• १५ चैत २०८०, बिहिबार

‘गठबन्धनप्रति काँग्रेस प्रतिबद्ध’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख १५ गते  । गृहमन्त्री एवं नेपाली काँग्रेसका नेता बालकृष्ण खाणले संविधान र लोकतन्त्रको रक्षाका लागि सत्ता साझेदार पाँच दलीय गठबन्धन बनेको बताउनुभएको छ । नेपाल तरुण दलले ‘वर्तमान अवस्थामा तरुण दलको भूमिका’ विषयक अन्तरक्रिया तथा बृहत् तरुण भेलालाई सम्बोधन गर्दै गृहमन्त्री खाणले विधि र पद्धति स्थापित गर्नकै लागि गठबन्धन निर्माण भएको बताउनुभयो । 

उहाँले गठबन्धनका पाँच दलका साझा उम्मेदवारलाई स्थानीय तहको निर्वाचनमा विजयी गराउन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्ववर्ती सरकारको निरङ्कुश शैली, लोकतन्त्र विरोधी गतिविधि, मानव अधिकार विरोधी गतिविधिविरुद्ध संविधानको संरक्षण र लोकतान्त्रिक पद्धतिको रक्षार्थ गठबन्धन बनेको हो । स्थानीय तहको निर्वाचनमा भएको तालमेल पनि त्यसैको निरन्तरता हो ।”

गृहमन्त्री खाणले गठबन्धनप्रति नेपाली काँग्रेस प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको आधारशीला तयार भएको बताउँदै स्वतन्त्र रूपमा उम्मेदवारी दिएका काँग्रेस नेता–कार्यकर्तालाई आफ्नो मनोनयन फिर्ता लिन आग्रह गर्नुभयो । 

त्यसैगरी काँग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले स्थानीय तहको निर्वाचनमा पार्टीलाई देशभरि जिताउन युवालाई आग्रह गर्नुभयो । स्थानीय तहबाटै काँग्रेसलाई पहिलो पार्टीका रूपमा स्थापित गर्नुपर्ने उहाँको भनाइ छ ।

डा. राणाले भन्नुभयो, “हामीले निर्धारण गरेका लक्ष्य पूरा गर्न स्थानीय तहदेखि सङ्घसम्म नेपाली काँग्रेसको सरकार बन्नुपर्छ । अनि मात्रै एक–एक योजना पूरा गर्न सकिन्छ ।”काँग्रेस नेत्री तथा पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाका प्रमुख पदका उम्मेदवार सिर्जना सिंहले काठमाडौँ महानगरपालिकालाई मौलिक सहरको रूपमा विकास गर्ने बताउनुभयो । उहाँले महानगरवासीका लागि सेवा सुविधा वृद्धि गर्ने, काठमाडौँलाई व्यवस्थित र नमुना सहरको रूपमा विकास गर्न सकिने धारणा राख्नुभयो ।

नेपाल तरुण दलका अध्यक्ष विद्वान् गुरुङले लोकतन्त्रका लागि रक्षार्थ नेपाली काँग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहमा काँग्रेसका सबै उम्मेदवारलाई निर्वाचित गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।