• ८ असार २०८१, शनिबार

थारु भाषा संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्छ : मन्त्री चौधरी

blog

तस्बिर : सचिवालय

काठमाडौँ, असार १ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले थारु भाषा, संस्कृतिको संरक्षण गर्न साझा मानक भाषा बनाउनुपर्ने बताउनुभएको छ । थारु कल्याणकारी सभा केन्द्रीय समितिले आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सहयोगमा आज काठमाडौँमा आयोजना गरेको “थारु भाषा संस्कृति सम्बन्धी अन्तरक्रिया कार्यक्रम”लाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो । 

संस्कार संस्कृतिको रक्षा गर्नु सबैभन्दा पहिले सोही समुदायको दायित्व बढी हुने भन्दै उहाँले त्यसपछि राज्य र समाजको हुने बताउनुभयो । थारु जाति भाषा, संस्कृति, संस्कारले सम्पन्न तराईको आदिवासी भएको भन्दै उहाँले ती कुराको संरक्षण गर्नु आवश्यक रहेको बताउनुभयो । ठाउँअनुसार केही केही शब्दहरू फरक रहने गरेको भन्दै मन्त्री चौधरीले भाषाको संरक्षणका निम्ति ती कुराहरूमा एकरूपता ल्याउन मानक भाषा बनाउनै पर्ने बताउनुभयो । “भाषा नरहेमा त्यो जातिको अन्य कुराहरू बिस्तारै हराउँदै जान्छन् । त्यसैले हामीले भाषाको संरक्षणलाई प्राथमिकता दिनुपर्छ । थारु भाषाको लिपिको विषयमा पनि एउटा निष्कर्ष निकाल्न आवश्यक छ’, मन्त्री चौधरीले भन्नुभयो, भाषा संरक्षण गर्न सबैको भूमिका उत्तिकै हुनुपर्छ । ठाउँअनुसार भाषामा केही केही कुरामा भिन्नता छन् । तथापि हामीले त्यसलाई मानक भाषाका रूपमा एकरूपता ल्याउन आवश्यक छ । त्यो एकदमै जरुरी छ ।”


उहाँले थारु जातिभित्रको भाषा, संस्कार, संस्कृतिभित्रको विविधतालाई पनि कसरी एकरूपता खोज्ने भन्ने कुरामा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । सोझो जातिको रूपमा चिनिने थारु जातिलाई विगतमा सोझोपनको फाइदा उठाएर जमिनदारबाट सुकुम्वासी बनाएको उदाहरण दिँदै उहाँले आर्थिक गतिविधि पनि बढाउनुपर्ने बताउनुभयो । “हामी अब आर्थिक गतिविधिमा बढी भन्दा बढी सहभागी हुनै पर्छ । किनभने जो आर्थिक गतिविधिमा सहभागी नै हुँदैन त्यो कसरी सम्पन्न बन्न सक्छ ?,” उहाँले भन्नुभयो, । अन्य समुदायसँग घुलमिल नहुँदासम्म आर्थिक गतिविधिमा वृद्धि हुँदैन । जसले गर्दा गरिबी न्यूनीकरण पनि हुन सक्दैन ।

मन्त्री चौधरीले जन्मदेखि मृत्युसम्मको संस्कारको संरक्षण गर्न सबैले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । त्यस्तै, उहाँले विभिन्न बहानामा थारु जातिलाई फुटाउने कोसिस भइरहेको भन्दै फुटलाई रोक्नुपर्ने बताउनुभयो । “हिजो राना थारु छुट्टिन खोज्दा हामीले छलफल गरेर नछुट्टिन आग्रह गर्‍यौँ । तर उहाँहरू छुट्टिएर जानुभयो । अहिले खवास थारुले निवेदन दिएको कुरा आएको छ,”मन्त्री चौधरीले भन्नुभयो, “यसरी त थारु जातिको जनसङ्ख्या न्यून हुँदै जान्छ । जनसङ्ख्या कम हुनु भनेको समग्रतामा शक्ति कम हुनु हो । यो कुरा सबैले बुझ्न आवश्यक छ ।”