• १२ असार २०८१, बुधबार

नुन बोक्ने मार्गलाई पर्यटन पदयात्रासँग जोड्ने प्रयास

blog

यदुप्रसाद भट्ट

मनाङ, असार ३ गते । गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेश गुरुङ समुदायका प्राचीन बस्तीलाई समेट्ने उद्देश्यले गुरुङ सम्पदा पदमार्ग (गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल) को प्रवर्धन र विकासमा जुटेको छ । 

गण्डकी प्रदेशका कास्की, लमजुङ र मनाङका विभिन्न स्थानको पहिचान गरी प्रवर्धन र विकास गरिने लक्ष्य लिइएको छ । गुरुङहरूको धर्म, संस्कृति र परम्परालाई पर्यटनसँग जोडेर संरक्षण र प्रचारप्रसार गर्न गुरुङ पर्यटन व्यवसायी सङ्घले नमुनाको रूपमा गुरुङ हेरिटेज ट्रेकिङ ट्रेल अवधारणा ल्याएको गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजंग गुरुङले बताउनुभयो ।

विकासको नाममा जथाभाबी बाटो खन्ने गरिँदा पदमार्ग मासिँदै गएको अवस्थालाई मध्यनजर गरी सङ्घले गुरुङहरूको उद्गमस्थल लमजुङको क्होलासोँथरसँगै प्राचीन बस्तीलाई समेट्दै त्यहाँका संस्कार संस्कृतिसमेत पदयात्रा पर्यटनसँग जोड्ने गरी प्रवर्धनका कार्यक्रम अघि बढाइएको हो ।

सङ्घले १० दिन लगाएर गुरुङहरूको प्राचीन बस्ती कास्कीको ताङतिङदेखि करापुडाँडा–ताप्रो–क्होलासोँथर–ठुलो लेक–थुर्जु–दुधपोखरी गुरुङ देउराली हुँदै मनाङको डाँफेखर्क भएर तिमाङ हुँदै लमजुङको बेँसीसरहसम्मलाई समेटेर गुरुङ सम्पदा पदमार्गका रूपमा विकास गर्न खोजेको संस्थापक अध्यक्ष गुरुङले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीले नेपाल पर्यटन बोर्ड, पर्यटन मन्त्रालय गण्डकी प्रदेश र पदमार्ग क्षेत्रका मादी, क्होलासोँथर, मर्स्याङ्दी र चामे गाउँपालिकाको सहयोगमा जेठ २१ देखि ३० गतेसम्म सो क्षेत्रमा १० दिने पदयात्रा अन्वेषण एवं प्रवर्धन कार्यक्रम सम्पन्न गरेका छौँ ।’

यो सम्पदा पदमार्गको प्रवर्द्धनका लागि मनाङको चामे गाउँपालिकाको –१ लाख, मादीको १ लाख, मर्स्याङ्दी र क्होलासोँथरको १ लाख ५० हजार, पर्यटन बोर्डको ५ लाख, मन्त्रालयको ३ लाख, हिमालीको ३ लाख तथा गुरुङ पर्यटनले ४ लाख गरी जम्मा २० लाख रुपियाँ जुटाइ माउन्टेन हबका रूपमा विकास गरिने उद्देश्यले १० दिने कार्यक्रम गरिएको अध्यक्ष गुरुङले जानकारी दिनुभयो ।

सङ्घले मनाङको हकमा चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, वडा १ का वडाध्यक्ष खड्कजंग गुरुङ तथा स्थानीय समाजसेवी बुद्धिजीवीसँग अन्तरक्रिया गरेको छ । उहाँले गुरुङ समुदायको आफ्नो मौलिक भाषा, धर्म, संस्कृति मातृभाषा, मौलिक पोसाक र लिपि रहेको बताउँदै यसैको संरक्षण गर्दै आएको बताउनुभयो । 


गुरुङ समुदायका घाटु, सोरठीजस्ता परम्परागत संस्कृति पनि छन् । परम्परागत रूपमा भेडापालनसँगै सिलाइबुनाइलाई मुख्य पेसाका रूपमा अपनाउँदै आएको यो समुदाय वर्तमानमा भने विभिन्न सेवा पेसा व्यवसायसँग आबद्ध भएको छ । पछिल्ला वर्षमा पर्यटन क्षेत्रमा आकर्षित यस समुदायका व्यक्तिहरू ठाउँ ठाउँमा आफ्ना प्राचीन गाउँ बस्तीमा घरवास सञ्चालन गर्दै आएका छन् । 

गुरुङ सम्पदा पदमार्गलाई प्रकृति र संस्कृतिको सङ्गम थलोका रूपमा विकास गरिने गुरुङ पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष किसमकुमारी गुरुङले बताउनुभयो । गुरुङ समुदायको प्राचीन बस्तीका साथै त्यहाँ रहेका पुर्ख्यौली बाटोलाई पदयात्रा पर्यटनसँग जोड्ने आफूहरूको लक्ष्य रहेको उहाँको भनाइ छ । 

पर्यटन व्यवसायी सङ्घ गण्डकी प्रदेशका महासचिव तुल गुरुङका अनुसार परापूर्वकालमा भोटमा नुन लिन जाने मार्गलाई पनि पदयात्रा पर्यटनसँग जोड्न खोजिएको छ ।