• १२ असोज २०८१, शनिबार

स्थानीय तह निर्वाचन

काठमाडौं महानगर प्रमुखका उम्मेदवार काँग्रेस नेत्री सिंहको सङ्कल्पपत्र सार्वजनिक

blog

फाेटाे–सागर बस्नेत

सपना थामी / आशा साह

काठमाडौं, वैशाख १५ गते  । सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेस काठमाडौं महानगरपालिकाको प्रमुख पदका उम्मेदवार सिर्जना सिंहको सङ्कल्प पत्र सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा उहाँले सात 'स' को सङ्कल्प व्यक्त गर्नुभएको हो ।

बिहीबार माइतीघर हाइटमा चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंहले काँग्रेसको सिद्धान्त, आदर्शलाई मनन गरेर त्यसमा लाग्ने बताउनुभएको छ । 

सेवा र सुशासन, स्वास्थ्य, शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ, सफा दिगो पर्यावरण, सुरक्षित सहर, संस्कृति, सम्पदा र सुरक्षा, सबल र समुन्नत पूर्वाधार र सबल युवा, स्वावलम्बी महिला, सिर्जनशील महानगर लगायतका मुख्य बुँदामा आधारित प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको हो ।

काठमाडौंस्थित शङ्करदेव क्याम्पसबाट २०४१ सालमा बि. कम र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा वि.सं. २०६२ मा स्नाकोत्तर गर्नुभएको हो ।

काठमाडौं महानगर प्रमुख पदको उम्मेदवारी दिदै गर्दा बीपी, किसुनजी, गणेशमान सम्झन चाहन्छु, उहाँले भन्नुभयो –'म गणेशमान र मङ्गलादेवीकी बुहारी हुँ ।' मेयर भनेको ठूलो पद हो भन्ने छ तर,  सबैभन्दा पहिले सुशासनप्रति ध्यान दिइने उहाँको भनाइ छ ।

 चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा आफ्नो मन्तव्य राख्नुहुँदै प्रमुख पदकी उम्मेदवार सिंह

आफू निर्वाचित भइसकेपछि सबैभन्दा पहिले भ्रष्टाचारमुक्त सेवा र सुविधा उपलब्ध गराउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको छ ।

उहाँले महानगरलाई भ्रष्टाचारमुक्त महानगर बनाउने र फोहोरमुक्त सहर बनाउने बताउनुभएको छ । त्यस्तै, महिलालाई सुरक्षित महसुस हुनेगरीको महानगर बनाउने आफ्नो योजना रहेको उहाँले बताउनुभयो । 

सिंहले २०३३ सालमा नेपाली काँग्रेसको सदस्यता लिनुभयो । काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी सङ्घको सचिव हुँदै २०३५ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसमा एकाइ सभापतिको जिम्मेवारीमा रहेर काम गर्नुभयाे। २०३६ सालमा महिला बहुदलीय प्रचारप्रसार समिति जिल्ला अध्यक्ष गोरखा, २०३९ मा शंकरदेव क्याम्पसमा विद्यार्थी युनियनमा निर्वाचित कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ भने २०४६ को जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको छ ।

‘‘रातिसम्म काम गरेर सहज हिँड्डुल गर्न गाह्रो छ । म प्रमुख भए त्यो समस्या हटाउँछु । त्यसका लागि झिलिमिली सडक बनाउँछु, सिसिटिभी क्यामराहरू राख्छु ।,’’ उहाँले भन्नुभयो । 

उहाँले प्रदूषण कम गर्न काम गर्ने पनि बताउनुभएको छ । ‘खाल्डाखुल्डी देख्न नपर्ने सहर बनाउँछु, घरदेखि सडकसम्मका फोहोर हटाउँछु,’ उहाँले सुशासन कायम राख्ने र महिलालगायतलाई सुरक्षित काठमाडौं सहर बनाउने र काठमाडौंमा साइकल लेन बनाउने बताउनुभयो । 

‘‘काठमाडौंको धर्म, संस्कृतिप्रति मलाई जानकारी छ । म सबैको प्रतिनिधित्व गर्छु ।,’’ उहाँले भन्नुभयो । 

२०३७ मा बीपी कोइराला स्वास्थ्य उपचारका लागि चन्दा सङ्कलन गर्ने क्रममा पटक–पटक पक्राउ पर्दा हनुमानढोकास्थित जेल जीवनको अनुभव उहाँसँग छ ।

सत्ता गठबन्धनबाट प्रमुख पदमा काँग्रेस नेत्री सिंह उम्मेदवार हुनुहुन्छ भने नेकपा (एकीकृत समाजवादी)बाट रामेश्वर श्रेष्ठ उपप्रमुख पदका उम्मेदवार हुनुहुन्छ । 

काँग्रेस प्रवक्ता प्रकाशशरण महत

काँग्रेस प्रवक्ता प्रकाशशरण महतले पहिलो पटक काठमाडौं महानगरपालिकाले महिला उम्मेदवार पाउँदै गरेको बताउनुभएको छ । उहाँले महिलामात्रै नभएर एउटा सक्षम पृष्ठभूमि भएको उम्मेदवार पाउँदै गरेको बताउनुभयाे। 

