अमृतप्रसाद पौडेल
म्याग्दी, असार २६ गते । म्याग्दीमा चालु आर्थिक वर्षमा सङ्घीय सरकारको बजेट ९३ प्रतिशत र प्रदेशको बजेट ७५ प्रतिशत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय म्याग्दीका प्रमुख किरणचन्द्र सुवेदीका अनुसार संघ सरकार तर्फबाट प्राप्त जिल्लाको कुल बजेटको ९३ दशमलव ९७ प्रतिशत बजेट खर्च भएको हो ।
चालु तर्फ कुल तीन अर्ब ४४ करोड ४९ लाख ८९ हजार आठ सय ८३ जिल्लालाई प्राप्त भएकोमा तीन अर्ब २६ करोड १६ लाख दुई हजार नौ सय १४ रुपियाँ ६१ पैसा खर्च भएको छ ।
त्यस्तै पुँजीगत तर्फ ४३ करोड ७१ लाख ७६ हजार विनियोजीत बजेटमध्ये ३८ करोड ६५ लाख ६८ हजार नौ सय ४३ रुपियाँ २५ पैसा खर्च भएको हो । सङ्घीय सरकारको बजेटको चालु तर्फ ९४ दशमलव ६७ र पुँजीगत तर्फ ८८ दशमलब ४२ प्रतिशत बजेट खर्च भएको हो । चालु र पुँजीगत गर्दा कुल ९३ दशमलव ९७ प्रतिशत खर्च भएको सुवेदीले जानकारी दिनुभयो ।
त्यस्तै, प्रदेश सरकार तर्फको कार्यालयको चालु तर्फ ४८ करोड ९९ लाख ९२ हजार दुई सय ३५ मध्ये ३६ करोड ९५ लाख २६ हजार नौ सय ६९ रुपियाँ ३१ पैसा अर्थात् ७५ दशमलब ४१ प्रतिशत बजेट खर्च भएको छ । पुँजीगत खर्च तर्फ कुल ८५ करोड १६ लाख ७३ हजार बजेट जिल्लाका लागि आएको भए पनि ६४ करोड ९१ लाख ६३ हजार ४६ रुपियाँ ५३ पैसा अर्थात् ७६ दशमलव २२ प्रतिशत बजेट खर्च भएको हो । प्रदेश तर्फको बजेट ७५ दशमलव ९२ प्रतिशत खर्च भएको कोलेनिका प्रमुख सुवेदीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षमा जिल्लाका सरकारी कार्यालयहरुले झण्डै १० करोड राजस्व सङ्कलन गरेका छन् । सङ्घीय कार्यालयहरुल छ करोड ६९ हजार नौ सय ८९ रुपियाँ १४ पैसा र प्रदेश कार्यालयहरुले तीन करोड ७७ लाख ९१ हजार आठ सय तीन रुपियाँ २४ पैसा राजश्व सङ्कलन गरेका हुन् । प्रदेश तथा संघ सरकार तर्फका कार्यालयहरुले कुल नौ करोड ७८ लाख ६१ हजार सात सय ९२ रुपियाँ ३८ पैसा राजस्व सङ्कलन गरेको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।