडामा व्यवस्थित स्वास्थ्य चौकी, पालिकास्तरीय अस्पताल आवश्यक बताउनुहुँदै मन्त्री सिंहले मन्त्रालयमार्फत नमुना कार्य गर्न दत्तचित भएर काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।

योग दिवसको अवसरमा आयोजित कार्यक्रममा सहभागी योगप्रेमीहरु पतञ्जलि योग आयुर्वेद आश्रम भवन निर्माणको लागि थप कार्य गरिदिन र लहानस्थित रामकुमार शारडा, उमाप्रसाद प्रादेशिक अस्पतालको स्तरोन्नति गर्न लहान नगरपालिका र मधेश प्रदेशका जनसङ्ख्या तथा स्वास्थ्य मन्त्रीको ध्यान आकर्षित गराएको थियो ।