‘‘यो गर्वको कुरा हो । विशेष गरेर महिला दिदीबहिनीका लागि थप गर्वको विषय हो ।,’’ उहाँले भन्नुभयो, ‘‘हामीले महिला सहभागिता भएन, महिला निर्वाचित भएन भनिरहन्छौं । तर, अहिले अवसर आएको छ । यो अवसरलाई गुमाउनु हुँदैन । हामी सम्पूर्ण पार्टी पङ्क्ति अत्यन्त क्रियाशिलताका साथै उहाँलाई जिताउन लाग्नुपर्छ ।’’

यसैगरी, उहाँले मुलुकको राजनीतिक अहिले मनोरञ्जमय भएको पनि बताउनुभयो । चुनावको मुखमा राजनीतिलाई मानिसहरुले मनोरञ्जको रुपमा मात्रै बुझिदिनुपर्ने हो कि भन्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ । 


–चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा सहभागी नेताहरू

‘‘कहिले कसले मनोरञ्जन गर्छ, कहिले कसले गर्छ, अहिले काठमाडौंमा केशव स्थापित फेरि मनोरञ्जन गरिहेको देख्छु,’’ उहाँले भन्नुभयो, ‘‘राजनीतिक भनेको मनोरञ्जन होइन, चुनावको मुखमा जसले धेरै मनोरञ्जन दिन्छ, उसैलाई जिताउनुपर्ने हो कि भने जस्तो अवस्थामा सिर्जना गर्न खोजेको देख्छु । तर, अब धेरै मनोरञ्जन चल्दैन ।’’

यस्तै, उहाँले काँग्रेस उम्मेदवार सिंह राजनीतिमै नभएको भन्ने कुरा गलत भएको बताउनुभएको छ । ‘मैले प्रकाशमानजीभन्दा पहिलेदेखि सिर्जनाजीलाई चिन्छु, म विद्यार्थी राजनीति गर्दा नै सिर्जनाजी विद्यार्थी राजनीतिमा आउनुभएको थियो । उहाँकाे सक्रियता त्यही बेलादेखि हो,’’ प्रवक्ता महतले भन्नुभयो, ‘‘विवाहपछि उहाँले परिवारलाई सघाउनुभयो । त्यही कारण त्यो परिवारको एउटा मिसन पूरा भयो । वास्तवमा लोकतन्त्रलाई संस्थागत गर्ने कुरामा गणेशमान सिंहको परिवारको ठूलो योगदान छ ।’’

महामन्त्री गगन थापा

यस्तै, महामन्त्री गगन थापाले काठमाडौंमा आम महिला मतदातालाई काठमाडौंको प्रमुखमा महिला ल्याउने अवसरबाट नचुक्न आग्रह गर्नुभएको छ । 

‘‘अघिल्लो पटक सूर्यमा भोट हालेको महिलाले पनि चोच्नुस् लडाइँ घरभित्र पनि छ । श्रीमानसँग छ, छोरासँग छ । महिलाको लडाइँ सजिलो छैन,’’ उहाँले भन्नुभयो, ‘‘‘राजधानीमा महिला प्रमुख भएको कल्पना गरौं त । अघिल्लो पटक सूर्यमा हाल्नुभयो भोलि पनि हाल्नु होला । तर, यसपटक महिलालाई जिताउँनुस् ।’’

उहाँले काठमाडौं महानगरमा ससाना काम गर्ने इच्छाशक्ति भएको प्रमुख चाहिएको कुरामा जाेड दिनुभयाे । 


–चुनावी घोषणापत्र सार्वजनिक कार्यक्रममा उम्मेदवार सिंहबारे धारणा राख्नुहुँदै नेता थापा

‘‘काठमाडौंमा जता फर्किए पनि समस्या मात्रै छन् । त्यसैले मलाई लाग्छ हामी ठूल्ठूला सपनामात्रै बाँड्ने प्रमुख चाहिएको होइन्’’ उहाँले भन्नुभयो, ‘‘स–साना काम गर्ने साथी रूपमा  प्रमुख चाहिएको हो ।’’

महामन्त्री थापाले काठमाडौंमा सडक, फुटपाथ, ढल, शिक्षा स्वास्थ्य जस्ता समस्याहरुको पहिचान गरी दिगो समाधान गर्ने नेतृत्व आवश्यक रहेको बताउनुभयो । 

पूर्वसभापति भीमसेनदास प्रधान 

पूर्वमन्त्री एवम् नेपाली काँग्रेस काठमाडौंका पूर्वसभापति भीमसेनदास प्रधानले स्थानीय तह निर्वाचन गठबन्धन भर्सेस एमाले रहेको प्रतिक्रिया दिनुभयाे । 

‘‘यसपटकको चुनाव काँग्रेस भर्सेस एमाले होइन, माओवादी केन्द्र भर्सेस एमाले होइन, एकीकृत समाजवादी भर्सेस एमाले होइन की सत्ता गठबन्धन भर्सेस एमाले हो ।,’’ उहाँले भन्नुभयो । तर, गठबन्धन चुनाव हार्दा भने काँग्रेसकै पहिलो नम्बरमा नाक खुम्चने उहाँले बताउनुभयो ।  

‘‘पहिलो नम्बरमा काँग्रेसकै नाक खुम्चिन्छ, त्यसपछि माओवादी केन्द्र र एकीकृत समाजवादीको नाक खुम्चने हो,’’ उहाँले भन्नुभयो, ‘‘गठबन्धनमा घात–प्रतिघात भए अर्को द्वन्द्व सिर्जना हुन्छ । अर्को प्रतिगमन देशमा सुरू हुन्छ ।’’

केन्द्रीय सदस्य अम्बिका बस्नेत

काँग्रेसकी केन्द्रीय सदस्य अम्बिका बस्नेतले काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई प्रमुखको टिकट दिएकोमा समग्र महिला हर्षित भएको बताउनुभएको छ । 

‘‘सक्षम महिला नेतृलाई अगाडि सारेको छ । हामी अत्यन्त हर्षित भएका छौं,’’ उहाँले भन्नुभयो, ‘‘परिवर्तनको नेतृत्वमा महिलाहरूले भूमिका खेलेका छन् । जसको मूल्याङ्कन गरेर काँग्रेसले महिलालाई काठमाडौंजस्तो महानगरमा नेतृत्व दिएको छ ।’’

उहाँले सिंहको उम्मेदवारीले महिलाहरू दोस्रो दर्जाको नागरिक होइन भन्ने तथ्य प्रमाणित भएको बताउनुभयो ।

‘‘हामी भन्ने गर्थ्यौ महिलाहरू दोस्रो दर्जाको नागरिक होइन ।। काँग्रेसले महिला नेतृलाई काठमाडौं जस्तो महानगरमा महिलालाई नेतृत्व दिएर खुसीको काम गरेको छ,’’ उहाँले भन्नुभयो, ‘‘काँग्रेसले महिलालाई सम्मान गर्छ, अस्तित्व स्वीकार गर्छ भन्ने प्रमाण हो ।’’


–उम्मेदवारी दिन जानुहुँदै नेतृ सिंह (फाइल फाेटाे)
सिर्जना सिंह को हुनुहुन्छ ?

उहाँको जन्म वि.सं. २०१९ भदौ ९ गते बुवा किसुन बाबु श्रेष्ठ र आमा दीर्घकुमारी श्रेष्ठको कोखबाट गोरखामा भएको हो । उहाँले काठमाडौंस्थित शंकरदेव क्याम्पसबाट २०४१ सालमा बि. कम र त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा वि.सं. २०६२ मा स्नाकोत्तर गर्नुभएको हो ।

काँग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहकी पत्नी समेत रहनुभएका उहाँको ससुरा स्वर्गिय गणेशमान सिंह नेपाली राजनीतिमा लौह पुरुषको रुपमा मानिन्छ । यस्तै, उहाँकी सासु स्वर्गीय मङ्गलादेवी सिंह पनि देशको प्रजातान्त्रिक र महिला आन्दोलनमा अग्रणी नेता हुनुहुन्थ्यो ।

राजनीतिक जीवन

सिंहले २०३३ सालमा नेपाली काँग्रेसको सदस्यता लिनुभयो । काँग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी संघको सचिव हुँदै २०३५ देखि २०३८ सम्म महाबौद्ध क्याम्पसमा एकाइ सभापतिको जिम्मेवारीमा रहेर काम गर्नुभयाे। २०३६ सालमा महिला बहुदलीय प्रचारप्रसार समिति जिल्ला अध्यक्ष गोरखा, २०३९ मा शंकरदेव क्याम्पसमा विद्यार्थी युनियनमा निर्वाचित कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको छ भने २०४६ को जनआन्दोलनमा पनि सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । यसअघि २०३७ मा बीपी कोइराला स्वास्थ्य उपचारका लागि चन्दा संकलन गर्ने क्रममा पटक–पटक पक्राउ पर्दा हनुमानढोकास्थित जेल जीवनको अनुभव उहाँसँग छ ।

 सोही समयमा उहाँले नेवि सङ्घ दाङको पनि नेतृत्व गर्नुभएको छ । पछिल्लो समय २०७२ सालको भूकम्पमा उहाँ सामाजिक कार्यमा सक्रिय रहँदै आउनुभएको थियो । यसैगरी, २०७६ यता विश्वव्यापी कोभिड–१९ महामारीमा पनि सक्रिय रही विभिन्न सामाजिक कार्यम संलग्न हुँदै आउनुभयाे । काठमाडौंको शोभा भगवतीस्थित कर्ण दीप सेवा समितिमा उपाध्यक्ष, निसाह्य सेवा सदनको आजीवन सदस्य, राधाकृष्ण मन्दिर भीमसेन गोलाको सदस्य तथा राधाकृष्ण मन्दिर र बानेश्वरस्थित हनुमानथान जस्ता धार्मिक तथा सांस्कृतिक गतिविधिमा उहाँ सक्रिय हुनुहुन्छ ।