• १३ असार २०८१, बिहिबार

भारतले लाने भयो रक्तचन्दन

blog

काठमाडौँ, असार ७ गते । नेपालमा अवैध ओसारपसार भई थन्किएर रहेको रक्तचन्दन भारतले फिर्ता लैजाने भएको छ । 

नेपाल सरकारको गत वैशाख २७ गते बसेको मन्त्रीपरिषद् बैठकले रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि भारत रक्तचन्दन लिन तयार भएको हो । भारत सरकारले त्यससम्बन्धी निर्णयसहितको पत्राचार गरिसकेको छ । नेपाल सरकारले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेको ९० दिनभित्र भारतले लगिसक्नुपर्ने कानुनी व्यवस्था छ ।

वन तथा भूसंरक्षण विभागका महानिर्देशक शिवकुमार वाग्लेले भारतले रक्तचन्दन फिर्ता लिन पठाएको पत्र प्राप्त भएको जानकारी दिनुभयो । “भारतले रक्तचन्दन लिन इमेलमार्फत पत्र पठाएको छ । यही जुन २० देखि ३० तारिख अर्थात् असार ६ गतेदेखि असार १६ गतेसम्म रक्तचन्दन लिन्छौँ भनेर पत्रमा भनिएको छ ।” भारतले आफ्नै खर्च आफ्नो सहजतामा फिर्ता लैजाने छ ।” 

मन्त्रीपरिषद् बैठकले भारतलाई रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि परराष्ट्रमार्फत भारतीय दूतावासलाई पत्र पठाएको थियो । भारतले गत साता मात्रै रक्तचन्दन फिर्ता लिन इच्छुक भएको भन्दै पत्र पठाएएको हो । 

अहिले १८ जिल्लामा एक लाख ७३ हजार ७१.७९२ केजी रक्तचन्दन काठ बरामद गरेर राखिएको छ । रक्तचन्दन थन्किएर राखिएका जिल्ला सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, रसुवा, दोलखा, धादिङ, गोरखा, ताप्लेजुङ, सङ्खुवासभा, झापा, सप्तरी, सर्लाही, चितवन, नवलपरासी, कपिलवस्तु र बझाङ छन् । बरामद रक्तचन्दन नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिएर राखिएको छ । 

वन तथा वातावरण मन्त्राएका प्रवक्ता बद्रीराज ढुङ्गानाका अनुसार  भारतले ललितपुरको फ्ल्यास फ्राइट लजिस्टिक कम्पनीमार्फत रक्तचन्दन फिर्ता लिन लागेको छ । “हामीले यो ठाउँमा यति परिमाणमा रक्तचन्दन छ भनेर जानकारी दिने छौँ । उनीहरूले आर्थिकलगायतको व्यवस्थापन गर्छन् । त्यसैबमोजिम नेपालले सहजीकरण गर्ने छ,” उहाँले भन्नुभयो । 

भारतीय पक्षले विभिन्न ठाउँमा सङ्कलन केन्द्र बनाएर रक्तचन्दन फिर्ता लान सक्ने उहाँले बताउनुभयो । “नेपाली कन्टेनरलाई भारत जान दिइँदैन । भारतीय कन्टेनर नेपाल आएर लिने हो ।” उहाँले विभिन्न ठाउँमा रहेका रक्तचन्दन सानो गाडी पठाएर काठमाडौँसहित विभिन्न जिल्लामा सङ्कलन केन्द्र बनाएर ठुलो कन्टेनरमा राखेर लैजान सकिने बताउनुभयो । उहाँका अनुसार नेपाल सरकारको जिम्मा सीमासम्म सुरक्षा दिएर पठाउन सहजीकरण गर्ने मात्रै हुन्छ । 

२०६४ सालदेखि बरामद गरेर राखिएको रक्त चन्दन भारतलाई फिर्ता गर्ने प्रक्रियाले सार्थकता पाउन लागेको हो । नेपाल सरकारले चौथो पटक रक्तचन्दन फिर्ता गर्ने निर्णय गरेपछि बल्ल भारतले रक्तचन्दन फिर्ता लिन तयार भएको हो ।   

२०६५ सालमा बसेको मन्त्रीपरिषद् बैठकले ५४ हजार ११२ केजी रक्तचन्दन भारतलाई फिर्ता गर्ने निर्णय गरेको थियो । तर ३६ हजार ९२८ किलो रक्तचन्दन मात्र फिर्ता गरिएको थियो । त्यसै गरी २०७१ फागुन १२ मा बसेको मन्त्रीपरिषद् बैठकले २७ हजार १६६ केजी रक्तचन्दन भारतलाई फिर्ता दिने निर्णय गरेको थियो । 

२०७६ साल पुस र २०८० साउनमा सरकारले भारतलाई फिर्ता दिने निर्णय भए पनि रक्तचन्दन फिर्ता हुन सकेको थिएन । भारतमा पाइने रक्तचन्दन नेपाललाई ट्रान्जिट प्वाइन्ट बनाउँदै चीनलगायत तेस्रो मुलुक निर्यात हुँदा बरामद भएको थियो । 

  

Author
वीरेन्द्र ओली

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।