• २६ असार २०८२, बिहिबार

बिपी राजमार्ग घन्टौँ अवरुद्ध

blog

बुधबार बिहान वर्षासँगै आएको लेदोका कारण अवरुद्ध भएको बिपी राजमार्गमा सवारी जाम ।

केदार तिमिल्सिना

बनेपा, असार २६ गते  ।  खोला तथा पहिरोको लेदोका कारण बिपी राजमार्ग घन्टौँसम्म अवरुद्ध हुनथालेको छ । सामान्य वर्षा हुँदा पनि खोला तथा पहिरोबाट आएको लेदोले गर्दा सडक अवरुद्ध हुन थालेको हो ।  

गत असोजको दोस्रो साता आएको बाढीपहिरोका कारण क्षति पुगेको बिपी राजमार्गको काभ्रेभन्ज्याङदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्मको सडक अवरुद्ध हुनथालेको हो ।  बिपी राजमार्ग अन्तर्गत काभ्रेभन्ज्याङदेखि भकुन्डेसम्म सडकभन्दा माथिपट्टि गरिएको प्लटिङ तथा ग्रामीण सडक निर्माणबाट आएको लेदो माटो र भकुन्डेबेँसीदेखि बोक्सीकुनासम्म सडकमाथि खनिएको अर्को सडक तथा क्रसरको धुलोमैलो आउने गरेको छ । राजमार्ग अवरुद्ध हुने क्रममा बुधबार बिहान काभ्रेभन्ज्याङनजिकै सडकमाथिबाट आएको लेदोका कारण बुधबार बिहान करिब १ बजेदेखि सडक अवरुद्ध भएको थियो । त्यस्तै वर्षासँगै बुधबार बिहान करिब साढे १ बजेको समयमा बिपी राजमार्गकै रोसी गाउँपालिका–९, पिन्थलीनजिक सडकमाथिबाट आएको लेदोका कारण करिब आठ घण्टा सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।  जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले लेदोका कारण अवरुद्ध रहेको काभ्रेभन्ज्याङनजिकको सडक बिहान करिब सात बजेतिर सुचारु भएको थियो ।

यस्तै लेदोका कारण अवरुद्ध भएको पिन्थलीनजिकको सडक बिहान ९ बजेबाट सुचारु भएको प्रहरीले जनाएको छ । सडक डिभिजन भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर (सिडिई) सुमन योगेशले वर्षासँगै बुधबार बिहान आएको लेदोका कारण बिपी राजमार्गको काभ्रेभन्ज्याङदेखि पिन्थलीसम्मको विभिन्न स्थानमा सडक अवरुद्ध भएको बताउनुभयो । उहाँले काभ्रेभन्ज्याङदेखि भकुन्डेसम्मको दुरीमा सडकमाथि गरिएको प्लटिङ तथा खनिएका कच्ची सडकका कारण वर्षासँगै लेदो आएर केही घण्टा राजमार्ग अवरुद्ध भएको बताउनुभयो ।

उहाँले कटुन्जेबेँसीदेखि बोक्सीकुनासम्मको क्षेत्रमा भने महाभारत गाउँपालिका जाने सडक निर्माण भइरहेकाले वर्षासँगै उक्त सडकको माटो र लेदो तथा केही स्थानमा व्रmसरको माटो आएर सडक अवरुद्ध हुने गरेको बताउनुभयो । धुलिखेलदेखि भकुन्डेसम्मको केही स्थान र भकुन्डेबेँसीभन्दा तल चार सयबेँसी, मङ्गलटार र कालढुङ्गाको बिचमा र पिन्थलीमा सडक अवरुद्ध हुने अवस्था रहेको सिडिई योगेशले जानकारी दिनुभयो । गत असोजको बाढीअघि पनि बिपी राजमार्गको विभिन्न स्थानमा वर्षासँगै लेदो आएर राजमार्ग अवरुद्ध हुने गरेको थियो । सडकका कारणभन्दा पनि सडकमाथि भएका गतिविधिका कारण राजमार्ग अवरुद्ध हुन पुगेको हो । उहाँले वर्षाको समयमा राजमार्ग अवरुद्ध हुन सक्ने भएकाले अवरुद्ध राजमार्ग केही घण्टामा नै खुलाउनका लागि धुलिखेलदेखि सिन्धुलीको सिमाना बोक्सीकुनासम्म २१ वटा विभिन्न उपकरण तयारी अवस्थामा राखिएको बताउनुभयो । “सकेसम्म वर्षाको समयमा राजमार्ग अवरुद्ध हुन नदिने हाम्रो प्रयास छ, यदि केही गरी राजमार्ग अवरुद्ध भइहालेको खण्डमा केही घण्टामा नै खुलाउने गरी उपकरण व्यवस्थापन गरेका छौँ,” सिडिई योगेशले भन्नुभयो । 

राजमार्ग अवरुद्ध भएसँगै पूर्वी जिल्ला जाने सवारी घण्टाँै जाममा पर्ने गरेका छन् । गत वर्षको बाढीपहिरोका कारण राजमार्गमा क्षति पुगेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुली र सडक डिभिजन भक्तपुरले राति राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ ।