जीवनमा सुख र शान्तिको आधार योग हो भन्ने कुरा धर्मशास्त्र र सिद्ध ऋषिमुनिले प्रमाणित गरेको विषय हो । योग दर्शनलाई साख्य दर्शनको क्रियात्मक साधनाका रूपमा मानिन्छ । योगको अर्थ विभिन्न रूपमा परिभाषित गरिएका छन् । जीव तìवलाई ब्रह्म तìवमा मिलन गराउने क्रियालाई योग भनिन्छ । अनुशासित प्रक्रियाबाट जोड्नु, मिल्नु अर्थात् उच्चतम अनुकूलताको आनन्दलाई योग भनिन्छ । आत्माज्ञान प्राप्तिको क्रियात्मक रूप योग हो । बुद्धिको स्थुलताबाट सूक्ष्मतातिरको यात्रालाई योग भनिन्छ अर्थात् बाहिरी विचारबाट निवृत्त भएर अन्तर्मुख हुनुलाई योग भनिन्छ । व्यष्टि चेतनाबाट समष्टि चेतनातिरको यात्रालाई पनि योग भनिन्छ । यसैले योगको अर्थ अनुरूप त्यसको फल कसरी पाउने भन्ने चिन्तन साधना हो । साधनामा जानुअघि हामीले धेरै कुराको विचार पु¥याउनु पर्ने हुन्छ । कुनै पनि बीजलाई जमिनमा रोप्नुअघि त्यो जमिनको तयारी गरिन्छ । त्यसै गरी जीवनरूपी जमिनलाई योग्य बनाउन पवित्रता, दया, क्षमा र समताभन्दा महान् चरित्र संसारमा अर्को कुनै छैन । योगरूपी बीजलाई जीवनरूपी जमिनमा रोपेपछि विश्वासरूपी अङ्कुर पैदा हुन्छ । तब त्यो अङ्कुर बढेर ठुलो वृक्ष भएपछि श्रद्धारूपी फल फल्न थाल्छ । जसको भोग गर्दा शुद्ध, बुद्ध, मुक्त, शान्त र आनन्द मिल्छ । यसैले योग, ज्ञान र विद्यारूपी बीजलाई रोप्ने स्थान जीवनरूपी भूमिलाई तयार गर्नु जरुरी छ । त्यो भूमिलाई योग्य बनाउन सर्वप्रथम योग, तपस्या र स्वाध्यायरूपी साधना गर्न अति
आवश्यक छ ।
जन्मदेखि मृत्युपर्यन्तको यात्रालाई जीवन भनिन्छ । जब कोही पनि मनुष्यको जन्म हुन्छ तबदेखि उसको चिन्ता सुरु हुन्छ, चाहे उसलाई होस् चाहे उसको पालनपोषण गर्नेलाई होस् । पृथ्वीमा पाइला टेक्नासाथ चिसो, तातो, खानपिन, रक्षा, सुरक्षा, स्वास्थ्य आदिको चिन्ता हुन थाल्छ । अलि उमेर बढ्दै गएपछि लड्ला, कतै जाला, रोग लाग्ला भन्ने चिन्ता उसको माता र पितामा निरन्तर भइरहन्छ । चिन्ता बाल्यावस्थाको छुट्टै, युवावस्था, जवानी, वृद्धावस्थामा छुट्टाछुट्टै आउँछ । जबसम्म मनुष्य मसानमा पुग्दैन तबसम्म चिन्ता नै चिन्तामा बाँचिरहेको हुन्छ । जबसम्म योग मार्गमा लाग्दैन तबसम्म मनुष्य आफू पनि चिन्ता डुब्छ भने अरूलाई चिन्तामा लैजान्छ । चिन्ताको घेराबन्दीसँगै चिताको आगोमा पुगेको पत्तै पाउँदैन जीवनले ।
बाल्यावस्था खानैको धन्दा, युवा मोजमस्ती रसरमाइलो उडन्ते जीवन, जवानी कामधन्दाकै चिन्ता, वृद्ध अभाव र बेचैनी एवं चञ्चल चित्तमा रमाउँछ । उसलाई फुर्सद कहाँ हुन्छ, हाइहाइमा जीवन व्यतीत भइरहन्छ । जीवनको वास्तविकता बुझ्न, बुझाउन, सम्झन तथा पूर्णताको आनन्द लिन उसलाई चिन्ता र तनावले छेकिदिन्छ । योगको मर्म कता हो कता उल्टो धन, वैभव, सम्पत्ति, परिवार, इष्टमित्रको मोहमायामा फसेको हुन्छ । जीवनमा धन प्राप्तिको चिन्ता, परिवार र समाजको चिन्तातथा देशको चिन्तारूपी कालो बादलमा रुमलिएको हुन्छ । मानिसको जीवनमा धन, सम्पत्ति, बन्धु, बान्धव सबका सब चीज भएर पनि हरदम चिन्तित, तनाव, भय, आशङ्का र उदासीपनमा बाँचिरहेको हुन्छ ।
बाहिरी संसारको चिन्ता, जीवनको चिन्ता, विषयको चिन्ता तथा समाजको चिन्तारूपी भारी बुद्धि बोकेको मनुष्य कसरी सुखी, आनन्दित र प्रशन्न हुन सक्छ । यसको मूल कारण उसले भौतिकता र बाह्य वृत्तिलाई सर्वस्व मानेर यस्तो हुन गएको हो । आफ्नो आन्तरिक अनुभूतिलाई महसुस गर्न नसकेको कारण मानिस दुःखित हुन्छ । आन्तरिक रूपमा चिन्तन, विचार, एकै धारणा, एकाग्र चित्त बनाउन सकेको भए यस्तो हुने थिएन । मानिसले मिठो खाने, राम्रो लगाउने, विलासी जीवन व्यतीत गर्ने, भोग वासनामा रमाउने, नाचगानमा तृप्त हुने कुरालाई सुख सम्झिन्छ, भोगलाई जीवन सम्झिन्छ । यी सबै मानिसका सुखप्राप्तिको मार्गका तगारा हुन् । जसले मनुष्यलाई अगाडि बढ्न दिँदैन र योगमार्गमा बाधक तत्वका रूपमा देखा पर्छ ।
भय, डर, त्रास र लोभको कारण मनुष्य सदा दुःखी हुन्छ । रूपवान् मनुष्यलाई शरीर कुरूपता अर्थात् वृद्धावस्था आउला भन्ने भय हुन्छ, एउटा धनी मनुष्यलाई गरिबीदेखि डर हुन्छ । यसरी हरपल, हरघडी चिन्ताको घेराबन्दीले मनुष्य जीवनमा चिन्तनको बाटो रोकिन पुग्छ । संसारमा ज्यादाजसो मनुष्य तनावमै जिउँछ, तनावमै मृत्युको प्राप्त हुन्छ । चिन्ताले मनुष्य आफ्नो जीवनप्रति नै हार खान्छ, आत्महत्यासम्मको बाटोमा पुग्छ । युद्ध, झगडा, अशान्ति, घोर अन्धकार, पापाचार, भष्टाचार, अन्याय, अत्याचारको अवस्थासम्म चिन्ताले मनुष्यलाई लग्छ । के जीवन भनेको चिन्ता, अभाव, तनाव मात्र हो त ? चिन्ता, परेसानी, दुःख, पीडादायक जिन्दगीभन्दा पररहेको अर्को छुट्टै योगमय जीवन पनि छ भन्ने कुरा उसलाई थाहै हुँदैन । उच्चता, आनन्दता र पूर्णताको पनि जीवन छ भन्ने कुरा मनुष्यले बिर्सेको हुन्छ । यस विषयमा उसले खोज, जिज्ञासा र अनुसन्धान पनि गर्दैन । यसैले मानवलाई सफलता, चिन्तामुक्त, तनावरहित, आनन्दमय, अनुभूतिपूर्ण एवं दिव्यताले भरिपूर्ण जीवनको बाटो पनि छ भन्ने ज्ञात हुन जरुरी छ ।
