• १२ मंसिर २०८१, बुधबार

आगलागी पीडितलाई राहत वितरण

blog

डुडुवाका आगलागी पीडितलाई राहत वितरण गर्दै प्रजिअलगायत । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, असार ७ गते । बाँकेको डुडुवा गाउँपालिका १ छिटईपुरवा पाझामा आगलागी हुँदा घर जलेर पिडित भएका ३४ परिवारलाई जिल्ला विपद् व्यवस्थापन समिति बाँके र डुडुवा गाउँपालिकाले राहत वितरण गरेको छ । 

जिल्ला विपद् व्यवस्थापन समिति बाँकेका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले दिनुभएको जानकारी अनुसार भीषण हावाहुरीले गर्दा आगलागी भ खरानी बनेका ३४ घरका पीडित परिवारलाई राहत वितरण गरिएको हो । घरहरु जलेपछि नजिकैको सामुदायिक विद्यालय र आश्रयस्थलमा बसेका पीडितहरुलाई जिल्ला विपद् व्यवस्थापन समितिका तर्फबाट हरेक परिवारलाई १५ हजार रुपियाँ नगद, कम्बल, भाँडाबर्तन, पाललगायत वितरण गरिएको र डुुडुवा गाउँपालिकाको तर्फबाट चाउचाउ बिस्कुटलगायतका तयारी खानेकुरा बितरण गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो । 

सो अवसरमा स्थानीय बासिन्दाले पहिलो पटक कुनै प्रमुख जिल्ला अधिकारी सो गाउँमा पुगेको जनाएको पनि उहाँले बताउनुभयो । आगलागी भएको उक्त गाउँ राप्ती नदीको भंगालाहरुको बिचमा पर्छ भने हरेक वर्ष राप्तीको बाढीले सो गाउँमा डुबान र कटान भइ त्यहाँका वासिन्दा घरबारविहीन हुने गरेका छन् । पहिलो पटक कुनै प्रमुख जिल्ला अधिकारी सो गाउँमा पुगेको जनाउँदै सो अवसर उहाँलाई बाढीबाट जोगाउन पनि सो क्षेत्रमा बाँध वा तटबन्धको व्यवस्था गरिदिन माग गरिएको स्थानीय बासिन्दा राममनोहर यादवले बताउनुभयो । 

राहत वितरण कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रबहादुर चौधरी, डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर चौधरी, सुरक्षा निकायका प्रमुख र रेडक्रस सोसाइटीका पदाधिकारीलगायतको सहभागिता थियो । 

बुधवार राती आएको हावाहुरीले गर्दा आगो उडेर घरको छानोमा खस्दा उक्त गाउँका ३४ घर जलेर खरानी भएका थिए । आगलागी भएलगत्तै नेपालगन्जमा वारुण यन्त्रलाई जानकारी गराउँदा केही समयमा दमकल गाउँ नजिक पुगे पनि गाउँकै छेउमा रहेको कुलो भत्किएकाले दमकल गाउँमा छिर्न नसक्दा ठुलो क्षति भएको हो ।