• २ माघ २०८१, बुधबार

युवा व्यवसायी पोखरेललाई मानार्थ विद्यावारिधि

blog

गोरखापत्र अनलाइन

काठमाडौँ, असार २ गते । युवा व्यवसायी जगत् पोखरेललाई जर्मनीको विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ । जर्मनीको कस्सेलमा रहेको हिस्सेन इन्टरनेश्नल युनिभर्सिटीले उहाँलाई व्यावसायिक र सामाजिक क्षेत्रमा सफल र अनुभवी व्यक्तिको रूपमा मानार्थ विद्यावारिधि प्रदान गरेको हो । 

लामो समयदेखि व्यावसायिक र सामाजिक क्षेत्रबाट अतुलनीय योगदान गरेको र व्यावसायिक तथा सामाजिक क्षेत्रमा अमूल्य अनुभव हासिल गर्दै सफलता प्राप्त गरेकोले उहाँलाई मानार्थ विद्यावारिधि प्रदान गरिएको युनिभर्सिटीका पदाधिकारीले जनाएका छन् । 

नेपाल जेसिजका पूर्व राष्ट्रिय अध्यक्ष पोखरेल दर्जनौँ सामाजिक सङ्घ संस्थामार्फत तीन दशकदेखि सामाजिक सेवामा क्रियाशील हुनुहुन्छ । व्यावसायिक क्षेत्रमा उहाँ लघुवित्त महासङ्घ नेपाल, ट्रष्ट माइक्रो इन्स्योरेन्स, भिजन लुम्बिनी कम्पनी लिमिटेड, भिजन लुम्बिनी ऊर्जा कम्पनीलगायतका कम्पनीको संस्थापक र बहालवाला अध्यक्ष हुनुहुन्छ । आरम्भ चौतारी माइक्रो फाइनान्सको संस्थापक अध्यक्ष हुनुहुन्छ । उहाँ लुम्बिनी मेडिकल कलेजको पनि संस्थापक हुनुहुन्छ । 

सफल र सक्रिय युवा व्यवसायी पोखरेलले अहिले धेरै जनाको सानो रकम सङ्कलन गरी ठुला परियोजना सञ्चालन गर्ने उद्देश्यका साथ क्राउड फन्डीङ्ग कम्पनी स्थापना गर्ने गृहकार्य गरिरहनु भएको छ ।