• १२ असार २०८१, बुधबार

पृथ्वीनारायण शाहले पानी पिउने ढुङ्गेधारा गुमनाम

blog

गुणबहादुर रोका 

सुलीकोट, असार ४ गते । गोरखा नगरपालिका–५, मानेपानीमा रहेको ऐतिहासिक मानेपानी ढुङ्गेधारा गुमनाम अवस्थामा छ । इतिहासविद् तथा उपप्राध्यापक यदु अधिकारीले तत्कालीन राजा श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले त्यसै धारोमा दैनिक एक माना पानी पिउने भएकाले त्यस धाराको नाम मानेपानी धारो भएकोे बताउनुभयो । 

उहाँका अनुसार मानेपानी ढुङ्गेधारा गोरखकाली मन्दिरदेखि विन्ध्यवासिनीमाई मन्दिर जाने पदमार्गको बिचमा छ । उहाँका अनुसार यो ढुङ्गेधारामा जाडो र गर्मी दुवै मौसममा तातोपानी आउँछ । उपप्राध्यापक अधिकारीले भन्नुभयो, “मानेपानी ढुङ्गेधाराको विषयमा गोरखाका प्रसिद्ध इतिहास भन्ने मेरो पुस्तकमा समेत विभिन्न अग्रजको भनाइका आधारमा पुस्तकमा लेखिएको छ ।” 

महìवपूर्ण इतिहास बोकेर पनि सो धारा गुमनाम अवस्थामा रहेको स्थानीयले बताएका छन् । स्थानीय किसान अच्छामीले गोरखा सदरमुकामबाट करिब दुई किलोमिटर पूर्व मानेपानी गाउँमा रहेको यो धाराले ऐतिहासिक महìव बोकेर पनि प्रचारप्रसार हुन नसक्दा पछाडि परेको जानकारी दिनुभयो । 

धाराका बारेमा अहिलेसम्म कुनै शिलापत्र र अभिलेख भने भेटिएको छैन । गोरखा बजारको नजिकको दुरीमा रहेको धारादेखि दरबारसम्म सिँढी छन् भने दरबार वरिपरि अन्य पानीका स्रोत छैनन् । धाराको निर्माण प्राचीन शैलीमा हुनु र गोरखा दरबारबाट दसैँको फूलपाती सेलाउन त्यही धारामा ल्याउने गरिएको छ ।  तत्कालीन राजा पृथ्वीनारायण शाहले दैनिक रूपमा यसै धाराको पानी एक माना पिउने भएकाले यस ढुङ्गेधाराको नाम मानेपानी धारो रहन गएको जनविश्वास छ । अहिले यो गाउँ मानेपानीका नामले परिचित छ । मानेपानी गाउँमा सार्की थरका ९९ प्रतिशत मानिसको बसोबास छ । तत्कालीन समयमा गोरखा दरबारका गोरखाली सेनाका जुत्ता सिलाउने सेते सार्की र भिउसिने सार्कीका उनीहरू सन्तान रहेको बताइन्छ ।

मानेपानीका स्थानीय ८६ वर्षीय वृद्ध बालकृष्ण अच्छामी गोरखा सदरमुकामसम्म आइपुग्न मानेपानीको बाटो भएर आवतजावत गर्ने सबैले त्यो धाराको पानी पिउने गरेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “गोरखाका सिरानचोक र अजिरकोटका तत्कालीन १३ वटा गाविसका मानिस त्यस धाराको पानी नखाने कमै होलान् ।” उतिबेला राजाले खाएको पानी मानेपानीमा एक माना खानु पर्छ भन्ने चलन नै चलेको उहाँको भनाइ छ । गोरखा नगरपालिका–८ का पूर्ववडाध्यक्ष कृष्णबहादुर खत्रीले आफ्ना बुवा र हजुरबुवाले पनि मानेपानीको पानीको चर्चा गरेको बताउनुहुन्छ । तत्कालीन बेलामा हजरबुवासहित परिवार नै गएर त्यस ठाउँको पानी खाएको उहाँको भनाइ छ ।