• १४ असार २०८१, शुक्रबार

‘स्मृतिमा भीमबहादुर’ सार्वजनिक

blog

काठमाडौँ, असार ७ गते । ताप्लेजुङको सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका भीमबहादुर श्रेष्ठको जीवनीकृति ‘स्मृतिमा भीमबहादुर’ सार्वजनिक गरिएको छ । पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, सांसद सुशीला श्रेष्ठ, सांसद लीला बोखिमलगायतले संयुक्त रूपमा बिहीबार कृति सार्वजनिक गर्नुभएको हो ।

पूर्वनिर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठले ताप्लेजुङको भानु स्कुल स्थापनामा समाजसेवी भीमबहादुर श्रेष्ठले पु¥याउनुभएको योगदानको चर्चा गर्नुभयो । उहाँका अनुसार भीमबहादुर श्रेष्ठले शिक्षा क्षेत्रको उन्नयनमा दार्जिलिङसम्मै पुगेर  शिक्षक खोजेर ल्याउने, स्कुल भवन बनाउन सहयोग सङ्कलन, धर्मभकारीको स्थापनालगायत विकास र सेवाका क्षेत्रमा योगदान दिनुभएको थियो । श्रमदानको संस्कृतिमा जोड दिँदै जनसहभागिता जुटाउने, सरकारी बजेटमा पहुँच स्थापित गर्ने कार्यमा समेत भीमबहादुरको योगदान थियो ।

सांसद सुशीला श्रेष्ठले २००९ सालमा नै ताप्लेजुङको पहिलो फोटोग्राफरका रूपमा भीमबहादुरले सेवा थाल्नुभएको स्मरण गर्नुभयो । सांसद लीला बोखिमले ताप्लेजुङको सामाजिक विकासमा भीमबहादुरले दिनुभएको योगदानको चर्चा गर्नुभयो । पुस्तकका  सम्पादक टङ्क श्रेष्ठका अनुसार १९८३ मा जन्मिएका भीमबहादुर श्रेष्ठले फोटो व्यवसाय र फुङ्लिङ गाउँ पञ्चायतको प्रधानपञ्चका रूपमा समेत सामाजिक रूपमा योगदान दिनुभएको थियो ।