चिन्ताले मनुष्यलाई जसरी चितामा पु¥याउँछ, त्यसै गरी भगवान्को चिन्तन गर्ने हो भने पूर्णतामा पनि पुग्न सकिन्छ भन्ने विश्वास हुन आवश्यक छ । चिन्ताको सरल बाटो संसार छँदै छ तर परमार्थ चिन्तनको कठिन बाटो पक्डिन भने मनुष्यलाई अति गाह्रो पर्छ । किनकि चिन्तनमा लाग्न केही कुरा त्याग्नु पर्छ । जुन आफूले बाल्यकालदेखि पालेको, पाल्दै आएको, त्यसैमा रमाउँदै आएको लोभलालच, क्रोध, कामवासना, अहङ्कार, अज्ञान, तेरो मेरो, मद, मात्सर्य जस्ता विचारलाई मार्न अर्थात् फाल्न सकिराखेको हुँदैन । थोत्रो र फोहोर घरलाई नै स्वर्ग जस्तो सम्झेर जीवन निर्वाह गर्दै आएको मानिसलाई यो घर तिम्रो होइन यसलाई तिमी छोड भन्यो भने उसको जीवनमरणको स्थिति आउँछ । त्यो घर छोडेपछि अवश्य पनि नयाँ र दिव्य घर पाइन्छ भन्ने थाहा भएको भए सोचाइमा फरक पर्ने थियो । जसरी मनुष्य थोत्रो, बिग्रिएको घरलाई छोड्न चाहँदैन । त्यसै गरी काम, क्रोध र लोभमा रमाएको मनुष्य प्रेम, करुणा र आनन्दको मार्गलाई विश्वास गर्दैन ।
संसारमा सबै लिन चाहन्छन्, दिन वा त्याग्न अत्यन्तै कठिन र गाह्रो पर्छ । माग्न सरल होला, तर मनुष्यको स्वभाव कस्तो छ भने दिन बहुतै गाह्रो मान्दछ । किनकि दिँदा उसलाई आफू सिद्धिन्छु कि भन्ने भय रहन्छ । यसरी मानिस भूतकालको घटनाबाट अनेक शोक गरिरहेको हुन्छ । भविष्य बिग्रेला भनेर भय र चिन्ताले ग्रसित भएको हुन्छ भने वर्तमान लोभ र लालचले उसलाई सताइरहेको हुन्छ । यसैले मनुष्य सदा दुःखी र अशान्त देखिन्छ । हुन त मानिस चिन्तामुक्त हुन चाहन्छ, चिन्ता र तनावको जन्मदातालाई छोड्न चाहँदैन । काम, व्रmोध, लोभ, मोह नै चिन्ताको जननी हो । एउटालाई नछोडीकन अर्को मूल्यवान् वस्तु पाइन्न । विषलाई नछोडिकन अमृतलाई पाउन सकिन्न । भोगलाई नछोडी योगलाई पाउन सकिन्न ।
योग चिन्तनको मार्ग हो भने भोग तनाव, चिन्ता र दुःखको मार्ग हो । भोगमा मानिस अघाउन खोज्छ, फेरि अघाउँदैन, हात्तीको पेट जस्तै जति खाए पनि नअघाउने हुन्छ । भोगमा फसेको प्राणी जति बाहिर निस्कन खोजे पनि झन्झन् भित्रभित्रै फस्दै जान्छ । भोग भनेको गोहीको मुखको दाँत जस्तै हो । गोहीले पक्डेको प्राणीजति बाहिर निस्कन खोजे पनि झन् भित्रभित्र जान्छ । यसैले प्राणी संसारको मोह मायाको कारण तृष्णाको बादल हटाउन खोजे पनिझन बढ्दै जान्छ । जसको परिणाम दुःख, दर्द, पीडा, क्लेश, अभाव, चिन्ता हरदमबनी नै रहन्छ । यसैले ऋषिमुनिहरूले मायालाई जित्न चिन्तनको बाटो योग, ध्यान र साधनाको मार्ग देखाए र आफू पनि त्यही मार्गमा हिँडे । उनीहरूले ज्ञान, भक्ति र निष्काम कर्मको मार्ग दिएका छन् । शास्त्र, वेद, पुराण, गीता, सन्त, महापुरुष, सद्गुरु आदि चिन्तनकै कुरा गर्छन्, ध्यानकै बाटो देखाउँछन् ।
चिन्ताले मानिसलाई बाध्य भएर चिन्तनको बाटोतिर जान प्रेरित गर्छ, चिन्तनले चारुता ल्याउँछ अर्थात् आनन्दमा पुगिन्छ । त्यसैले सुख, आनन्द, स्वतन्त्रता, मुक्ति, एवं पूर्णता र उच्चताका लागि चिन्तातिर होइन चिन्तनतिर लागौँ यही जीवनको महामन्त्र र चरम लक्ष्य पनि हो । जसलाई योगको मार्ग भनेर पनि भन्ने गरिन्छ ।