• २८ वैशाख २०८१, शुक्रबार

निर्वाचनविरोधी जनमत परीक्षण

शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय सुझबुझपूर्ण

blog

काठमाडौँ, वैशाख १५ गते । सबैखालका निर्वाचन राजनीतिक दलहरूका लागि स्वपरीक्षणका माध्यम हुने गरेका छन् । यस पटकको स्थानीय तह निर्वाचन यसअघिका निर्वाचनको विरोध गर्ने दलका लागि पनि जनतामा जाने माध्यम बनेको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) तथा डा. सीके राउत नेतृत्वको जनमत पार्टीले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय निर्वाचनमा गर्ने भएको प्रतिस्पर्धा यसै आधारमा महìवपूर्ण बनेको हो । 

स्थानीय निर्वाचनअघि नै जनमत पार्टीले दल दर्ता गरिसकेको थियो तर स्थानीय निर्वाचनको प्रयोजनका लागि विप्लव नेतृत्वको माओवादीले दल दर्ता गर्न बाँकी थियो । विद्रोहको जगमा उभिएको पार्टीले विभिन्न स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएर चुनावी प्रतिस्पर्धामा उत्रिने निर्णय गरेकाले नेपालको शान्ति प्रक्रियाका लागि पनि ऐतिहासिक महìवको बनेको छ ।

नेपालको संविधानका कतिपय प्रावधानमाथि प्रश्न उठाउँदै सशस्त्र विद्रोहमा उत्रिएको विप्लव नेतृत्वको माओवादी र तराई क्षेत्रमा कृषकको अधिकारको नाममा सङ्घर्षरत जनमत पार्टीले गत वर्ष मूलधारको राजनीति स्वीकार गर्ने घोषणा गरेका थिए । त्यसपछि दुवै दल पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । विप्लव र डा. राउतको पार्टी शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धामा प्रवेश गरेसँगै नेपालको लोकतान्त्रिक व्यवस्था थप मजबुत हुने अपेक्षा गरिएको राजनीतिक विश्लेषक मुमाराम खनालको भनाइ छ । उहाँले शान्तिपूर्ण राजनीतिक प्रतिस्पर्धा गर्ने निर्णय सुझबुझपूर्ण र बुद्धिमानी भएको बताउनुभयो । 

खनालले भन्नुभयो, “विद्रोहीहरू या त राज्यसँग भिडन्तमा सकिएका छन्, या त शान्तिपूर्ण राजनीतिक बाटो स्वीकार गरेका छन् ।” उहाँले भिडन्तमा सकिनुभन्दा शान्तिपूर्ण राजनीतिमार्फत आफ्ना मुद्दा जनतामा स्थापित गर्नु उचित हुने धारणा व्यक्त गर्नुभयो । 

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले शान्तिपूर्ण, सुशासन र भ्रष्टाचारमुक्त समाज बनाउने पार्टीको मूल नीतिलाई चुनावमार्फत जनतासमक्ष लैजान निर्वाचनमा सहभागी भएको बताउनुभयो ।

जनमत पार्टीले उठायो एक सय ५० स्थानीय तहमा उम्मेदवार

डा. सीके राउत नेतृत्वको जनमत पार्टीले एक सय ५० स्थानीय तहमा उम्मेदवारी दर्ता गराएको छ । गोरखात्रपसँग कुरा गर्दै अध्यक्ष राउतले मनोनयन दर्ताको सम्पूर्ण तथ्याङ्क आउन बाँकी रहेको र करिब एक हजार पाँच सय वडामा उम्मेदवारी दर्ता भइसकेको जानकारी दिनुभयो । 

अध्यक्ष राउतले भन्नुभयो, “पार्टीले उठाएका मुद्दा जनतासम्म पु-याउन तथा स्थानीय चुनावलाई थप प्रभावकारी बनाउन प्रत्येक स्थानीय तहले आफ्नै घोषणापत्र जारी गरी त्यसको कार्यान्वय गर्ने व्यवस्था मिलाएका छौँ ।” 

चुनावविरोधीलाई कारबाही 

विप्लव नेतृत्वको माओवादीले चुनावमा आए पनि उक्त दलमा अझै आन्तरिक विवाद कायमै रहेको देखिएको छ । चुनावमा जाने वा नजाने विवादकै क्रममा उम्मेदवारीको विरोध गर्ने दुई नेतालाई महासचिव विप्लवले पार्टीबाट निष्कासन गर्नुभएको छ । विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको बहुमतले स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धा गर्ने निर्णय गरेविपरीत तथा पार्टीको हितविपरीत गतिविधि गरेको भन्दै पार्टी सचिवालय सदस्यद्वय हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र धर्मेन्द्र बाँस्तोलालाई पार्टीबाट निष्कासन गरिएको उल्लेख गर्नुभएको छ । 

बाँस्तोला र ओलीले पार्टीको निर्णयविपरीत निर्वाचनबारे भ्रम फैलाएको आरोप विज्ञप्तिमा लगाइएको छ । महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलगायत प्रभावशाली नेता र केन्द्रीय कमिटी निर्वाचनको पक्षमा रहँदा ओली र बाँस्तोलाले त्यसमा असन्तुष्ट बन्दै पार्टीको आलोचना गर्नुभएको थियो ।

गत चैत पहिलो साता बसेको केन्द्रीय समितिको बैठकमा विप्लवले चुनाव उपयोग गरेर जाने प्रस्ताव गर्नुभएको थियो । सो प्रस्तावविपरीत गतिविधि गरेको आरोप ओली र बाँस्तोलामाथि लागेको छ । 

ओली र बाँस्तोलाले भने आफूहरूमाथिको कारबाहीबारे पार्टीको केन्द्रीय समितिमा छलफल चलाउने बताउनुभएको छ । केन्द्रीय समितिमा बहुमत जुटाउन सके नेतृत्वमाथि नै कारबाही गर्ने तयारी असन्तुष्ट पक्षको छ ।