• ४ असार २०८१, मङ्गलबार

तीनजनाको मृत्युपछि कावासोती तनावग्रस्त

blog

नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि कावासोतीमा भएको तनाव । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, जेठ ३२ गते ।
नाला खन्ने क्रममा पुरिएर तीन जनाको मृत्यु भएपछि नवलपुर सदरमुकाम कावासोती तनावग्रस्त बनेको छ । मृतकका आफन्त र स्थानीयले नगरप्रमुख विष्णुप्रसाद भुसालविरुद्ध नाराबाजी गर्दै नगरपालिका र निजी निवासमा तोडफोड गरेका छन् ।

उनीहरुले नगरपालिकाको लापरवाहीले पुरिएर तीन जनाको मृत्यु भएको भन्दै नगरप्रमुख भुसालको राजीनामा माग्दै ढुङ्गामुढा र तोडफोड गरेका हुन् ।  नगरपालिका नजिकै जिल्ला प्रहरी कार्यालय रहे पनि घटनास्थलमा प्रहरी आउन ढिला हुँदा पालिकामा ठुलो क्षति पुगेको छ ।

स्थानीय र मृतकका आफन्तले नगरप्रमुख भुसालको घरमा पनि तोडफोड गरेका छन् । उनीहरुले हिजो रातीसम्म पनि भुसालको घर घेराउ गरेका थिए । हिजो घर घेराउ गर्दै नाराबाजी गरिरहेकाहरुलाई प्रहरीले तितरबितर पारे पनि शुक्रबार बिहानैदेखि उनीहरुले नगरपालिका कार्यालय र नगरप्रमुखको घरमा ढुङ्गामुढा गरेका हुन् ।

पीडितपक्ष वार्ता गर्न भनेर नगरपालिका गए पनि नगरप्रमुख भुसाल अनुपस्थित भएपछि पीडित थप आक्रोशित भएका हुन् । नाला खन्ने क्रममा पुरिएर हिजो कावासोती नगरपालिका ५ लक्ष्मीनगर बस्ने ५१ वर्षीया सेती राना, सोही ठाउँकी २५ वर्षीया तानमाया गाहा र २३ वर्षीया चमेली दर्लामी मगरको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा राखिएको छ ।


कावासोती फलफूलचोकदेखि पूर्वतर्फ ११ फिट गहिरो नाला निर्माणको काम भइरहेको छ । उक्त नाला निर्माण गर्ने क्रममा डोजरले खन्ने र मजदुरले भुँइमा ढुङ्गा सोलिङको काम गरिरहेको अवस्थामा एक्कासि माटोको ढिस्को खस्दा पुरिएर मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

नगरपालिकाले शहरी विकास मन्त्रालयको नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको लागि श्रममूलक आयोजना सञ्चालन गर्ने सर्तमा प्राप्त गरेको सात करोड ४२ लाखमध्ये वडा नं. २ को ढललाई व्यवस्थापन गर्नका लागि ४२ लाख ६० हजार रुपियाँ विनियोजन गरी उपभोक्ता समितिमार्फत काम गराएको हो ।