• १३ असार २०८१, बिहिबार

निर्देशकको असन्तुष्टि

blog

काठमाडौँ, असार ५ गते । चलचित्र ‘बोक्सीको घर’ को अन्तर्राष्ट्रिय प्रदर्शनीका क्रममा नायिका केकी अधिकारी अस्ट्रेलियामा रहेका बेला चलचित्रका लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई नियतवश ओझेलमा पारिएको बताउनुभएको छ । सोमबार चलचित्र प्रदर्शनीको ५१ दिन मनाएको ‘बोक्सीको घर’ का लेखक तथा भारतीले चलचित्रको प्रचारदेखि च्यारिटी प्रदर्शनसम्म नायिका अधिकारीले आफूलाई बेवास्ता गरेको बताउनुभयो । चलचित्रका निर्माता केकीका बुवा बद्री अधिकारी हुनुहुन्छ । 

निर्देशक भारतीले भन्नुभयो, “निर्माताको काम चलचित्रमा लगानी गर्ने हो तर चलचित्र बनाउने त निर्देशकले हो । अमेरिकी दूतावास, माइती नेपाललगायत थुप्रै ठाउँमा च्यारिटी सो गरिए तर कतै पनि मलाई बोलाइएन ।” उहाँले भन्नुभयो, “यो सिर्जना मेरो हो । कथा लेखन मैले गरेको हुँ । त्यसैले चलचित्रको प्रदर्शन होस वा छलफल मैले पनि ठाउँ पाउनु पर्छ । एउटा सर्जकलाई पनि त स्थान दिनु पर्छ । मैले पैसा लिएर चलचित्र निर्देशन गरेँ भन्दैमा म त्यो चलचित्रको हिस्सा नै होइन त भन्न मिलेन नि !” यस विषयमा लेखक तथा निर्देशक भारतीले निर्मात्री तथा नायिका केकी 

अधिकारीसँग समेत गुनासो राखिसकेका छन् । तथापि “विस्तारै गर्ने हो,” भन्दै नायिका अधिकारीले टार्ने गरेको निर्देशक भारतीले बताउनुभयो । अहिले नायिका केकी अधिकारी चलचित्र लिएर विदेशमा हुनुहुन्छ । नायिका अधिकारीलाई यसबारे म्यासेन्जरमा जिज्ञासा राख्दा “अहिले कार्यक्रममा रहेको र पछि कुरा गरौँला” भनेर टार्नुभयो । चलचित्रका निर्माता बद्री अधिकारीले चलचित्रको प्रवर्धन सामग्री सार्वजनिक, प्रिमियर सो, अन्तर्वार्तालगायत कार्यमा नायिका र निर्देशक सँगसँगै रहेको दाबी गर्नुभयो ।

गत वर्ष रेखा थापाको चलचित्र ‘उपहार’ को विषयमा समेत रङ्गकर्मी सुलक्षण भारती र थापाबिच विवाद भएको थियो । त्यो बेला कथाकार भारतीले आफूले लेखेको कथामा बिनापारिश्रमिक काम गर्न खोजेको भन्दै चलचित्रको निर्माण टिमप्रति असन्तुष्टि पोख्नुभएको थियो । उहाँले सामाजिक सञ्जालमार्फत चलचित्रका निर्देशक ज्ञानेन्द्र देउजा र निर्मात्री तथा अभिनेतृ रेखालाई लक्षित स्टाटस लेख्दै ‘मेरो वान लाइन वा कथामाथि अनुमति र पारिश्रमिकबिना काम गर्नु खोज्नु कत्तिको न्यायोचित होला’ भन्दै प्रश्न उठाउनुभएको थियो ।