• ९ असार २०८१, आइतबार

नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन मजदुरको सामूहिक अन्त्येष्टि

blog

नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको सामूहिक अन्त्यष्टि । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, असार १ गते । 
नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर ज्यान गुमाएका तीन जना मजदुरको शनिबार सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ ।

कावासोती ३ को चिहानडाँडामा बौद्ध धर्म संस्कार अनुसार उनीहरूको अन्त्येष्टि गरिएको नेपाल मगर सङ्घ कावासोतीका अध्यक्ष सुनमाया थापा मगरले जानकारी दिनुभयो ।

कावासोती–२ फलफूल चोकमा नाला खन्ने क्रममा एक्कासि खसेको माटोले पुरिएर बिहीबार साँझ कावासोती ५ निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो ।

शुक्रबार पीडित पक्ष र कावासोती नगरपालिकाका जनप्रतिनिधिबिच १० बुँदे सहमतिपछि उनीहरूको अन्त्येष्टि गरिएको मृतकका आफन्त एवम् स्थानीय बासिन्दा भेषराज गाहाले बताउनुभयो ।

मृतकहरूको शनिबार मध्यविन्दु जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिनुभयो । 

नाला खन्ने क्रममा ३ जना मजदुरको ज्यान गएपछि नगरपालिका, प्राविधिक, उपभोक्ता समिति र ठेकेदारको लापरबाहीका कारण घटेको भन्दै पीडित पक्षले शुक्रबार दिनभर कावासोतीमा प्रदर्शन गरेका थिए ।

प्रदर्शनको क्रममा तोडफोड र पटक पटक झडप भए पछि शनिबार पनि कावासोती नगरपालिका र नगर प्रमुख विष्णु प्रसाद भुसालको घर अगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

यो पनि पढ्नुहोस

नालामा पुरिएर तीन महिलाको मृत्यु

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त