• १५ असार २०८१, शनिबार

हावाहुरीले विद्युत् सेवा अवरुद्ध

blog

कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा हाँगा भाँचिएर तारमाथि परेको सुकेको रुखको हाँगाहरू पन्छाउँदै विद्युत् कर्मचारी । तस्बिर सौजन्य ः विद्युत् प्राधिकरण

खजुरा, असार ६ गते । गए राति आएको हावाहुरीका कारण नेपालगन्ज क्षेत्रका धेरै स्थानहरूमा विद्युत् वितरण तथा प्रसारण लाइनको पोलहरू र तारमा क्षति भएका कारण नेपालगन्जको विद्युत् सेवा अवरुद्ध भएको छ ।

हावाहुरीका कारण कैयौँ स्थानमा बिजुलीका पोलहरू ढलेको र दर्जनौँ स्थानमा तारहरू चुँडिएका कारण नेपालगन्जका केही स्थानमा विद्युत् अवरुद्ध हुन पुगेको नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रले जनाएको छ ।

“गए राति पौने दश बजेको समयमा नेपालगन्जमा आएको भीषण हावाहुरीका कारण धेरै स्थानहरूमा  बिजुलीका धेरै पोल ढलेका छन्, दर्जनौँ तार चुँडिएका छन् भने कतिपय ठाउँमा रुख ढल्नुका साथै रुखका हाँगाहरू भाँचिएर तारमाथि आउँदा समस्या उत्पन्न भएको छ ।” नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका सहायक प्रबन्धक ई.जगन्नाथ लामिछानेले भन्नुभयो ।

“राति देखिनै हामी विद्युत् लाइन मर्मत गरेर सुधार गर्ने प्रयासमै छौँ, नेपालगन्ज क्षेत्रबाट प्रसारण हुने चार वटा सर्किटमध्ये राति नै दुई वटा सर्किटबाट विद्युत् प्रसारण सुचारु गरेका छौँ, अरू दुई वटा सर्किटका कामहरू अहिले भइरहेको छ ।” उहाँले भन्नुभयो, “बाँकी दुई वटा सर्किटबाट करिब ११ बजेको समयसम्म लाइन प्रसारण गर्ने गरी काममा जुटेका छौँ ।”

चालु भएका दुई वटा सर्किटबाट नेपालगन्जका फुल्टेक्रा, बसपार्क, एयरपोर्ट फिडरको भाटभटेनी, न्यूरोड, बागेश्वरी मन्दिर आसपासका क्षेत्रहरूमा विद्युत् सुचारु भएको र बाँकी दुई वटा सर्किटबाट प्रसारण हुने सदरलाइन, सुर्खेतरोड, वोर्डर साइड, विपी चोकको पश्चिम क्षेत्रलगायतका क्षेत्रमा विद्युत् अवरुद्ध भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार कोहलपुर–नेपालगन्ज प्रसारण लाइनको पिप्रहवा क्षेत्रमा रहेको सुकेको रुखको हाँगा भाँचिएर तारमा खस्दा समस्या उत्पन्न भएको हो । अहिले रुखका हाँगाहरूलाई टुक्रा टुक्रा पारेर काट्ने काम भइरहेको छ । करिब २५ वटा पोल ढलेको उहाँले बताउनुभयो । “यकिन तथ्याङ्क अझै प्राप्त भइसकेको छैन, करिब २५ पोल भाँचिएको अनुमान छ, भाँचिएका पोलहरू बदल्ने र तार विस्तार गर्ने काम अहिले भइरहेको छ ।” ई. लामिछानेले भन्नुभयो ।

पोलमा तारको लोडले तान्दा एक पोल ढल्दा क्रमशः अन्य पोलहरू पनि ढल्ने गरेको उहाँले बताउनुभयो । “सिमेन्टेड पोलहरू बाङ्गिने,  लचकदार हुँदैनन्, एक पोल ढल्यो भने तारको लोडले नजिक रहेका अन्य पोलहरू पनि क्रमशः तान्दै लैजान्छ र ढल्न पुग्छ ।” उहाँले भन्नुभयो ।

हावाहुरीका कारण गए राति देखि नेपालगन्जका केही स्थानहरूमा बत्ती नहुँदा खानेपानीको समेत समस्या देखिएको छ । बत्ती नभएका स्थानमा नेपाल खानेपानी संस्थानले वितरण गर्ने खानेपानी नआउँदा स्थानीय समस्यामा परेका हुन् । केही समय अघि पनि हावाहुरीका कारण यहाँका करिब दुई सय पोलहरू ढल्दा क्षति भई विद्युत् सेवा अवरुद्ध हुन पुगेको थियो ।

Author
गजेन्द्र गुरुङ

उहाँ बाँके (खजुरा)बाट रिपोर्टिङ गर्नुहुन्छ ।