• १३ असोज २०८१, आइतबार

निर्वाचन क्षेत्र रणनीतिक सडकको काम रोकियो

blog

निर्माण कार्य भएको तर भुक्तानी नपाएको निर्वाचन क्षेत्र रणनीतिक सडक । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, असार ५ गते । निर्वाचन क्षेत्र रणनीति सडक निर्माण कार्य रोकिएको छ । हिल्सा सिमकोट सडक आयोजनाले हेर्दै आएको उक्त सडक निर्माणका लागि बजेट अभाव भएपछि निर्माण कार्य रोकिएको हो । 

आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले नाम्खा गाउँपालिका–२ को खगालगाउँदेखि सो वडाको रानी सैनासम्मको निर्वाचन क्षेत्र रणनीतिक सडकको निर्माण कार्य रोकिएको बताउनुभयो । उक्त सडक निर्माणका लागि आयोजनाले २०७९ साल जेठ ११ गते निर्माण कम्पनी स्वच्छन्द दावा जेभी जोरपाटी काठमाडौंलाई छनाेट गरेर सम्झौता गर्दै निर्माण कार्य अगाडि बढाएको थियो । 

यसका लागि आयोजनाले २२ करोड सात लाख ८० हजार १२४ रुपियाँ लागत लाग्ने गरि निर्माण कम्पनीसँग सम्झौता गरेको थियो । उहाँले दुई आर्थिक वर्षमा आएको बजेटबाट सडक निर्माण गरेको दुई करोड ३६ लाख रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी आयोजनाले दिइसकेको बताउनुभयो । अब उक्त सडकका लागि आयोजनासँग बजेट छैन । उहाँले भुक्तानी भएपछि पनि निर्माण कम्पनीले सडक निर्माण गरेको चार करोड ६७ लाख १८ हजार ५९३ रुपियाँ आयोजनासँग बिल उठाएर भुक्तानी मागेको बताउनुभयो । 

यस्तै, गरेको कामको भुक्तानी दिन नसकिए पछि निर्माण कम्पनीले सडक निर्माण कार्य रोकेको बताउनुभयो । उक्त सडक २०८२ साल जेठ ११ गते सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । जम्मा तेह्र दशमलव चार किलोमिटर सडकमध्ये आठ किल मिटर सडकको निर्माण कार्य सम्पन्न भएको उहाँले बताउनुभयो । यसका लागि आयोजनाले पटक पटक विभागसँग बजेट माग गरेको भए पनि असार ४ गतेसम्म निकासा नदिएको आयोजनाका लेखा प्रमुख विजय रोकायाले बताउनुभयो । निर्माण कम्पनीका प्रतिनिधि दैनिकजसो भुक्तानीका लागि कार्यालयमा आउने गरे पनि फिर्ता पठाउनुको अन्य विकल्प नरहेको उहाँले बताउनुभयो । 

सडक निर्माण गरेको बिल विभागमा आयोजनाले बजेट मागका लागि पठाएको छ । भुक्तानी नपाएपछि हाल काम अगाडि नबढेको बताउँदै निर्माण कम्पनीका प्रतिनिधि कुलबहादुर लामाले तीन महिनादेखि उधारोमा काम गरेको भए पनि हालसम्म भुक्तानी नपाएको बताउनुभयो । बजेटको व्यवस्था हुनसके काम सम्पन्न गर्ने समय अगाडि नै सडकको निर्माण कार्य सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो ।