• ४ असार २०८१, मङ्गलबार

सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने

blog

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा । फाइल तस्बिर

काठमाडौँ, असार १ गते । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घ र प्रदेशमा सदस्य घटाउनुपर्ने बताउनुभएको छ । साथै उहाँले मुलुकमा उपलब्ध स्रोत र साधनले मौजुदा संसद् र प्रदेशसभा सदस्यलाई थेग्न नसक्ने बताउनुभयो । 

नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिले गरिबीविरुद्ध एकीकृत सहयोग नेपाल नामको संस्थासँगको सहकार्यमा आज यहाँ आयोजना गरेको ‘कार्यकर्ता प्रशिक्षण कार्यक्रम’मा उहाँले संविधान संशोधन गरेर केन्द्र र प्रदेशमा सांसदको सङ्ख्या घटाउनुपर्ने बताउनुभएको हो । महामन्त्री थापाले सङ्घीय सरकारमा १० देखि १२ जना मात्र मन्त्री बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले केन्द्रजस्तै प्रदेशमा पनि मन्त्रीको सङ्ख्या घटाउनुपर्ने बताउनुभयो । 

पूर्वमन्त्री थापाले प्रदेशको निर्वाचन प्रणाली पनि परिवर्तन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशको निर्वाचन प्रणालीका कारण कतिपय प्रदेशलाई अदालतले निर्णय गर्नुपर्ने अवस्था सृजना गरेको उल्लेख गर्नुभयो । उहाँले संविधान संशोधनलगायत विषयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग कांग्रेसले छलफल गरे पनि सरकार परिवर्तनका निम्ति कसैसँग छलफल नगरेको स्पष्ट पार्नुभयो । रासस